चेवनचन्द्र बस्नेतमेरो आइडि ह्याक भयो
प्रत्यक्ष भेटघाटलाई मात्र विश्वास गरौँ । अर्को तपाईंको मोवाईल नम्बर मार्फत प्राप्त हुने ओटिपी कोड जुन छ अङ्कको हुन्छ त्यो कसैलाई नदिउँ, चाहे आफ्नो परिवारको सदस्य नै किन नहोस् ।

चेवनचन्द्र बस्नेत :
एक हप्ता अगाडि केएम थापाको फेसबुक आइडिबाट फ्रेण्ड रिक्वेस्ट आयो । त्यो आइडिको प्रोफायल हेरे । चिनेकै मानिस हुन् । स्थानीय निकायको कर्मचारी । ठूलै पोष्टका जागिरे । मलाई लाग्यो एसेप्ट गरिदिउँ । मैले फ्रेण्ड रिक्वेस्ट कन्फर्म गरिदिए ।
त्यसको केही दिन पछि म्यासेन्जरमा नमस्ते । मैले पनि नमस्ते भनिदिएँ । २२ भाद्र २०८१ शनिवार (७ सेप्टेम्वर २०२४) म फेसबुक हेर्दै थिए । साथीहरूसँग च्याटमा कुरा पनि हुँदै थियो । त्यही बिहानको पौने नौ हुनु पर्छ । फेरि केएम थापाको फेसबुक आइडिबाट म्यासेन्जरमा म्यासेज आयो । नमस्ते, हजुरसँग एउटा सल्लाह गर्नु थियो । मैले भने हुन्छ गरौँन । हामीले एउटा समाचार पोर्टल बनाएका छौँ त्यसमा हजुरलाई समावेश गर्ने सल्लाह भयो, के गरौँ ? मैले भने विस्तृत विवरण पाउँन । केही समय पछि, एउटा समाचार पोर्टल हो । ताजा र नयाँ खाले समाचारका साथै भिजुअल पनि आउँछ । राम्रै हुन्छ । सकारात्मक छ । अन्यथा नलिनु न । फेरि मैले केएम थापाको प्रोफायल दोहोर्याएर हेरे । ऊ मेरै नगरपालिकाको कमर्चारी । मेयर पनि मेरै साथी । मलाई लाग्यो । राम्रै सोचेर समावेश गर्न खोजेको होला । म अलि हतारमा थिए, हुन्छ भनिदिएँ ।
त्यस पछि मेरा दुई कार्यक्रमहरू भ्याउनु थियो । एउटा हातेमालो साहित्य सङ्गमले आयोजना गरेको पुस्तक विमोचन र रचना वाचन कार्यक्रम र अर्को फित्कौली परिवारले आयोजना गरेको फित्कौलीको खित्कौली सभा तीन कार्यक्रम । जसमा सम्मान, पुरस्कार वितरण, कृति लोकार्पण र कार्टुन प्रदर्शनी कार्यक्रम थियो ।
उल्लेखित कार्यक्रमका लागि म हतपत खाना खाएर नेपाल यातायात चढेर पहिलो कार्यक्रमका लागि न्यु प्लाजा ओर्लेर पुतलीसडकतर्फ जानु थियो, बाटो लागे । म गाडीमा हुँदाहुँदै फेरि केएम थापाको आइडिबाट म्यासेज आयो । तपाईंकोमा ओटिपी कोड आउँछ मलाई पठाइदिनुन । मैले पठाइदिएँ । फेरि आयो त्यो पनि पठाइदिए । मोवाईल नम्बर माग्यो त्यो पनि पठाइदिएँ । किनकी ऊ मेरो साथी भईसकेको थियो । अन्त्यमा उसले यहा एसेप्ट भइसके पछि तपाईंलाई म कल गर्छु । मैले हस् भनेँ । यतिमै हाम्रो कुरा सकियो । त्यो बेलासम्म हामी च्याटमा नै कुरा गरिरहेका थियौँ । अर्थात् यी सबै गतिविधी ।
दिनको १२ वजे म कार्यक्रम स्थल पुगेँ । कार्यक्रम स्थलमा म बसेर मोबाइल हेरिरहेको थिएँ । अचानक फोन आयो । मैले उठाएँ कुरा हुन सकेन । लगत्तै फेरि आयो उठाए, कुरा भएन । मैले मोबाइलमा नम्वर हेरेर रिटर्न कल गर्नु पर्यो भनेर हेर्न नपाउँदै अर्को कल आयो । उठाए त्यो समय १२ः२५ भएको रहेछ । मेरो एक हितैषि बहिनीले गर्नु भएको रहेछ । दाजु तपाईंलाई पैसाले खाँचो परेकै हो ? ५० हजार माग्नु भएको छ, के गरौँ ? म्यासेज त्यस्तै आयो त क्युआर कोड पनि पठाएको छ । अतिनै जरुरी भएर मागेको भन्छ । कि ह्याक भएको हो दाजु ? म स्तव्ध भएँ । जबकी मैले कसैसँग पैसा मागेकै छैन/थिइनँ । त्यस पछि मलाई शङ्का लाग्यो । पक्कै पनि मेरो आइडि ह्याक भयो । बहिनी मेरो आइडि ह्याक भयो जस्तै लाग्यो । तपाईंले म्यासेज गरेर चेवन बस्नेत ठूलाघरे भन्ने आइडि ह्याक भएको जानकारी दिनु होला र अरुलाई पनि सेयर गर्न भनिदिनु होला ।
कार्यक्रम चलिरहेकै थियो । तुरुन्तै अर्को साथीबाट म्यासेज आयो । मेरो आइडि किन ह्याक गरेको ? म प्रहरीमा खबर गरौँ ? यावत् । मैले भने मेरै आइडि ह्याक भइरहेको छ । म तपाईंको आइडि किन ह्याक गर्थे । त्यो सिप पनि त छैन मसँग, प्रतिवाद गरे । ऊ सँग यती कुरा सक्न नपाउँदै अर्को फोन आयो । म त्यता कुरा गर्न थालेँ । यता फेसबुक आइडि र म्यासेन्जर नै लक भईसकेछ । फोनमा कुरा सकेर खोल्दा छैन ।
फेरि अर्का फोन आयो । अब चाहिँ कार्यक्रम स्थलमा बस्न सक्ने अवस्था भएन । साँडे एक बजेको थियो । मैले कार्यक्रम स्थल छोडेर भागे । पुतली सडकबाट बानेश्वरसम्म हिँडेरै आए । बाटोभरि फोन उठाएर उत्तर दिनको हैरान । कसैलाई एकलाख, कसैलाई पचास हजार, कसैलाई तीस हजार त कसैलाई कति सक्नु हुन्छ त्यतिनै पठाउनु न । यसरी पैसा मागेको खवर मात्र आउँछ । पन्ध बिसजना साथीले फोन गरिसक्नु भयो । यही कुरा आउँछ । मलाई त झण्डै पागलै बनायो । त्यसपछि छोरा छोरी र चिनेका केही साथीहरूलाई मेरो अर्को आइडिबाट म्यासेज पठाएर मेरो चेवन बस्नेत ठूलाघरे नामको आइडि ह्याक भएको र म्यासेजमा पठाएको समाचार सत्य नभएको भन्ने फेसबुकमा म्यासेज पठाउन लगाएँ । एकै छिनमा छ्याप्छ्याप्ती भयो । फोन केही कम आउन थाल्यो । पैतीस मिनेटको बाटो कतिखेर सकियो पत्तै भएन ।
अर्को कार्यक्रममा भने एक घण्टा मोबाइल नै बन्द गरेर बस्नु पर्यो । त्यसपछि खोल्दा पातलो गरि फोन आयो । केही शान्त भयो मन । सन्जालमा पठाएका समाचारले काम गरेछ भन्ने लाग्यो । यसको मोनिटरिङ गर्ने काममा छोरो कान्छोले सहयोग गर्यो । कान्छोलाई बधाईं ।
यस पछिको सन्तापले भने राम्ररी नै च्याप्यो । यति गर्दागर्दै पनि यदि कुनै साथीले पैसा पठाइसकेको रहेछ भने चाहिँ के गर्ने ? मलाई विश्वास गर्ने र म्यासेजकै भरमा पैसा पठाउनसक्ने सम्भावित साथीहरूलाई फोन गरेर जानकारी गराएँ । त्यसोत अरु पनि त त्यस्ता विश्वास पात्र छैनन् भन्ने त हैन, थिए नै । सम्भव भएसम्म सतर्क रहन म्यासेजहरू पठाए । साथीहरूको व्यापक सहयोग रह्यो । एकजना भाइले रु पाचसय चाहिँ ट्रायलमा बैंकमा जम्मा गरिदिएछन । यो बाहेक यो बेलासम्म अरुले जम्मा गरेको खबर आएको थिएन ।
भोलिपल्ट विहान साँडे छ बजे तिर मैले केएम थापाको मोबाइल नम्बर पत्ता लगाएर फोन गरे । निकैबेर कुरा भयो । त्यो बेला पो थाहा भयो वहाँको यो आइडि ह्याक भएको पन्ध दिन भएको रहेछ । बन्द गराएको फेरि खुलेछ । त्यसै आइडिलाई प्रयोग गरेर मेरो आइडि ह्याक भएछ । मेरो आइडि प्रयोग गरेर थाहामा आए सम्म अरु निकैजनाको आइडि ह्याक भएछ । केएम भाइको नामबाट पाँचलाख जम्मा गरेछ बैंक खातामा ह्याकरले । प्रहरीलाई भनेर तीन लाख चाहिँ फिर्ता भयो दुई लाख अहिलेसम्म फिर्ता भएको छैन । वहाँले यसो भन्दा त मेरो सातो नै गयो । धन्न मैले समयमा नै सचेत हुन पाए । कम नोक्सान भयो ।
मेरो आइडिबाट आफ्नो आइडि ह्याक भएका एकजना साथीले फोन गर्नु भयो । हामी बिचमा धेरैबेर कुरा भयो । वहाँका आफन्त एकजना एसपि हुनु हुँदोरहेछ । साथीले कुरा गर्नु भएछ । दिउँसो साइवर व्युरो जाने सल्लाह भयो । यो हिसावले हामी दिउँसो त्यहाँ गयौँ । मानिसको निकै ठूलो भिड थियो । विशेष प्राथमिकताका साथ हामीलाई तलामाथि जान भनियो । हामी माथि गयौँ । केही कुराकानी भए । फेसबुक आइडि हेरिदिनु भयो । थोरै सुधार पनि भयो ।
त्यो ह्याकरले हाम्रा केही साथीहरूसँग म्यासेजमा कुरा गरेको स्कृनसटको फोटोकपि गरेर लगेका थियौ । बैंकको क्युआर कोड पनि थियो । त्यसको बारेमा कुरा गर्यौ । कार्वाहीको माग पनि गर्यौँ । यस्तो केस दिनमा कति आउँछ आउँछ । धन्न तपाईंहरूको त पैसा जम्मा भएको रहेनछ । जोगिनु भयो । त्यही ठूलो कुरा भयो । यो आइडि भरपर्दो चाहिँ छैन । फेरि ह्याक हुनसक्छ होस गर्नु । त्यस्तो भयो भने मोवाइल नचलाइकन यहाँ लिएर आउनु । अहिले जानु, भन्नु भयो । अरु कुरा गर्न भिड थियो । हामी नाजवाफ भयौँ, लुरुक्क फर्क्याैँ ।
हामी विदा भएर ढोका वाहिर निस्क्यौ । त्यहा त चारजना साथीहरू हल्ला गर्दै हुनु हुँदोरहेछ । केस त उही रहेछ । ह्याकरका शिकार भएका साथीहरू । उनीहरूले त ६ लाख जम्मा नै गरिसकेका रहेछन् । अर्धकट्टी लिएर आएका रहेछन । उजुरीको लागि । चिटचिट पसिना काड्दै थिए । एकिछन कुरा साटासाट भयो । त्यसपछि हामी तलामुनि झर्दा त झन् भिड त्यो देखेर म आफै छक्क परेँ ।
यस्तो कसरी हुन्छ ? ममा थुप्रै प्रश्नहरू उठे । मैले सबै प्रश्नको जवाफ खोज्ने प्रयास गरे । ठोस जवाफ भेटिनँ । खाली शङ्का उपशङ्का मात्र उब्जिए । म कसलाई आरोप लगाऔँ । कसलाई गाली गरौँ वा धन्यवाद दिऔँ । ममा उब्जिएका यी तमाम प्रश्नको जवाफ खोज्न कहाँ जाउँ ? जवाफ खोज्ने विश्वसनीय ठाउँ कहाँ छ ? सरकारको कुन अङ्गले यसको समाधान गर्ला र नागरिकले मुक्ति पाउलान् ? कि सधैँभरि हामीले साइबर व्युरोमा धाइरहनु पर्ने हो ? कि उजुरीका चाङ् मात्रै हेरेर फर्कनु पर्ने हो ?
आखिरी यो ह्याकरको ग्याङ कहाबाट सञ्चालित छ ? जसले सयौँ मानिसलाई एकै समयमा फरकफरक म्यासेज पठाउँछ र पैसा माग्छ । कुराकानी गर्छ । कसैलाई बैंक खाताको क्युआर पठाउछ, कसैलाई इसेवा मार्फत पैसा माग्छ । फोन लोकेशन देखाउँछ । बैंकको खाता नम्बर, नाम देखाउँछ तर पनि ऊ फरार छ । के साँच्चै नै सरकार निकम्मा भएकै हो ? कि अरु कुनै शङ्का गर्नु पर्ने ठाउँहरू छन ? यति धेरै मेरा मनका प्रश्नहरूको जवाफ कसले देला ? म अलमलिए । समाधानको पाटो नदेखे पछि सञ्चार माध्यमबाट जनता सामु पुर्याउ जस्तो लाग्यो र मैले यति कुरा लेख्न बाध्य भएँ ।
तमाम नागरिकहरूलाई म के भन्न चाहन्छु भने जति पनि फेसबुक चलाउने युजरहरू हुनुहुन्छ तीन कुरामा सचेत रहौँ । एउटा म्यासेजमा कसैले फोन नम्बर मागेको भरमा, आफन्तै भए पनि नदिउँ । प्रत्यक्ष भेटघाटलाई मात्र विश्वास गरौँ । अर्को तपाईंको मोवाईल नम्बर मार्फत प्राप्त हुने ओटिपी कोड जुन छ अङ्कको हुन्छ त्यो कसैलाई नदिउँ, चाहे आफ्नो परिवारको सदस्य नै किन नहोस् । अर्को म्यासेजमा पैसा मागेको भरमा कसैलाई पनि मोबाइल बैंङ्किङ वा इसेवा मार्फत वा अन्य विद्युतीय साधन मार्फत् भरिसक पैसा नपठाऔँ । प्रत्यक्ष कुराकानी गरेर, भिडियो कल गरेर वा भरपर्दो अवस्था सृजना गरेर मात्र पैसाको लेनदेन गरौँ । यो हजुरहरूलाई मैले सिकाएको हैन, अह्राएको पनि हैन । हामीले भोगेको अनुभवको आधारमा तपाईंलाई त्यो अनुभव सेयर मात्र गरेको हो । अन्यथा नलिइदिनु होला । हवस्त धन्यवाद ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































