बद्रीप्रसाद दाहाल ‘भस्मासुर’कार्यक्रम र नीति बसाल्दैन थिति !
कस्ताे स्वर्ग बनाउँछाै अब भनी , हेरेर बस्छन् सबै । रेलैरेल र पाेत ग्याँस गफका नीति पछार्छाै अझै ।। के हाे कार्यक्रमै क्रमैसित दिने , झल्केन खै नीतिमा । चक्लेटी गफमा विषादि रस छन् सर्कार नाङ्गाे यहाँ।।

बद्रीप्रसाद दाहाल :
भन्छन् गायक काव्य नायक कयाैँ नेपाल भूस्वर्ग हाे ।
ठान्छन् लेखक ग्रन्थदायक सयाैँ नेपाल भूस्वर्ग हाे ।।
गर्छन् स्वर्ग सजाउँने प्रण झुटा नीति गफाडी कुरा ।
डाेरी -मार्ग अझै हटेन कसरी ? झर्छन् यहाँ अप्सरा !!
डाेरी मार्ग समाउँदै ऋषिसितै, गन्धर्व या किन्नर ।
झर्लान् के गरी याे धराप पथमा ? साेच्द्याै ठुला बन्जर ।।
दुर्वासा भृगु शुक्र छन् अति कडा, गर्छन् परीक्षा सदा ।
सत्ता हल्लन सक्छ टक्कर लिँदा हात्ती र गैँडा गधा ।।
कस्ताे स्वर्ग बनाउँछाै अब भनी, हेरेर बस्छन् सबै ।
रेलैरेल र पाेत ग्याँस गफका नीति पछार्छाै अझै ।।
के हाे कार्यक्रमै क्रमैसित दिने, झल्केन खै नीतिमा ।
चक्लेटी गफमा विषादि रस छन् सर्कार नाङ्गाे यहाँ।।
वाचा घाेर अपानवायुसरि भाे दुर्गन्ध ह्वात्तै गण ।
खै संशाेधन संविधान नगरी मात्रै डकार्छाै ऋण !!
नाग्ढुङ्गा मुगलिङ्ग राैरव छ छ्या ! कैल्यै नबन्ने भयाे।
नाैला नीति फुरेन गन्गन सधैँ घिच्दै खकार्दै गयाे !!
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































