साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ग्रहणतन्त्रका तन्त्रमन्त्र केलाउँदा

कृतिले समेटेका सबैकुरा यो सानो लेखमा अटाउँदैनन । त्यसका लागि पठनीय रूपमा नै तयार भएको कृति खोजेर पढ्न आवश्यक छ । यो बेढङ्गी र महंगीको हल गोरुले हाम्रो दैनिकी जोतिरहेको जमानामा कृतिको मूल्य नसुहाउँदो लागेन ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

केही दिन अघिमात्र नेपाली हास्यव्यङ्ग्य विधाका शिखर व्यक्तित्व नरनाथ लुइँटेलजीसँग साक्षात्कार भयो । करिब दुई घन्टाको दुई सदस्यीय बैठक निकै सौहार्द्रपूर्ण भयो । त्यसैक्रममा उहाँले मलाई नेपाली हास्यव्यङ्ग्य विधाका हालैका केही महिनाहरूभित्र प्रकाशित पुस्तकहरू थमाउनुभयो । ती कृतिहरूमध्ये एउटा हो, व्यङ्ग्यकार तथा कवि सुभाषचन्द्र देवकोटाको गद्य कवितात्मक व्यङ्ग्यसङ्ग्रह ग्रहणतन्त्र ।

यो पुस्तक निललोहित भन्न मिल्ने र सोमार्क ग्रहणको अग्रावरण र कृतिकारको छोटो परिचयका साथमा साहित्याकार नरनाथ लुइँटेलकृत लघु टिप्पणीले सजिएको छ । समादरणीय साहित्यिक व्यक्तित्व नरनाथ लुइँटेलकै नेतृत्वमा सुगतिमान सञ्चार गृह फित्कौली अनलाइन मिडियाले यो कृति प्रकाशन गरेको हो । प्रस्तुत कृतिको मूल भाग ९९ पृष्ठको छ भने बाँकी दस पाना शीर्षकसूची, लेखकका मेरा कुरा नामक मन्तव्य, नरनाथजीको प्रकाशक्यौली आदिले भरिएको छ ।

पुस्तकको ९९ पृष्ठको मूलभागमा साँढे ५ दर्जन गद्य कविताहरू छन् । राम्रै गुणस्तरीय कागज प्रयुक्त व्यङ्ग्य सङ्ग्रहमा भएका गद्यकविताहरूमध्ये धेरैजसोले वर्तमान समयमा देश समाज राजनीति र तिनका लगामधारीहरूको दारीमा आगो लगाउने प्रयास गरेका छन् । शीर्षकका रूपमा प्रयुक्त शब्दहारू नै व्यङ्ग्यात्मक छन जस्तै – पराइको नून, भाग शान्ति, चोरलाई चौतारो हाम्रो नेपालमा, नेता महात्म्य, भाउजुको जय जोश, देश काट्ने मुसा, आलु लोकतन्त्र, काले काले मिलेर खाउँ भाले, बाँदर गाथा जय सुन आदि । कवि देवकोटाका कविताहरूले गणतन्त्रलाई देश समाज सभ्यता र उन्नति प्रगतिमा खग्रास ग्रहण लगाउनमात्र मरिहत्ते गर्ने तन्त्र अर्थात् ग्रहणतन्त्रको रूपमा यो कृति मार्फत व्यक्त गरेका छन् । हुन पनि हो आजको समयमा नेपालको अवस्था व्यवस्था हेर्दा धरधरी रून बाहेक अरु काममा मुख खोल्न मिल्ने स्थिति छैन । राजनीतिको महानिर्वस्त्रता भगवान शङ्करको दिगम्बर अवतार भन्दा लाख गुणा चर्को छ । जनता कहिले खाडीमा मरेका छन् कहिले गाडीमा मरेका छन् । कोही भोकले मरेका छन् कोही रोगले मरेका छन् कोही शोकले मरेका छन् ।

राष्ट्रको उच्च पदमा रहेकाहरूले चाहिँ कहिले घुस भरेका छन् कहिले कमिसन भरेका छन् कहिले विप्रेषण भरेका छन् । कहिले यता भरेका छन् कहिले उता भरेका छन् । कहिले नाता भरेका छन् कहिले कार्यकर्ता भरेका छन् । कहिले सुन भरेका छन् कहिले बैगुन भरेका छन् । तैपनि आफूलाई संसारकै महान् ठानेका मानेका जानेका छन् । राजाको निर्वाङ्ग रूप बालकले पनि देख्छ भन्ने कथात्मक सन्देशलाई देशभरिकै धूवाँ धूलो र अनेक प्रदूषणसँगै उडाएका छन् ।

जनता आयु छोट्याइरहने नेता सधैँ मोटाइरहने, हाम्रो पुरातन शास्त्रमा मोहिनी अवतारले देवतालाई अमृत र दानवलाई मदिरा दिएजस्तै आजको गणतन्त्रले नेताकार्यकर्तालाई मस्ती र जनतालाई महासास्ती दिएको कुरालाई ग्रहणतन्त्र कृतिले व्यङ्ग्यवाण वर्षा गरेकोछ । जस्तै केही कवितांशहरूः-
सांसद भएर ठिकै गरियो
सुशासनको कुरा खुब गरियो
तर भित्र भित्र आफैंले पोको पारियो
धेरै नसकिए पनि केही करोडको सम्पत्ति जोडियो ।
(एउटा भूपू सांसदको बकपत्र)

हाम्रो बा दिनभरि हलो चलाउनुहुन्छ
टालेको कछाड र भोटोमा रमाउनुहुन्छ
छोराछोरीको स्कुलको फिस तिर्न
चाड्वाड मनाउन ऋण काढ्नु हुन्छ ।
तर तिम्रो बा आफूलाई समाजसेवी ठान्नुहुन्छ
दिनभरि सुशासनको भाषण छाँट्नुहुन्छ ।
रातभरि माफिया र तस्करहरूसँग उठबस गर्नुहुन्छ
साँझमा अबैध सुन र पैसा घर भित्र्याउनु हुन्छ
मोजको जिन्दगी जिउनुहुन्छ ।
(हाम्रो बा, तिम्रो बा)

लोकतन्त्रको कुरा गर्ने पनि उहीँ
विधि विधान मास्ने पनि उहीँ
घरको मूली पनि उहीँ
घरमा आगो लगाउने पनि उहीँ
हाम्रो नेपालमा ।
(चोरलाई चौतारो हाम्रो नेपालमा)

टोलटोलमा भ्युटावर बनाउने छु ।
गाउँगाउँमा मोनोरेल पुर्‍याउने छु।
पोखरी र आहालहरूमा पानी जहाज कुदाउने छु ।

सरकारी जग्गा प्लटिङ्ग गरेर शहरमा
प्रत्येकलाई घडेरी बाँड्नेछु
घर बनाइदिनेछु ।
……………
मङ्गल ग्रहसम्म पुग्ने हाइवे बनाउनेछु ।
……………
(नेताज्युको चुनावी घोषणापत्र)

खेत बाँझो राखेर
गमलामा धान रोप्छौं ।
र बास्मती चामलको भात खान्छौँ ।
वनमा रूख कुहाएर
विदेशी काठ भित्र्याउँछौं
र हरियो बनको धाक लगाउँछौँ ।
उद्योगहरू बेचेर
म्यानपावर कम्पनी चलाउँछौँ ।
सरकारी जग्गामा
निजि स्कुल र अस्पतालको व्यापार गर्छौं ।
(हामी यस्तै छौँ)

दाजी त सोझो मान्छे गाउँको
तर भाउजू बिछट्ट बाठी
खानदानि ।
दाजी सोझो
भाउजूले औंलामा नचाउनुभएको छ ।
मुट्ठिभित्र कर्‍याप्कुरुप पार्नुभएकोछ ।
बिचरा दाजु ।
(भाउजुको जय होस्)

यी र यस्ता सयौँ गद्य रचनाहरूबाट कवि देवकोटाले देश समाज र राजनितिका विविध विकृति विसङ्गतिहरूप्रति तीखा व्यङ्ग्य वाणहरू प्रहार गरेका छन् । व्यङ्ग्यकविताहरूको बिचमा एउटा कविता गैरव्यङ्ग्य परेकोछ- प्रकृतिको प्रलय । पुस्तकको शुरूकै दोश्रो पानामा यो पुस्तकलाई व्यङ्ग्य निबन्धसङ्ग्रह भनेर लेखिएको रहेछ । यो कवितासङ्ग्रह हो र अन्य पानामा यहीँनै लेखिएको छ ।

समग्रमा कविको मेहनत प्रकाशाकको परिश्रम कृतिले उठाएका विषयवस्तुहरू राम्रा छन् । तैपनि कविले गद्यकविताका क्षेत्रमा अझै मेहनत गर्नुपर्ने देखिन्छ । यो कृति सरल शब्द संयोजनयुक्त छ । नबुझिने केही छैन । तैपनि अझै सुस्वादु बनाउनेतर्फ सोच्नु वाञ्छनीय लागेको छ । व्यङ्ग्य साहित्य साहित्य साहित्यका विधाहरूमध्ये कडा स्वादको ट्वाक्क परेको भएमा अझ राम्रो मानिन्छ । त्यसको यो कृतिमा लक्षण कमैछ । अर्थात व्यङ्ग्य अमिलो पिरो नुनिलो ट्वाक्क परेको अचार जस्तो हुनुपर्ने एउटा मान्यता पनि छ । तर यो ग्रहणतन्त्र नामक कृति सादा स्वादको व्यङ्ग्यले मात्र भरिएको छ । प्रस्तुत गद्य कविता सङ्ग्रहरूपी व्यङ्ग्य पुस्तक पहिलो प्रयासको जस्तो वा खारिन अझै नसकेको आभास दिने खालको छ ।

आशा गरौँ कविले आगामी कृति प्रकाशन गर्नु भयो यदि भने यो कुरामा अवश्य ध्यान दिनुहुनेछ । त्यति हुँदाहुँदै पनि सच्चिन सक्ने मन भएकाहरूका लागि कृति मार्गदर्शक छ । कवि देवकोटा तथा फित्कौली अनलाइन मिडिया यो ग्रहणतन्त्र नामक कृतिका लागि धन्यवादका पात्र छन् । कृतिले समेटेका सबैकुरा यो सानो लेखमा अटाउँदैनन् । त्यसका लागि पठनीय रूपमा नै तयार भएको कृति खोजेर पढ्न आवश्यक छ । यो बेढङ्गी र महंगीको हल गोरुले हाम्रो दैनिकी जोतिरहेको जमानामा कृतिको मूल्य नसुहाउँदो लागेन ।

अन्त्यमा कवि सुभाषचन्द्र देवकोटा नेपाली साहित्यका क्षेत्रमा विशिष्ट बन्न सकून् । भविष्यमा धेरै उन्नति प्रगति गरून् । यो कृति सुफल अनि सफल बनोस् । प्रकाशक तथा प्रकाशनको पनि राम्रो होस् । धन्यवाद ।

०००
चितवन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
सुभाष
सुभाष
1 year ago

पुस्तक समीक्षा पढे
सर्बप्रथम समीक्षक मित्रलाई धन्यवाद
स्मिक्षकले
मेरो आँखाको ढकन र बुद्धिको विर्को’ खोलिदिनु’भएको छ
आगामी दिनहरुमा
मेरो लेखन यत्राका लागि बाटोको रेखा समेत कोरी दिएर हुनसम्मको गुण लगाउनु भएको छ
म ज्यादै’ खुसि छु’

Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
1
0
Would love your thoughts, please comment.x
()
x