रामकृष्ण ढकालग्रहणतन्त्रका तन्त्रमन्त्र केलाउँदा
कृतिले समेटेका सबैकुरा यो सानो लेखमा अटाउँदैनन । त्यसका लागि पठनीय रूपमा नै तयार भएको कृति खोजेर पढ्न आवश्यक छ । यो बेढङ्गी र महंगीको हल गोरुले हाम्रो दैनिकी जोतिरहेको जमानामा कृतिको मूल्य नसुहाउँदो लागेन ।

रामकृष्ण ढकाल :
केही दिन अघिमात्र नेपाली हास्यव्यङ्ग्य विधाका शिखर व्यक्तित्व नरनाथ लुइँटेलजीसँग साक्षात्कार भयो । करिब दुई घन्टाको दुई सदस्यीय बैठक निकै सौहार्द्रपूर्ण भयो । त्यसैक्रममा उहाँले मलाई नेपाली हास्यव्यङ्ग्य विधाका हालैका केही महिनाहरूभित्र प्रकाशित पुस्तकहरू थमाउनुभयो । ती कृतिहरूमध्ये एउटा हो, व्यङ्ग्यकार तथा कवि सुभाषचन्द्र देवकोटाको गद्य कवितात्मक व्यङ्ग्यसङ्ग्रह ग्रहणतन्त्र ।
यो पुस्तक निललोहित भन्न मिल्ने र सोमार्क ग्रहणको अग्रावरण र कृतिकारको छोटो परिचयका साथमा साहित्याकार नरनाथ लुइँटेलकृत लघु टिप्पणीले सजिएको छ । समादरणीय साहित्यिक व्यक्तित्व नरनाथ लुइँटेलकै नेतृत्वमा सुगतिमान सञ्चार गृह फित्कौली अनलाइन मिडियाले यो कृति प्रकाशन गरेको हो । प्रस्तुत कृतिको मूल भाग ९९ पृष्ठको छ भने बाँकी दस पाना शीर्षकसूची, लेखकका मेरा कुरा नामक मन्तव्य, नरनाथजीको प्रकाशक्यौली आदिले भरिएको छ ।
पुस्तकको ९९ पृष्ठको मूलभागमा साँढे ५ दर्जन गद्य कविताहरू छन् । राम्रै गुणस्तरीय कागज प्रयुक्त व्यङ्ग्य सङ्ग्रहमा भएका गद्यकविताहरूमध्ये धेरैजसोले वर्तमान समयमा देश समाज राजनीति र तिनका लगामधारीहरूको दारीमा आगो लगाउने प्रयास गरेका छन् । शीर्षकका रूपमा प्रयुक्त शब्दहारू नै व्यङ्ग्यात्मक छन जस्तै – पराइको नून, भाग शान्ति, चोरलाई चौतारो हाम्रो नेपालमा, नेता महात्म्य, भाउजुको जय जोश, देश काट्ने मुसा, आलु लोकतन्त्र, काले काले मिलेर खाउँ भाले, बाँदर गाथा जय सुन आदि । कवि देवकोटाका कविताहरूले गणतन्त्रलाई देश समाज सभ्यता र उन्नति प्रगतिमा खग्रास ग्रहण लगाउनमात्र मरिहत्ते गर्ने तन्त्र अर्थात् ग्रहणतन्त्रको रूपमा यो कृति मार्फत व्यक्त गरेका छन् । हुन पनि हो आजको समयमा नेपालको अवस्था व्यवस्था हेर्दा धरधरी रून बाहेक अरु काममा मुख खोल्न मिल्ने स्थिति छैन । राजनीतिको महानिर्वस्त्रता भगवान शङ्करको दिगम्बर अवतार भन्दा लाख गुणा चर्को छ । जनता कहिले खाडीमा मरेका छन् कहिले गाडीमा मरेका छन् । कोही भोकले मरेका छन् कोही रोगले मरेका छन् कोही शोकले मरेका छन् ।
राष्ट्रको उच्च पदमा रहेकाहरूले चाहिँ कहिले घुस भरेका छन् कहिले कमिसन भरेका छन् कहिले विप्रेषण भरेका छन् । कहिले यता भरेका छन् कहिले उता भरेका छन् । कहिले नाता भरेका छन् कहिले कार्यकर्ता भरेका छन् । कहिले सुन भरेका छन् कहिले बैगुन भरेका छन् । तैपनि आफूलाई संसारकै महान् ठानेका मानेका जानेका छन् । राजाको निर्वाङ्ग रूप बालकले पनि देख्छ भन्ने कथात्मक सन्देशलाई देशभरिकै धूवाँ धूलो र अनेक प्रदूषणसँगै उडाएका छन् ।
जनता आयु छोट्याइरहने नेता सधैँ मोटाइरहने, हाम्रो पुरातन शास्त्रमा मोहिनी अवतारले देवतालाई अमृत र दानवलाई मदिरा दिएजस्तै आजको गणतन्त्रले नेताकार्यकर्तालाई मस्ती र जनतालाई महासास्ती दिएको कुरालाई ग्रहणतन्त्र कृतिले व्यङ्ग्यवाण वर्षा गरेकोछ । जस्तै केही कवितांशहरूः-
सांसद भएर ठिकै गरियो
सुशासनको कुरा खुब गरियो
तर भित्र भित्र आफैंले पोको पारियो
धेरै नसकिए पनि केही करोडको सम्पत्ति जोडियो ।
(एउटा भूपू सांसदको बकपत्र)
हाम्रो बा दिनभरि हलो चलाउनुहुन्छ
टालेको कछाड र भोटोमा रमाउनुहुन्छ
छोराछोरीको स्कुलको फिस तिर्न
चाड्वाड मनाउन ऋण काढ्नु हुन्छ ।
तर तिम्रो बा आफूलाई समाजसेवी ठान्नुहुन्छ
दिनभरि सुशासनको भाषण छाँट्नुहुन्छ ।
रातभरि माफिया र तस्करहरूसँग उठबस गर्नुहुन्छ
साँझमा अबैध सुन र पैसा घर भित्र्याउनु हुन्छ
मोजको जिन्दगी जिउनुहुन्छ ।
(हाम्रो बा, तिम्रो बा)
लोकतन्त्रको कुरा गर्ने पनि उहीँ
विधि विधान मास्ने पनि उहीँ
घरको मूली पनि उहीँ
घरमा आगो लगाउने पनि उहीँ
हाम्रो नेपालमा ।
(चोरलाई चौतारो हाम्रो नेपालमा)
टोलटोलमा भ्युटावर बनाउने छु ।
गाउँगाउँमा मोनोरेल पुर्याउने छु।
पोखरी र आहालहरूमा पानी जहाज कुदाउने छु ।
सरकारी जग्गा प्लटिङ्ग गरेर शहरमा
प्रत्येकलाई घडेरी बाँड्नेछु
घर बनाइदिनेछु ।
……………
मङ्गल ग्रहसम्म पुग्ने हाइवे बनाउनेछु ।
……………
(नेताज्युको चुनावी घोषणापत्र)
खेत बाँझो राखेर
गमलामा धान रोप्छौं ।
र बास्मती चामलको भात खान्छौँ ।
वनमा रूख कुहाएर
विदेशी काठ भित्र्याउँछौं
र हरियो बनको धाक लगाउँछौँ ।
उद्योगहरू बेचेर
म्यानपावर कम्पनी चलाउँछौँ ।
सरकारी जग्गामा
निजि स्कुल र अस्पतालको व्यापार गर्छौं ।
(हामी यस्तै छौँ)
दाजी त सोझो मान्छे गाउँको
तर भाउजू बिछट्ट बाठी
खानदानि ।
दाजी सोझो
भाउजूले औंलामा नचाउनुभएको छ ।
मुट्ठिभित्र कर्याप्कुरुप पार्नुभएकोछ ।
बिचरा दाजु ।
(भाउजुको जय होस्)
यी र यस्ता सयौँ गद्य रचनाहरूबाट कवि देवकोटाले देश समाज र राजनितिका विविध विकृति विसङ्गतिहरूप्रति तीखा व्यङ्ग्य वाणहरू प्रहार गरेका छन् । व्यङ्ग्यकविताहरूको बिचमा एउटा कविता गैरव्यङ्ग्य परेकोछ- प्रकृतिको प्रलय । पुस्तकको शुरूकै दोश्रो पानामा यो पुस्तकलाई व्यङ्ग्य निबन्धसङ्ग्रह भनेर लेखिएको रहेछ । यो कवितासङ्ग्रह हो र अन्य पानामा यहीँनै लेखिएको छ ।
समग्रमा कविको मेहनत प्रकाशाकको परिश्रम कृतिले उठाएका विषयवस्तुहरू राम्रा छन् । तैपनि कविले गद्यकविताका क्षेत्रमा अझै मेहनत गर्नुपर्ने देखिन्छ । यो कृति सरल शब्द संयोजनयुक्त छ । नबुझिने केही छैन । तैपनि अझै सुस्वादु बनाउनेतर्फ सोच्नु वाञ्छनीय लागेको छ । व्यङ्ग्य साहित्य साहित्य साहित्यका विधाहरूमध्ये कडा स्वादको ट्वाक्क परेको भएमा अझ राम्रो मानिन्छ । त्यसको यो कृतिमा लक्षण कमैछ । अर्थात व्यङ्ग्य अमिलो पिरो नुनिलो ट्वाक्क परेको अचार जस्तो हुनुपर्ने एउटा मान्यता पनि छ । तर यो ग्रहणतन्त्र नामक कृति सादा स्वादको व्यङ्ग्यले मात्र भरिएको छ । प्रस्तुत गद्य कविता सङ्ग्रहरूपी व्यङ्ग्य पुस्तक पहिलो प्रयासको जस्तो वा खारिन अझै नसकेको आभास दिने खालको छ ।
आशा गरौँ कविले आगामी कृति प्रकाशन गर्नु भयो यदि भने यो कुरामा अवश्य ध्यान दिनुहुनेछ । त्यति हुँदाहुँदै पनि सच्चिन सक्ने मन भएकाहरूका लागि कृति मार्गदर्शक छ । कवि देवकोटा तथा फित्कौली अनलाइन मिडिया यो ग्रहणतन्त्र नामक कृतिका लागि धन्यवादका पात्र छन् । कृतिले समेटेका सबैकुरा यो सानो लेखमा अटाउँदैनन् । त्यसका लागि पठनीय रूपमा नै तयार भएको कृति खोजेर पढ्न आवश्यक छ । यो बेढङ्गी र महंगीको हल गोरुले हाम्रो दैनिकी जोतिरहेको जमानामा कृतिको मूल्य नसुहाउँदो लागेन ।
अन्त्यमा कवि सुभाषचन्द्र देवकोटा नेपाली साहित्यका क्षेत्रमा विशिष्ट बन्न सकून् । भविष्यमा धेरै उन्नति प्रगति गरून् । यो कृति सुफल अनि सफल बनोस् । प्रकाशक तथा प्रकाशनको पनि राम्रो होस् । धन्यवाद ।
०००
चितवन








































पुस्तक समीक्षा पढे
सर्बप्रथम समीक्षक मित्रलाई धन्यवाद
स्मिक्षकले
मेरो आँखाको ढकन र बुद्धिको विर्को’ खोलिदिनु’भएको छ
आगामी दिनहरुमा
मेरो लेखन यत्राका लागि बाटोको रेखा समेत कोरी दिएर हुनसम्मको गुण लगाउनु भएको छ
म ज्यादै’ खुसि छु’