राजेन्द्र घायलखाऊ
विदेश सामु खान्की लीला देखाएर खाऊ खानेशक्ति इतिहासमा लेखाएर खाऊ खाँदा खाँदै सकिए पछि अाफैलाई खाऊ पतन हुँदै इतिहासमा बिलाएर जाऊ ।

राजेन्द्र सिलवाल घायल :
खानलाई मुख बन्यो भर्नलाई पेट
यत्ति जान्यौ खानलाई सक्दो मरिमेट
दुब्लो देशको हाड छाला लुछी लुछी खाऊ
जनताको अाँसुसित मुछी मुछी खाऊ
उसले खायो त्यसले खायो तिमी पनि खाऊ
मैले मात्रै खा´को हो र भनी भनी खाऊ
नागरिकलाई शरणार्थी बनाएर खाऊ
वर पर डुङ्डुङ्ती गनाएर खाऊ
सहिदका तस्बिर अनि सालिक हेर्दै खाऊ
परिवर्तनको परिकार बनाइ स्वाद फेर्दै खाऊ
निष्ठा त्याग बलिदानको टाउको मुडी खाऊँ
समाजवादलाई पकाएर खुँडी खुँडी खाऊ
ऐन कानुन नियम च्यानल मिलाएर खाऊ
अासेपासे सबैका मुख सिलाएर खाऊ
सिध्दान्तलाई सितन बनाई कुर्सीको जुस खाऊ
उकुस मुकुस हुने गरि कमिसन घुस खाऊ
जनमत र वाचा बन्धन सब तोडेर खाऊ
तस्कर दलाल भ्रष्टसित कुम जोडेर खाऊ
खोला नाला बन जङ्गल बाटो घाटो खाऊ
सार्वजनिक जग्गा जमिन लुछ्दै माटो खाऊ
खान पाए के को ठूलो के को अग्लो होचो
खाापानमा एकताले मिलाऊ चोचोमोचो
खानैलाई बहुमत पुर्याऊ डाडु चम्चा समाऊ
हाँडिघोप्टे प्रवृत्तिले सबै समाइ खाऊ
बाँचिरहू खाइरहू भुँडी भरिरहू
नयाँ नयाँ परिकारको स्वाद लिइरहू
सत्ता सत्ता सत्ता सत्ता जप्दै यही मन्त्र
जोगाइ राख खपाइरहू अाफ्नो खान्कीतन्त्र
विदेशका प्रभुहरू रिझाएर खाऊ
गिद्ध जस्तै पखेटालाई फिँजाएर खाऊ
युवायुवतीलाई पर धपाएर खाऊ
राष्ट्रलाई मर्याक मर्याक चपाएर खाऊ
विदेश सामु खान्की लीला देखाएर खाऊ
खानेशक्ति इतिहासमा लेखाएर खाऊ
खाँदा खाँदै सकिए पछि अाफैलाई खाऊ
पतन हुँदै इतिहासमा विलाएर जाऊ ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest






































