फित्काैली डटकमदिलबिच बसे भानु भाषा बनेर
भाषा एकीकृत जब बन्यो साथ आभा प्रभात गाथा गाऊँसरि बनिरह्यो स्तुत्य पार्दै प्रभाव ।। प्राची हाँसिन् जब सित उषा लालिमामा भिझेर नेपालीका दिलबिच बसे भानु भाषा बनेर ।।

उषा बस्ताकोटी खनाल :
नेपालीका घरघर पुगी साथ नौलो बिहानी
माली बन्दै ढकमक सजी काव्यको बागवानी ।।
प्यारो रामायणसित सँगै एक आत्मा भएर
नेपालीका दिलबिच बसे भानु भाषा बनेर ।।१।।
नेपालीका नरम रसना जो पिई मिच्छिदैनन्
सुन्दा सुन्दा पनि दिनदिनै कान यी पाट्टिदैनन् ।।
त्यस्तो रामायण सुरसिलो राष्ट्रलाई दिएर
नेपालीका दिलबिच बसे भानु भाषा बनेर ।।२।।
मिल्दामिल्दै मनसित कतै व्यङ्ग्यको तीर रोप्दै
बन्दा साथी व्यथित मनका आँसुमा प्रेम मुछ्दै ।।
छोई भित्री तहतिर कतै दिव्य द्रष्टा भएर
नेपालीका दिलबिच बसे भानु भाषा बनेर ।।३।।
आँखा छोपी जब हृदयले छाम्दथे सृष्टिलाई
नाच्थिन् मानूँ प्रकृति उनको प्रेमको स्पर्श पाई ।।
आफ्ना सर्वोत्तम सृजनमा भानु अर्को भएर
नेपालीका दिलबिच बसे भानु भाषा बनेर ।।४।।
हामीलाई मनमुटु छुने सिर्जनामा अटाऊ
भन्छन् मानूँ मृदु लवजले भानु फर्केर आऊ ।।
त्यस्तै मीठा लवज रसमा अम्बुजस्तै घुलेर
नेपालीका दिलबिच बसे भानु भाषा बनेर ।।५।।
बन्दै साथी रघुतनयका युद्धमा होमिएर
सीताजीको नयनजलको स्पर्शले पग्लिएर ।।
हामीलाई अमर सृजना प्रेमले अर्पिएर
नेपालीका दिलबिच बसे भानु भाषा बनेर ।।६।।
ताराजस्तै चमचम हुने सिर्जनाका विभामा
बन्दै आफू पनि चहकिलो स्वर्गको वाटिकामा ।।
लाई सेतो स्फटिक पगरी शैलझैँ अग्लिएर
नेपालीका दिलबिच बसे भानु भाषा भएर ।।७।।
भाषालाई जब मन दिई सिर्जनामा अटाए
नेपालीका सुमधुर गला एकतामा सुहाए ।।
भाषा बाँचोस् युगयुग भनी सूत्र नौलो दिएर
नेपालीका दिलबिच बसे भानु भाषा बनेर ।।८।।
भाषा एकीकृत जब बन्यो साथ आभा प्रभात
गाथा गाऊँसरि बनिरह्यो स्तुत्य पार्दै प्रभाव ।।
प्राची हाँसिन् जब सित उषा लालिमामा भिझेर
नेपालीका दिलबिच बसे भानु भाषा बनेर ।।९।।
०००
Subscribe
Login
0 Comments
Oldest












































