साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो आइडि ह्याक भयो

प्रत्यक्ष भेटघाटलाई मात्र विश्वास गरौँ । अर्को तपाईंको मोवाईल नम्बर मार्फत प्राप्त हुने ओटिपी कोड जुन छ अङ्कको हुन्छ त्यो कसैलाई नदिउँ, चाहे आफ्नो परिवारको सदस्य नै किन नहोस् ।

Nepal Telecom ad

चेवनचन्द्र बस्नेत :

एक हप्ता अगाडि केएम थापाको फेसबुक आइडिबाट फ्रेण्ड रिक्वेस्ट आयो । त्यो आइडिको प्रोफायल हेरे । चिनेकै मानिस हुन् । स्थानीय निकायको कर्मचारी । ठूलै पोष्टका जागिरे । मलाई लाग्यो एसेप्ट गरिदिउँ । मैले फ्रेण्ड रिक्वेस्ट कन्फर्म गरिदिए ।

त्यसको केही दिन पछि म्यासेन्जरमा नमस्ते । मैले पनि नमस्ते भनिदिएँ । २२ भाद्र २०८१ शनिवार (७ सेप्टेम्वर २०२४) म फेसबुक हेर्दै थिए । साथीहरूसँग च्याटमा कुरा पनि हुँदै थियो । त्यही बिहानको पौने नौ हुनु पर्छ । फेरि केएम थापाको फेसबुक आइडिबाट म्यासेन्जरमा म्यासेज आयो । नमस्ते, हजुरसँग एउटा सल्लाह गर्नु थियो । मैले भने हुन्छ गरौँन । हामीले एउटा समाचार पोर्टल बनाएका छौँ त्यसमा हजुरलाई समावेश गर्ने सल्लाह भयो, के गरौँ ? मैले भने विस्तृत विवरण पाउँन । केही समय पछि, एउटा समाचार पोर्टल हो । ताजा र नयाँ खाले समाचारका साथै भिजुअल पनि आउँछ । राम्रै हुन्छ । सकारात्मक छ । अन्यथा नलिनु न । फेरि मैले केएम थापाको प्रोफायल दोहोर्‍याएर हेरे । ऊ मेरै नगरपालिकाको कमर्चारी । मेयर पनि मेरै साथी । मलाई लाग्यो । राम्रै सोचेर समावेश गर्न खोजेको होला । म अलि हतारमा थिए, हुन्छ भनिदिएँ ।

त्यस पछि मेरा दुई कार्यक्रमहरू भ्याउनु थियो । एउटा हातेमालो साहित्य सङ्गमले आयोजना गरेको पुस्तक विमोचन र रचना वाचन कार्यक्रम र अर्को फित्कौली परिवारले आयोजना गरेको फित्कौलीको खित्कौली सभा तीन कार्यक्रम । जसमा सम्मान, पुरस्कार वितरण, कृति लोकार्पण र कार्टुन प्रदर्शनी कार्यक्रम थियो ।

उल्लेखित कार्यक्रमका लागि म हतपत खाना खाएर नेपाल यातायात चढेर पहिलो कार्यक्रमका लागि न्यु प्लाजा ओर्लेर पुतलीसडकतर्फ जानु थियो, बाटो लागे । म गाडीमा हुँदाहुँदै फेरि केएम थापाको आइडिबाट म्यासेज आयो । तपाईंकोमा ओटिपी कोड आउँछ मलाई पठाइदिनुन । मैले पठाइदिएँ । फेरि आयो त्यो पनि पठाइदिए । मोवाईल नम्बर माग्यो त्यो पनि पठाइदिएँ । किनकी ऊ मेरो साथी भईसकेको थियो । अन्त्यमा उसले यहा एसेप्ट भइसके पछि तपाईंलाई म कल गर्छु । मैले हस् भनेँ । यतिमै हाम्रो कुरा सकियो । त्यो बेलासम्म हामी च्याटमा नै कुरा गरिरहेका थियौँ । अर्थात् यी सबै गतिविधी ।

दिनको १२ वजे म कार्यक्रम स्थल पुगेँ । कार्यक्रम स्थलमा म बसेर मोबाइल हेरिरहेको थिएँ । अचानक फोन आयो । मैले उठाएँ कुरा हुन सकेन । लगत्तै फेरि आयो उठाए, कुरा भएन । मैले मोबाइलमा नम्वर हेरेर रिटर्न कल गर्नु पर्‍यो भनेर हेर्न नपाउँदै अर्को कल आयो । उठाए त्यो समय १२ः२५ भएको रहेछ । मेरो एक हितैषि बहिनीले गर्नु भएको रहेछ । दाजु तपाईंलाई पैसाले खाँचो परेकै हो ? ५० हजार माग्नु भएको छ, के गरौँ ? म्यासेज त्यस्तै आयो त क्युआर कोड पनि पठाएको छ । अतिनै जरुरी भएर मागेको भन्छ । कि ह्याक भएको हो दाजु ? म स्तव्ध भएँ । जबकी मैले कसैसँग पैसा मागेकै छैन/थिइनँ । त्यस पछि मलाई शङ्का लाग्यो । पक्कै पनि मेरो आइडि ह्याक भयो । बहिनी मेरो आइडि ह्याक भयो जस्तै लाग्यो । तपाईंले म्यासेज गरेर चेवन बस्नेत ठूलाघरे भन्ने आइडि ह्याक भएको जानकारी दिनु होला र अरुलाई पनि सेयर गर्न भनिदिनु होला ।

कार्यक्रम चलिरहेकै थियो । तुरुन्तै अर्को साथीबाट म्यासेज आयो । मेरो आइडि किन ह्याक गरेको ? म प्रहरीमा खबर गरौँ ? यावत् । मैले भने मेरै आइडि ह्याक भइरहेको छ । म तपाईंको आइडि किन ह्याक गर्थे । त्यो सिप पनि त छैन मसँग, प्रतिवाद गरे । ऊ सँग यती कुरा सक्न नपाउँदै अर्को फोन आयो । म त्यता कुरा गर्न थालेँ । यता फेसबुक आइडि र म्यासेन्जर नै लक भईसकेछ । फोनमा कुरा सकेर खोल्दा छैन ।

फेरि अर्का फोन आयो । अब चाहिँ कार्यक्रम स्थलमा बस्न सक्ने अवस्था भएन । साँडे एक बजेको थियो । मैले कार्यक्रम स्थल छोडेर भागे । पुतली सडकबाट बानेश्वरसम्म हिँडेरै आए । बाटोभरि फोन उठाएर उत्तर दिनको हैरान । कसैलाई एकलाख, कसैलाई पचास हजार, कसैलाई तीस हजार त कसैलाई कति सक्नु हुन्छ त्यतिनै पठाउनु न । यसरी पैसा मागेको खवर मात्र आउँछ । पन्ध बिसजना साथीले फोन गरिसक्नु भयो । यही कुरा आउँछ । मलाई त झण्डै पागलै बनायो । त्यसपछि छोरा छोरी र चिनेका केही साथीहरूलाई मेरो अर्को आइडिबाट म्यासेज पठाएर मेरो चेवन बस्नेत ठूलाघरे नामको आइडि ह्याक भएको र म्यासेजमा पठाएको समाचार सत्य नभएको भन्ने फेसबुकमा म्यासेज पठाउन लगाएँ । एकै छिनमा छ्याप्छ्याप्ती भयो । फोन केही कम आउन थाल्यो । पैतीस मिनेटको बाटो कतिखेर सकियो पत्तै भएन ।

अर्को कार्यक्रममा भने एक घण्टा मोबाइल नै बन्द गरेर बस्नु पर्‍यो । त्यसपछि खोल्दा पातलो गरि फोन आयो । केही शान्त भयो मन । सन्जालमा पठाएका समाचारले काम गरेछ भन्ने लाग्यो । यसको मोनिटरिङ गर्ने काममा छोरो कान्छोले सहयोग गर्‍यो । कान्छोलाई बधाईं ।

यस पछिको सन्तापले भने राम्ररी नै च्याप्यो । यति गर्दागर्दै पनि यदि कुनै साथीले पैसा पठाइसकेको रहेछ भने चाहिँ के गर्ने ? मलाई विश्वास गर्ने र म्यासेजकै भरमा पैसा पठाउनसक्ने सम्भावित साथीहरूलाई फोन गरेर जानकारी गराएँ । त्यसोत अरु पनि त त्यस्ता विश्वास पात्र छैनन् भन्ने त हैन, थिए नै । सम्भव भएसम्म सतर्क रहन म्यासेजहरू पठाए । साथीहरूको व्यापक सहयोग रह्यो । एकजना भाइले रु पाचसय चाहिँ ट्रायलमा बैंकमा जम्मा गरिदिएछन । यो बाहेक यो बेलासम्म अरुले जम्मा गरेको खबर आएको थिएन ।

भोलिपल्ट विहान साँडे छ बजे तिर मैले केएम थापाको मोबाइल नम्बर पत्ता लगाएर फोन गरे । निकैबेर कुरा भयो । त्यो बेला पो थाहा भयो वहाँको यो आइडि ह्याक भएको पन्ध दिन भएको रहेछ । बन्द गराएको फेरि खुलेछ । त्यसै आइडिलाई प्रयोग गरेर मेरो आइडि ह्याक भएछ । मेरो आइडि प्रयोग गरेर थाहामा आए सम्म अरु निकैजनाको आइडि ह्याक भएछ । केएम भाइको नामबाट पाँचलाख जम्मा गरेछ बैंक खातामा ह्याकरले । प्रहरीलाई भनेर तीन लाख चाहिँ फिर्ता भयो दुई लाख अहिलेसम्म फिर्ता भएको छैन । वहाँले यसो भन्दा त मेरो सातो नै गयो । धन्न मैले समयमा नै सचेत हुन पाए । कम नोक्सान भयो ।

मेरो आइडिबाट आफ्नो आइडि ह्याक भएका एकजना साथीले फोन गर्नु भयो । हामी बिचमा धेरैबेर कुरा भयो । वहाँका आफन्त एकजना एसपि हुनु हुँदोरहेछ । साथीले कुरा गर्नु भएछ । दिउँसो साइवर व्युरो जाने सल्लाह भयो । यो हिसावले हामी दिउँसो त्यहाँ गयौँ । मानिसको निकै ठूलो भिड थियो । विशेष प्राथमिकताका साथ हामीलाई तलामाथि जान भनियो । हामी माथि गयौँ । केही कुराकानी भए । फेसबुक आइडि हेरिदिनु भयो । थोरै सुधार पनि भयो ।

त्यो ह्याकरले हाम्रा केही साथीहरूसँग म्यासेजमा कुरा गरेको स्कृनसटको फोटोकपि गरेर लगेका थियौ । बैंकको क्युआर कोड पनि थियो । त्यसको बारेमा कुरा गर्‍यौ । कार्वाहीको माग पनि गर्‍यौँ । यस्तो केस दिनमा कति आउँछ आउँछ । धन्न तपाईंहरूको त पैसा जम्मा भएको रहेनछ । जोगिनु भयो । त्यही ठूलो कुरा भयो । यो आइडि भरपर्दो चाहिँ छैन । फेरि ह्याक हुनसक्छ होस गर्नु । त्यस्तो भयो भने मोवाइल नचलाइकन यहाँ लिएर आउनु । अहिले जानु, भन्नु भयो । अरु कुरा गर्न भिड थियो । हामी नाजवाफ भयौँ, लुरुक्क फर्क्याैँ ।

हामी विदा भएर ढोका वाहिर निस्क्यौ । त्यहा त चारजना साथीहरू हल्ला गर्दै हुनु हुँदोरहेछ । केस त उही रहेछ । ह्याकरका शिकार भएका साथीहरू । उनीहरूले त ६ लाख जम्मा नै गरिसकेका रहेछन् । अर्धकट्टी लिएर आएका रहेछन । उजुरीको लागि । चिटचिट पसिना काड्दै थिए । एकिछन कुरा साटासाट भयो । त्यसपछि हामी तलामुनि झर्दा त झन् भिड त्यो देखेर म आफै छक्क परेँ ।

यस्तो कसरी हुन्छ ? ममा थुप्रै प्रश्नहरू उठे । मैले सबै प्रश्नको जवाफ खोज्ने प्रयास गरे । ठोस जवाफ भेटिनँ । खाली शङ्का उपशङ्का मात्र उब्जिए । म कसलाई आरोप लगाऔँ । कसलाई गाली गरौँ वा धन्यवाद दिऔँ । ममा उब्जिएका यी तमाम प्रश्नको जवाफ खोज्न कहाँ जाउँ ? जवाफ खोज्ने विश्वसनीय ठाउँ कहाँ छ ? सरकारको कुन अङ्गले यसको समाधान गर्ला र नागरिकले मुक्ति पाउलान् ? कि सधैँभरि हामीले साइबर व्युरोमा धाइरहनु पर्ने हो ? कि उजुरीका चाङ् मात्रै हेरेर फर्कनु पर्ने हो ?

आखिरी यो ह्याकरको ग्याङ कहाबाट सञ्चालित छ ? जसले सयौँ मानिसलाई एकै समयमा फरकफरक म्यासेज पठाउँछ र पैसा माग्छ । कुराकानी गर्छ । कसैलाई बैंक खाताको क्युआर पठाउछ, कसैलाई इसेवा मार्फत पैसा माग्छ । फोन लोकेशन देखाउँछ । बैंकको खाता नम्बर, नाम देखाउँछ तर पनि ऊ फरार छ । के साँच्चै नै सरकार निकम्मा भएकै हो ? कि अरु कुनै शङ्का गर्नु पर्ने ठाउँहरू छन ? यति धेरै मेरा मनका प्रश्नहरूको जवाफ कसले देला ? म अलमलिए । समाधानको पाटो नदेखे पछि सञ्चार माध्यमबाट जनता सामु पुर्‍याउ जस्तो लाग्यो र मैले यति कुरा लेख्न बाध्य भएँ ।

तमाम नागरिकहरूलाई म के भन्न चाहन्छु भने जति पनि फेसबुक चलाउने युजरहरू हुनुहुन्छ तीन कुरामा सचेत रहौँ । एउटा म्यासेजमा कसैले फोन नम्बर मागेको भरमा, आफन्तै भए पनि नदिउँ । प्रत्यक्ष भेटघाटलाई मात्र विश्वास गरौँ । अर्को तपाईंको मोवाईल नम्बर मार्फत प्राप्त हुने ओटिपी कोड जुन छ अङ्कको हुन्छ त्यो कसैलाई नदिउँ, चाहे आफ्नो परिवारको सदस्य नै किन नहोस् । अर्को म्यासेजमा पैसा मागेको भरमा कसैलाई पनि मोबाइल बैंङ्किङ वा इसेवा मार्फत वा अन्य विद्युतीय साधन मार्फत् भरिसक पैसा नपठाऔँ । प्रत्यक्ष कुराकानी गरेर, भिडियो कल गरेर वा भरपर्दो अवस्था सृजना गरेर मात्र पैसाको लेनदेन गरौँ । यो हजुरहरूलाई मैले सिकाएको हैन, अह्राएको पनि हैन । हामीले भोगेको अनुभवको आधारमा तपाईंलाई त्यो अनुभव सेयर मात्र गरेको हो । अन्यथा नलिइदिनु होला । हवस्त धन्यवाद ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

चेवनचन्द्र बस्नेत
सासू र मुमा

सासू र मुमा

चेवनचन्द्र बस्नेत
वृद्ध जोडी

वृद्ध जोडी

चेवनचन्द्र बस्नेत
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

चेवनचन्द्र बस्नेत
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x