घनश्याम रेग्मीनरिवल र नेता
चैन यो मनमा छैन के बोलेँ कहिले कता आयो हुल नयाँ फेरि नारा लाग्यो कता कता । कमाऊँ चाहना केही भविष्यमा हुनेछ के यी भेडा जनतालाई फेरि ढाट्नु भनेर के ?

घनश्याम रेग्मी :
यो मिठो महँगो हुन्छ भन्थे मान्छेहरू अघि
लुछाचुँडी गरेकै हुन् यसैका लागि ता अघि ।
मैले यो आज भेट्टाएँ मेलो मेसो म जान्दिन
यो वस्तु गतिलै होला भन्ने कत्ति म ठान्दिन ।
मैले दाँत निकै गाडेँ घुसेनन् दाँत भित्र खै
खै के हो तरिका सोधूँ भेटिन्नन् मित्र आज खै ।
यसै छोडूँ गरेँ दुःख दामी यो फल हो अरे
यस्तै राखूँ भने चोर्लान् पाइँदैन भरे भरे ।
पल्टाएर जता हेर्यो उस्तै लाग्दछ जब्बर
खोल्नु पो कसरी खोल्नु कस्तो यो फल खप्पर ।
नरिवल भयो सत्ता नेताको देखियो गति
चुर्लुम्म देश डुब्दैछ आएन यिनको मति ।
जहिल्यै निम्छरा हामी उद्योग व्यवसायमा
शून्य नाघेर ओर्लिन्छौँ शिक्षा स्वास्थ्य र आयमा ।
खेती छन् गफका मात्रै हीरा मोती फलाउने
मौकामा हाँकिए गुड्डी रेल यान चलाउने ।
चैन यो मनमा छैन के बोलेँ कहिले कता
आयो हुल नयाँ फेरि नारा लाग्यो कता कता ।
कमाऊँ चाहना केही भविष्यमा हुनेछ के
यी भेडा जनतालाई फेरि ढाट्नु भनेर के ?
०००
हाल: बैजनाथ १, चिसापानी, बाँके
Subscribe
Login
0 Comments
Oldest






































