तिला लेकालीगधा र मेरो यात्रा
हतारहतार ऊ दोस्रो दिनको यात्रामा नारिन्छ यस्तै दिनचर्या छ गधाको । हिजोआज एक निमेष समय पाउँदा म सोच्छु तर छुट्ट्याउनै सक्दिनँ खै त्यो गधा म हुँ वा म त्यो गधा ।

तिला लेकाली :
प्रत्येक दिन घाम झुल्किनुअगावै
कुनै पहाडको आकृतिझै पिठिउँमा
जाँताको भारी लादेर दौड सुरु गर्छ गधा
कुनै ढाक्रेदाइले हिलेको उकालो चढेझै
चढ्छ आँबुखैरेनीको उकालो बोकेर नुनको भारी
र पुग्छ मनकामना ।
गोरुको काँधझै फुटेका छन् खुट्टाहरू
बाटो छेउका हिमाल, पहाड, खोला, बगैंचाको अवलोकन गर्दै
सुरु गर्छ यात्रा, सम्झन्छ, भारीसँगै साट्छु परिवारका सपना
र मनमनै पुलकित बन्छ
दायाँबायाँको स्पर्शहीन दिनभरिको यात्रामा
दियोलाई टपरीले ढाकेझै सूर्यलाई अँध्यारोले छोप्दै गएपछि
घट्न थाल्छन् पिठिउँका जाँताहरू
साँझमा रित्याउँदै त्यो भारी हल्का पार्छ तन र मन
बेलुका बसाइको पहिलो प्रहरमै घुर्न थाल्छ
सपनामा खान्छ वनभोज गर्छ रमाइलो
डुलाउँछ छोराछोरी र श्रीमती भेट्छ वृद्ध बाआमा
पुग्छ छिमेक र आफन्तसम्म पनि ।
बिहान भालेको डाक, मन्दिरमा घण्टीको आवाज
र चराको चिरबिरसँगै बिउँझिन्छ र ओछ्यान खोज्छ
ऊ सम्झन्छ अब सुत्ने बेला भएछ आराम गर्न पाइन्छ
अफसोस उसको त्यो कल्पना व्यर्थ बन्छ
हतारहतार ऊ दोस्रो दिनको यात्रामा नारिन्छ
यस्तै दिनचर्या छ गधाको ।
हिजोआज एक निमेष समय पाउँदा म सोच्छु
तर छुट्ट्याउनै सक्दिनँ खै त्यो गधा म हुँ
वा म त्यो गधा ।
रचनाकाल फागुन १०, २०७०
०००
साझा आकाश (२०७८)
Subscribe
Login
0 Comments
Oldest







































