के.पी. पाैडेलमान्छे
सारा शास्त्र विधान कानुन छटा, मात्रै भए दर्पण । पर्दा देश निमित्त देह कसरी, गर्ला र को अर्पण ?।। कैयौँ स्वार्थ र खेल झेल गुटले, सिद्धान्त व्यर्थै भए । बाटो सभ्य र भव्य बन्छ कसरी, मान्छे खराबी बने ।।

कृष्णप्रसाद पौडेल जस्ताघरे :
जाली भ्रष्ट कुकर्मका कदमले, गाड्यो जरा बेसरी ।
अग्ला श्वेत हिमालमा रगतका, टाटा बसेझैँ गरी ।।
हाम्रा वीरहरू उदात्तपनले, सङ्घर्षमा जुट्दछन् ।
सत्ताका अनि शक्तिका सदनका, मान्छे मिली रम्दछन् ।।-१
नारा भाषण फुर्तिला गफ सबै, छक्क्याउने चाल हुन् ।
हात्तीका मुख बाह्य भागतिरझैँ, देखाउने दाँत हुन् ।।
भित्री दाँत छ धारिलो किसिमको, दाह्रा छ है पेटमा ।
रच्छन् काण्ड अनेक नाटक गरी, रोप्छन् दशा देशमा ।।-२
छैनन् सूत्र निदान अक्कल कुनै, बेतालले नाच्दछन् ।
निर्धा जीर्ण अशक्तका सकसमा, खित्का दिई हाँस्दछन् ।।
झर्छन् आँसु विरक्तले विरहले, वर्षा झरेझैँ गरी ।
मान्छे बाघ हुँडार गिद्ध चितुवा, जस्तै बने के गरी ?।।-३
निष्ठा नैतिक नम्रता सुजनता, खस्क्यो कला पौरख ।
मान्छे उग्र भएर भक्षक बनी, मास्दा भए गौरव ।।
कस्तो दाग बस्यो विषाक्तपनको, गाढा बन्यो बेसरी ।
कालो बादलले प्रकाश रविको, छेक्दै रमाएसरि ।।-४
मान्छेका सपना विचार मतले, पा-यो चिरा हे हरि ।
वर्षामा बिजुली चट्याङ भयले, टुक्रा गराएसरि ।।
खोक्थे मानिस उच्च गर्जन गरी, के के न गर्छौँ भनी ।
सौदा सर्त र अंशभाग विधिले, फेरिन्न है जीवनी ।।-५
सारा शास्त्र विधान कानुन छटा, मात्रै भए दर्पण ।
पर्दा देश निमित्त देह कसरी, गर्ला र को अर्पण ?।।
कैयौँ स्वार्थ र खेल झेल गुटले, सिद्धान्त व्यर्थै भए ।
बाटो सभ्य र भव्य बन्छ कसरी, मान्छे खराबी बने ।।-६
०००
बट्टार, नुवाकोट । हाल: बालाजु,काठमाडौँ ।
Subscribe
Login
0 Comments
Oldest






































