साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कङ्गाल हुनु चण्डाल नहुनु

यसरी चण्डालहरुले मरेपछि पनि सोझा सिदालाई तारन्तार सताइरहन्छन् । तपाईं हाम्रो समाजमा पनि यस्ता चण्डालहरुको पुस्तान्तरण हुँदै आइरहेको छ कि चनाखो बन्नुस् है । 

Nepal Telecom ad
शेषराज भट्टराई :
गरिब अत्यन्त गरिब केही नभएको बुटिट्वाँकलाई कङ्गालको उपमा दिइन्छ । त्यस्तै अत्यन्तै चाहिँदोभन्दा बढी चलाखलाई चण्डाल भन्नुपर्छ । नेपाली जनजिब्रोमा एउटा भनाइ छ चोरमाथिको पनि चण्डाल रहेछ । संसार प्राणी मात्रको साझा फूलबारी । यहाँ विचरण गर्ने अनेक प्रकृतिका प्राणीहरु मध्ये कोही विजोक कहाली लाग्ने हालतमा गुज्रिरहेका हुन्छन् त कोही कल्पना गरेभन्दा बढी ऐस आराम र सुखभोगमा मस्ताराम हुन्छन् । हो विश्व ब्रह्माण्डमा अनेक किसिमका मानवको बसोबास रहेको हुन्छ । गरिब हुँदा हुँदा थाक्ने र धनी हुँदाहुँदा पाक्ने मान्छे पनि हुन्छन् जगत्‌मा । कतिपय चोरलाई पनि पछार्ने गरेर चण्डाल बनिरहेका हुन्छन् । कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि भनेझै विश्व नै विविध स्वभावका मानावहरुको साझा घर हो । चण्डाल कंगाल अहंकारी, मूर्ख, ज्ञानी बेइमानी, साधु सन्त घमण्डी, धर्माती पापी जेजस्तो भए पनि मिलेर नै बस्नुपर्छ भन्ने मानवीय नैतिक शिक्षा हामीमा हुनु जरुरी छ ।
रहरले कंगाल कोही पनि हुँदैन । सत्यवादी प्रजापालक राजा हरिश्चन्द्रले छोरा रोहिताश्वको (रोहित पनि भनिन्छ) लास जलाउने पैसा थिएन । उनी कंगाल थिए । सत्य निष्ठामा अटल उनले धन सम्पत्ति परिवार र राज्य नै त्यागेका थिए । राजा हरिश्चन्द्रलाई कंगाल ऋषि विश्वामित्रले बनाएका थिए । एक पटक राजा हरिश्चन्द्र शिकार खेल्न जङ्गल पसेका रहेछन् । उनी जंगलमा बाटो बिराएर फसेका थिए तर अचानक ऋषि विश्वामित्र भेट भए अनि सहयोग गर्न आग्रह गरे । सहयोग गरेबापत इच्छा लागेको कुरा माग म पुरा गरिदिन्छु भनेका थिए । त्यसैअनुसार विश्वामित्रले फर्किने बाटो देखाइ दिए । राजा दरबार फर्किए । केही दिनपछि विश्वामित्र दरबार गए र बचन अनुसार दक्षिणा दिन आग्रह गरे । त्यसपछि राजाले राजसुय यज्ञको आयोजना गरे । ऋषि विश्वामित्रले राज्य, जायजेथा र श्रीसम्पत्तिको माग गरेछन् । अनि राजाले मन्जुर गरेर आफ्‌नो महल, राजदरबार, राज्य छोडेछन् र परिवार सहित सारा श्रीसम्पत्ति त्यागेर हिँडेछन् । श्रीमती र छोरालाई खुवाउने अन्न पनि भएन भनेर उनले भिख मागेछन् ।
त्यो भिक्षा मागेको पनि ऋषि विश्वामित्रले हड्पेछन् । छोरो र श्रीमती भोकै भए आफू पनि भोकै भएछन् । अनि मलाई बेचेर खर्च चलाउनु भनेर श्रीमतीले भनेपछि राजाले रानीलाई बेची दिएछन् अनि एक मात्र छोरो पनि आमासँगै गएछ । सारै आपत परेपछि राजा आफै बेचिएछन् । ऋषि विश्वामित्रले राजालाई आफूसँग राखेनन् र उनले फेरि एउटा चाण्डाललाई सुनको असर्फी लिएर राजा बेचिदिएछन् । चाण्डालले राजालाई चिहान खन्ने र मरेका लासहरू गाड्ने डढाउने काम दियो । आम्दानी नै हुँदैन थियो । एक दिन राजा हरिश्चन्द्रले सपनामा एउटी महिला रोइरहेको देखेछन् । ब्युझिएर हेर्दा आफ्‌नै छेउमा एउटी महिला बच्चा बोकेर रोइरहेको देखेछन् । को हो भनेर नियालेर हेर्दा त आफ्‌नै श्रमिती र छोरा । छोरालाई सर्पले डसेर मरेछ । तर राजा हरिश्चन्द्रसँग छोरालाई सतिगति गर्ने पैसा पनि थिएन । आफ्‌नो कंगालपनका पिरले राजा हरिश्चन्द्रले आत्महत्या गरेर मर्न खोजे तर फेरि बाँकी पाप अर्को जुनीमा भोग्नुपर्छ भनेर मरेनन् । हो सत्यवादी प्रजापालक राजा हरिश्चन्द्र कंगाल बने तर चण्डाल कहिल्यै बनेनन् ।
कंगाल र चण्डाल प्रारब्धको कुरा हो । भाग्य भन्ने कुरा जन्मिएर कुद्नु अगाडि नै चादोमा कुँदिएर आएको हुन्छ । तैपनि चित्त नबुझेर आत्म सन्तुष्टिको लागि जन्मिएको छैटौँ दिनमा बलेको दियोसँगै कापी कलम पनि राखिन्छ । भावीले के लेखेर जान्छन् त्यो मानव भोगाइमा प्रकट हुँदै अस्ताउँदै गर्छ । यसमा भाग्यवादीहरु मन्त्रमुग्ध भएर भर पर्ने गर्छन् । आस्थाको शिखर विरसिलै भए पनि चुम्ने गरिन्छ किनकि संस्कार जो धान्नु छ ।
मानिस जन्मिँदा नाङ्गै हुन्छ । बालक जन्मिँदा आफै नरोए डाक्टरले उधो मुन्टो पारेर पैतालामा ठटाएर भए पनि रुवाएरै छोड्छन् । जब मान्छे मर्छ तब त्यसको गुण, दोष, त्याग, तपस्या, अनेक कर्म सम्झिएर बाँचेकाहरु रुनु रोएर नै अलबिदा भन्नुपर्छ । प्राणी जन्मिँदा समान स्तरको जीवको रूपमा जन्मिन्छ तर जीवन भोगाइको आरोह अवरोह पार गर्ने क्रममा कोही कंंगाल बन्छन् त कोही चण्डाल ।
आस्थाका उपासकहरु यसलाई भाग्यको जिम्मा लगाउन रुचाउँछन् । तर उत्तरआधुनिक जमानामा मनि भएकाहरु नै धनीको दर्जामा पर्ने गर्छन् । त्यसैले ओर्काइ फर्काइ मनि भनेपछि मरिहत्ते गर्नेहरू धेरै छन् । हुन त अहिले धनी कहलिन नोठ मात्रै भएर हुँदैन नेट पनि चाहिन्छ । अनि चण्डाल कहलिन पनि समय मुताविक बिरालाले मुसा खेलाउझै नेटलाई खेलाउन जान्नु पर्छ । दुनियाँको वेभसाइड भित्र छिर्न र अरूलाई पिर्न सक्नुपर्छ । ह्याक गरेर सम्बन्धित निकायलाई घोक्रेठ्याक लगाउन जान्नु र दुनियाँले त्यसलाई मान्नुपर्छ । तब मात्रै चण्डालको पगरी गुथ्न सकिन्छ । अन्यथा रहर गर्दैन चण्डाल बन्न कहाँ सकिन्छ ?
असल नागरिकले कंगाल हुनु तर चण्डाल नहुनु भन्ने भनाइलाई कहिल्यै बिर्सनु हुँदैन । बरु राजा हरिश्चन्द्र नै सही कंगाल भएर बाँचौँ तर चण्डाल भएर बदनामार्जन गर्नु हुँदैन । बद्नामले शिर मात्रै होइन स्वाभिमान र सिंगो साख नै धरापमा पर्छ । कंगाललाई दुनियाँले कठै भन्छन् तर चण्डाल कसैको प्रिय पात्र बन्न सक्दैन । यसलाई समाज र देशकै कसिंगर मानिन्छ । बदनाम चण्डालभन्दा गरिब कंगालको इज्जत कैयौँ गुणा माथि हुन्छ । त्यसैले नै परापूर्वकालका पुर्खाको कहावत छ कंगाल हुनु चण्डाल नहुनु ।
एकपटक महात्मा गान्धीकी जोरु कस्तुरबा गान्धीले भारतको आमसभालाई सम्बोधन गर्दा भनेकी थिइन् “हामी गरिब भए पनि लुगा चाहिँ सफा लगाउनु पर्छ है ।” अनि त्यही सभाबाट उठेर एक जना महिलाले भनिछन् “मसँग एउटा मात्रै सारी छ । यसलाई धुँदा म नाङ्गै हुन्छु कसरी सफा लगाउने , अनि यो कुरा थाहा पाएका महात्मा गान्धीले त्यही सभाबाट घोषणा गरेछन् “मेरो देशका नागरिक यति धेरै गरिब हुँदा मैले चाहिँ खापका खाप लुगा किन लगाउने ? म पनि आजैबाट एउटा लगौटी र कछाड मात्रै लगाउँछु ।” त्यहीदेखि उनले लगौटी र कछाड धारण गर्न थालेका रहेछन् ।
महात्मा गान्धीले देश गरिब हुँदा जनतालाई आह्वान गर्दै भन्थे “एक छाक भात खानु एक छाक चाहिँ रोटी खानु । देशको उत्पादन लगाउनु बाहिरबाट बस्त्र आयात नगर्नु ।” नेपालका नेतामा गान्धी सोच कहिले पलाउँला ? बहादुर नेपाली राजनेताहरु खापका खाप विदेशी बस्त्रले पुरिएकै छन् । लगाउनै नपर्ने लाखौँ पर्ने रोलेक्स घडीले बडीलाई सिँगारी रहेका छन् तर जनताको दुःख कष्ट चाहिँ देखेको नदेखेकै सुनेको नसुनेकै गरेर नेतृत्व सम्हाल्नु मै आनन्द मानिरहेका छन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालका ठूला दलका नेताहरुको बदमासीबाट वाक्क दिक्क हुँदै भनेकी छन् “नेपालका ठुला नेता भनाउँदाहरुले जनताको छाला काढेर सुकाएर बेच्न बेर छैन । नेपालमा कस्तो लाज शरम पचेका नेताहरु छन् । अब त लाजलाई नि लाज लागिसक्यो होला तर नेपालका अरिमट्ठे नेतामा कुनै लाज शरम छैन । दुनियाँले छिछि भनिसक्दा पनि यिनीहरु भ्रष्टाचार गर्नमै व्यस्त छन मस्त छन् । इज्जतले हाम फालेको चालै पाउँदैनन् ।
विदेशी ऋण र अनुदान भने पछि जति पनि सोहोरेर आफूलाई जे मन लाग्छ त्यही गर्ने नेताका देशमा अनुशासित युवा वर्ग चण्डाल देशमा भविष्य नदेखेर भकाभक विदेश बहकिन थाले । जनप्रतिनिधिमा अनुशासनको अनिकाल छ त्यसैले प्रजाहरु बाध्य भएर सत्तोसरापले चित्त बुझाइ रहेका छन् । जो गाउँको मुखिया उही नै बाटो हगुवा भएपछि युवा जमात् जतिले पलायनको बाटो समात्‌को अवस्थामा देश गुज्रिरहेको छ । बरु कंगाल हुन राजी तर चण्डाल नेताका देशमा रात बिताउन सकस मानिरहेका छन् भविष्यका कर्णधारहरू । तसर्थ ताबाबाट उफ्रिएको माछो भुङ्ग्रोमा नै सही साबित भएछ भने पनि एक दुई तीन विदेश नै हिड् भन्ने मनस्थितिमा पुग्नुलाई परिस्थिति वा गणतन्त्रको उपज मान्नुपर्छ । जुन सीमित शासकहरुले औधी रुचाएको व्यवस्था ।
कृषि उद्यान देश नेपालमा पहिला कंगाल धेरै थिए अहिले चण्डाल धेरै भएका छन् । हिँड्दाखेरी पाइलै पिच्छे चण्डाल ठोकिन्छन् । हरेक भाषणै पिच्छे चण्डालको सुवास गुन्जिन्छ । हरेक योजना र विकासमा चण्डालको अट्टहास छर्लङ्ग देखिन्छ । समाजसेवा र परोपकारी कर्ममा चण्डालको अग्रणी भूमिका रहेको प्रष्ट हुन्छ । त्यसैले नै गणतन्त्र नेपालमा चण्डाल तीन तहमा विकेन्द्रीकरणले वेष्ठित रहेको पाइन्छ ।
क) केन्द्रिय चण्डाल
ख) महानगरिय चण्डाल
ग) वडास्तरीय चण्डाल
सिंगो राज्यको नेतृत्व गर्ने केन्द्रीय चण्डाल नै सर्वश्रेष्ठ चण्डाल मानिन्छ । यिनीहरुको चाल निशाचरको झै रातिमा सक्रिय हुन्छ । दिउँसोमा साधु विरालो बनेर प्रस्तुत हुने र घाम डुबेपछि यिनीहरु पनि आफ्‌नो प्लानमा चुर्लुम डुब्ने गर्छन् । बरु देश डुबाउँछन् तर यिनीहरु आफ्‌नो परियोजनाबाट पछि हट्दैनन् । उदाहरणका लागि दश वर्षे माओवादी जनयुद्ध नामक परियोनजामा भारतमा सिराने गरेर नेपालमा लात्ती बजारेका थिए । धनजन राष्ट्रिय ढुकुटी राजमार्गहरू ध्वस्त अस्तव्यस्त पारेर भए पनि योजना फत्ते गरेको कुरा सत्ते नै हो । यसरी केन्द्रीय चण्डालहरुले दिलो ज्यान ध्यान दिएर सफल पारेका अन्य परियोजनामा मौजुदा नेपाली नागरिकलाई अनागरिक भुटानी शरणार्थीमा रुपान्तरण गर्न सक्ने क्षमतालाई हामी प्रजाले स्यालुट गर्नैपर्छ । भिजिट भिषा नाम दिएर सिंगो मानव तस्करीमा प्रसिद्धी कमाउने खुवीलाई पनि चण्डालको लिस्टमा समावेश नगरे अन्याय नै ठहर्छ । गिरीबन्धु टि स्टेट, ललिता निवास, ट्रकमा करोडौँ डलर बेबारिसे फेला पर्नु, सुन काण्ड, उद्योग कलकारखाना काण्ड, पतञ्जली जग्गा काण्डमा चण्डाल चण्डाल मिलेर अर्थोपार्जन गर्छन्
भने त्यस्ता आधुनिक ऋषि विश्वामित्रलाई सुधार गृहमा राखेर संरक्षण गर्नु पर्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका नेतालाई त्यसै क्रप्सन भनेका होइनन् । यहाँका चण्डालहरु भरपर्दा र विश्वासिलो भएर नै एमसिसी जस्ता परियोजनाहरु हुत्त हुत्तिएर फुत्त फिर्ता गएका हुन् । देशलाई विछट्ट उन्नत देखाउन विकट ठाउँमा झोलुङ्गे पुल नभए पनि सुगम ठाउँमा गगनचुम्बी फूलहरु खडा गरेर विकास र विश्वासको धरहरा ठड्याइ रहेका छन् । चण्डालले नसके चण्डाल्नी लगाएर भए पनि काम फत्ते गरेरै छोड्छन् । देशका ठूला ठूला रोजगारका केन्द्र उद्योगधन्दाहरु, देशको भुगोल नै पराइलाई सुम्पनु पर्‍यो भने अनि किलाका किला पहेलो धातु ओसार्नु पर्‍यो भने केन्द्रीय चण्डालहरुको अहंभूमिका रहेको हुन्छ भन्ने कुरा भावी नेतृत्वले राम्रोसँग बुझ्‌नुपर्छ ।
महानगरस्तरीय चण्डाल भन्नाले प्रदेश मातहतको मानिन्छ । यस क्षेत्रका चण्डालहरुले विक्रीका लागि हरेक कुरा खुल्ला राखेका हुन्छन् । महानगरलाई केन्द्र मानेर यसैको परिक्रमा गर्दै मुख मिठ्याइ रहेका हुन्छन् । अलकत्रा, छड, सिमेन्ट, गिटी, बालुवा, ठूलाठूला विल्डिङ पुलपुलेसा असाध्यै पोषिलो मान्छन् । उर्बर भूमिलाई प्लटिङमा परिणत गरेर अर्थोपार्जनका हकमा लमजम्प गरेर भुँडी भर्न सिपालु मानिन्छन् । नगरभित्रको फोहोर मैला व्यवस्थापनबाट रस चुसेर महाचण्डालको पूर्व कृतिमानी नै भत्काइ दिन खोज्छन् । रसपानमा मैमत्तु भएर नै बेहोसमा टाउन प्लानिङ गरिने हुनाले नेपाली सहर विरूप बनेका हुन् । महानगरीय चण्डालले तनमन दिएर आफ्‌नो घर र खल्तीलाई कसैले गल्ती नदेखाउने गरी मजबुत बनाएका हुन्छन् ।
वडास्तरीय चण्डाल खास गरी जनप्रतिनिधिहरु मिलेर चण्डालपनलाई हाकेका हुन्छन् । भविष्यमा यस्तो नहुनसक्ला तर अहिले वर्तमान अवस्थामा समाजले व्यहोर्नु परेको ताजा वस्तुस्थितिलाई सतहमा उतार्दा यी अक्षरहरू कोर्नै पर्ने हुन्छ । भर्खरैको ताजा उदाहरण प्रस्तुत गर्नुपर्दा पोखरा महानगरपालिका वडा नं. ३ मा जन्मदर्ताको प्रमाणपत्र लिन जाँदा चुत्थो तीनवटा लाख गनी पाउँ अनि प्रमाणपत्र लिएर जाउँ भनेछ । नेपाल सरकारले पालेका कर्मचारीको हविगत हेर्दा नै देशको स्थिति छर्लङ्ग हुन्छ भन्थे मलाई नि ठिकै लाग्यो । केही काम परेर वडामा गयो भने मिठापान जर्दापान, सुपारी, ल्वाङ, सुकमेल जे भए पनि उग्राउन खोज्छन् । हुने कामलाई पनि हुँदैन, मिल्दैन भन्न सक्नु र भेटी भेट्टाए पछि त्यही मुखले हुन्छ भन्नु चण्डालपनको राम्रो उदाहरण मान्न सकिन्छ ।
गाउँमा दुई दाजुभाइ सँगै बस्दा रहेछन् । दाजुभन्दा भाइ चण्डाल रहेछ । अनि भाइले भएको एउटा दुहुनु भैँसी र एउटा कम्बल पनि भाग लगाउ भनेछ । दाजुले हुन्छ भनेछ । भैँसीको टाउको तिर तपाईंलाई पुच्छरतिर मलाई भनेछ दाजुले हुन्छ भनेछ । कम्बल पनि दिनभरि तपाईंलाई रातभरि मलाई भनेछ । दाजुले हुन्छ भनेछ । अनि उज्यालो भएपछि कम्बल बोकेर दाजु दिनभरि भैँसी चराउन जान्छ र राती भैँसी लिएर घर आउँछ । त्यसपछि भाइले पुच्छरतिर मेरो हो भन्दै दुध दुएर खाँदो रहेछ र रातिमा कम्बल ओडेर मस्त निदाउँदो रहेछ तर दाजु चाहि रातभरि जाडाले कक्रक्क केको निदाउनु । यसरी चण्डाल आफन्त परे भने सोझा सिदाको भागमा सँधै सास्तीका सास्ती चण्डाललाई चाहिँ मस्तीका मस्ती ।
सहर बजारमा एक जना नेवार व्यापारीले व्यापार गर्दो रहेछ । पसलको नजिकै छिमेकी टपरे बाहुन पनि बस्दो रहेछ । कहिलेकाहीँ पसलमा लगानी गर्नुपर्दा त्यही बाहुनसँग व्याज दिने भन्दै पैसा फुत्काउँदो रहेछ । धेरै वर्ष बित्दै गयो । नेवारले पैसाको सावा व्याज दिनै छोडेछ । पैसा फिर्ता नभएपछि बाहुन पिरोलिन थालेछ । गर्दा गर्दै धेरै समय पछि नेवार बिरामी परेछ । एकदिन सिकिस्त बिरामी परेको बेलामा नेवारले बाहुनलाई बोलाएर भनेछ “बाजे बाचुन्जेल सम्म पनि मैले तपाईंलाई धेरै दुःख पीडा दिए । मसँग तपाईंलाई उद्युम रिस पनि उठेको छ होला । जे भए पनि अब मेरो प्राण जाने बेलामा जब म आँ गर्छु तेतिखेर यो आग्लो मेरो मुखमा कोचिदिनुस् है । तपाईंको पनि रिस मर्ने अनि मेरो आत्माले पनि शान्ति पाउँछ । अनि नेवार घिटीघिटी फिटीफिटी हुन लागेछ ।
नेवारको छोरो मर्ने बेलाको बाबुको मुखमा हाल्ने पानी लिन गएछ यता नेवारले आँ मुख बाएर सास जान लागेछ । सोझो बाहुनले नेवारले भनेझै आग्लो मुखमा घुसार्दा घुसार्दै नेवारका आफन्तले देखेछन् र प्रहरीलाई खबर गरिहाले । प्रहरीले बाहुनलाई पाता कसेर लगेर थुनेछ । यसरी चण्डालहरुले मरेपछि पनि सोझा सिदालाई तारन्तार सताइरहन्छन् । तपाईं हाम्रो समाजमा पनि यस्ता चण्डालहरुको पुस्तान्तरण हुँदै आइरहेको छ कि चनाखो बन्नुस् है ।
०००
शिवशक्ति मार्ग, फूलबारी–११, पोखरा, कास्की
फोन ९८०६६७७५९४
मधुपर्क (२०८२ कात्तिक)
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x