लक्ष्मण नेवटियाअस्तित्वको खोजीमा मालअड्डाको- ‘मालपोखरी’
कति सुनाउँ पीडा, कसलाई सुनाउँ पीडा । गरियो मेरो काम तमाम साक्षी छ छेउ कै न्यायधाम । प्रश्न जल्दो बल्दो छ किन गरियो मेरो चीरहरण, धुमधाम-सरेआम ?

लक्ष्मण नेवटिया :
गाउँको काखमा हुर्किएको म,
शहरको स्वार्थमा हराएको छु ।
कतै केही उपाय नलागेर,
सपना सबै सक्याएको छु ।
भत्केको स्मृतिको प्रतिविम्बमा
बाध्यताको परिवेशमा
आफ्नो अस्तित्वको खोजीमा
भौंतारिरहेको छु-
म दुखियारी मालअड्डाको – ‘मालपोखरी’ ।
“गहेली”को माटोको सुगन्ध,
मनलाई रसिलो बनाउँथ्यो ।
किनारको वर-पिपलको पातले
मीठो धुन सुनाउथ्यो ।
आगन्तुकको तीर्खा पनि मेटाउँथे
नुहाउन पनि सघाउँथे ।
बिहानीको पहिलो किरणको
गर्दै सत्कार
सूर्यलाई नगरवासीको
समुन्नतिका लागि बिन्ती चढाउँथे ।
मालअड्डाको साथ पाएर
मालपोखरी पाएको नाम ।
मेरो गज्जबको थियो सम्मान ।
जिउँदो अस्तित्व रहँदा
सबैतिर थियो गुणगान ।
हरे आज गुमाएको छु पहिचान ।
कोही शीतल पाएर सुतेका-
कोही नकचरा हुन्थे मुतेका
गाइवस्तुलाई थियो आराम ।
रमणीय थियो ठाम ।
उता चाँदी जस्तो पानीको फुहार,
सुनौला रंगमा लिप्त बहार ।
यता गर्दागर्दै उपकार,
मेरो त भयो बँटाधार ।
न्याय दिनेले नै गरेछ अपकार
खोइ, कता मागुँ गुहार !
पहिले मेरो डिल सापटी मागेर
सभा भवन उभ्याइयो ।
फेरि बगैँचाको निहुँमा
मेरो अस्तित्व नै सिध्याइयो ।
कति सुनाउँ पीडा,
कसलाई सुनाउँ पीडा ।
गरियो मेरो काम तमाम
साक्षी छ छेउ कै न्यायधाम ।
प्रश्न जल्दो बल्दो छ
किन गरियो मेरो चीरहरण,
धुमधाम-सरेआम ?
लेख्न भ्याएको छु मेरो दुःखगाथा
जसोतसो गरी ।
आफ्नो अस्तित्वको खोजीमा
भौतारिरहेको छु
बाध्यताको परिवेशमा
आफ्नो पहिचान हराएको
म दुखियारी !
मालअड्डाको – ‘मालपोखरी’ ।
०००
मोरङ
Subscribe
Login
0 Comments
Oldest








































