तिला लेकालीम आधुनिक मान्छे
म अजम्बरी, जगत् जित्ने मान्छे मैले प्रकृतिलाई जितेको छु, काल जितेको छु चाहिन्न कसैका सहयोगका गुच्छाहरू मित्रताका भावनाहरू मलाई फगत पैसा भए पुग्छ, मात्र पैसा ।
तिला लेकाली :
मलमूत्र मिश्रित दुर्गन्धित
आमाको गर्भवासको पीडा खप्दाखप्दा
कुनै कुकर्म नगर्ने सर्तसँगै सुकर्म गर्ने वाचा गर्छु
सांसारिक कुकर्ममा नभुल्ने कसम खाएर
धर्तीमा अवतरण गर्छु
जीवनको पूर्वार्द्धमा, पूर्ववाचाहरू ओकल्छु निःस्वार्थ
मायाममता र समान भावनाहरू बाँड्छु सबैमा
त्यसैमा हराउँछु आफू र अरूलाई पनि
निर्मल ती मनहरू, कञ्चन ती भावनाहरू
बिनासर्त भाग लगाउँछु, फगत प्रेमले ।
सङ्गतार्थ भूतहरूको
क्रमशः भुल्दै मन, वचन र कर्मका वाचाहरू
सांसारिक रङ्गमञ्चका सङ्गतिहरूबाट
बुन्छु कपट, लोभ र मोह जालहरू
व्यस्त रहन्छु सधैं डस्न काम र क्रोधहरूले
गगनभेदी मेरा भावनाहरू चुल्याउन लालायित म
उल्टोलाई सुल्टो बनाउँछु, कालोलाई सेतो बनाउँछु
आज म भीम बनेको छु।
शकुनिझै पासा खेलाएर हराउँछु पाण्डवहरूलाई
रावणझै नतमस्तक छु कुम्भकर्णझै चिरनिद्रामा छु
सधैं अभ्यस्त छु आफ्नो पौरुष प्रदर्शनीमै
दुख्दिँन आर्तका घाउ चहर्याउँदा उत्पीडन र गरिबीको भेल उर्लंदा
बरु हाँस्छु ती बुढा बाको ऱ्याल सिँगानयुक्त थोते मुख
र घुँडाका सिङ पलाएको देखेर ।
आज म सम्भ्रान्त बनेको छु कुनै खेद छैन मनमा
ऐश्वर्य प्राप्त भए, बेचिदिन्छु दिदी, बहिनी र आमाहरू
किनकि मैले महल ठड्याउनु छ
विश्व जित्ने अणु परमाणु बम बनाउनुछ
सयौं कौमार्य लुट्नु छ, सयौं बेसहारालाई थिच्नु छ
नत्र म कहाँ बन्छु आधुनिक मान्छे ?
म अजम्बरी, जगत् जित्ने मान्छे
मैले प्रकृतिलाई जितेको छु, काल जितेको छु
चाहिन्न कसैका सहयोगका गुच्छाहरू
मित्रताका भावनाहरू
मलाई फगत पैसा भए पुग्छ, मात्र पैसा ।
बिना आत्मग्लानि पचासौं वसन्त पार गरेंछु
आखिर सीमित भएँछु मृत्युशय्यामा
जीर्ण शरीरसँगै पल्टिरहेछु बाक्लो बिछ्यौनामा
बिल्कुल निद्रा पर्दैन ।
चौरासी व्यञ्जनमा छु, गाँस छिर्दैन
त्यो सुन्दर मांसपिण्ड हाडछालामा सीमित छ
जिब्राे आवाज ओकल्दैन
आँखाको ज्योति अस्ताइसकेको छ
मानव पिँजडामा सीमित छ शरीर
मैना भुरुर्र उड्न मात्र बाँकी छ
अझै मरेको छैन सांसारिक तृष्णा
बन्धुबान्धव आगमनको आशाको त्यान्द्रोसँगै
परेली टाँग्छु मूलद्वारतिरै र उठ्ने प्रयास गर्छु, फेरि विफल
मौकाको फाइदा उठाउँदै सफलता खित्त हाँस्छ
र हाँस्छन् चौरासी व्यञ्जन, हवेली, चोटाकोठाहरू
अब कति गर्न बाँकी छ, भनेर ?
झ्यालढोका सान्त्वना दिन्छन्, सबैको यस्तै हुन्छ भन्दै
तब म बिउँझन्छु यस आतुर घडीमा
काम, क्रोध, लोभ, मोह र पापलाई अग्निकुण्डमा होम्दै
आइन्दा आत्मालाई सत्कर्ममा लाउने प्रण गर्छु
तर शरीर जीर्ण भइसकेछ ।
०००
रचनाकाल : असार २२, २०६५
माेरङ
Subscribe
Login
0 Comments
Oldest





































