साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुटतन्त्रको महाकुम्भ : सबै एक होऔँ !!!

जनताको आँसु र ठगहरूको नयाँ सहर एक होऔँ ! भिजिट भिसाको धन्दा र अध्यागमनको सेटिङ एक होऔँ ! वाइड बडीको इन्जिन र कमिसनको वेटिङ एक होऔँ !

Nepal Telecom ad

नन्दलाल आचार्य :

​सचेत र सच्चा नेपाली मात्र एक भएर पुग्दैन
सयौँ वर्षका दरबारी र सरकारी एक होऔँ !
कोतपर्वका खुकुरी र सुस्ताका हलो एक होऔँ !
भ्रष्टका जालो र तस्करीका सालो एक होऔँ !
गिरीबन्धु, भुटानी र सहकारीका ठग एक होऔँ !
देश बेच्ने दलाल र सत्ताका मग एक होऔँ !
​नेताका झोले र अन्धभक्त मात्र एक भएर पुग्दैन
पसिना बेच्ने परदेशी र माटो खन्ने हली एक होऔँ !
भिजिट भिसा, वाइड बडी र सुनका चुरोट एक होऔँ !
ललिता निवास, टीकापुर र कालो कोट एक होऔँ !
ओम्नीको कमिसन र यतिको फेरो एक होऔँ !
एनसेलको अङ्गालो र ‘डडेका नोट’ सबै एक होऔँ !
​गुट र फुटका स्वार्थ मात्र एक भएर पुग्दैन
सत्य मार्ने कसाइ र झुटको गल्ली एक होऔँ !
भोक लागेका जनता र देशको यो खल्ली एक होऔँ !
कुर्सीको म्युजिकल चेयर र भागबन्डा एक होऔँ !
साँठगाँठको मध्यरात र भ्रष्टाचारको डण्डा एक होऔँ !
​बा-आमा र छोराछोरी मात्र एक भएर पुग्दैन
दाजु-भाउजू, भिनाजु र सालो एक होऔँ !
भोलिको सपना बेच्ने र आजको होस एक होऔँ !
प्रधानमन्त्री पालोपालो र कुशासनको जोस एक होऔँ !!

+++

​महेन्द्रपार्कका रुख र कौडीको सल्ला एक होऔँ !
धमिजा र लाउडाको पुरानो हल्ला एक होऔँ !
गिटी-बालुवा तस्कर र क्रसरका डन एक होऔँ !
भ्यू-टावर बनाउने र रित्तो तुल्याउने मन एक होऔँ !
​मेलम्चीको लेदो र ठेकेदारको आलटाल एक होऔँ !
छपन्न करोडको अङ्क र सेक्युरिटी प्रेसको जाल एक होऔँ !
भुटानी शरणार्थीको ‘फरम’ र नक्कली परिचय एक होऔँ !
गिरीबन्धुको जग्गा र ‘नियत’ को निश्चय एक होऔँ !
​बा-आमा र छोराछोरी मात्रै एक भएर पुग्दैन
पीए, ड्राइभर, भान्जे र सबै सालो एक होऔँ !
ललिता निवासको सरकारी जग्गा र मोही एक होऔँ !
कोरोनाको मास्क र स्यानिटाइजरको द्रोही एक होऔँ !
​सहकारीको बचत र सञ्चालकको विदेश सयर एक होऔँ !
जनताको आँसु र ठगहरूको नयाँ सहर एक होऔँ !
भिजिट भिसाको धन्दा र अध्यागमनको सेटिङ एक होऔँ !
वाइड बडीको इन्जिन र कमिसनको वेटिङ एक होऔँ !
​म्युजिकल चेयर रेस
अनि
प्रधानमन्त्री र राष्ट्रपति भाग लगाउने सर्तमा
पालोपालो हामी सबै अब एक होऔँ !!
+++

​शैक्षिक मरुभूमिकरण अब सबै एक होऔँ !
​विश्वविद्यालयको तालाबन्दी र दलीय सिफारिस एक होऔँ !
रजिस्ट्रारको कुर्सी र उपकुलपतिको “पोलिटिक्स” एक होऔँ !
कक्षाकोठामा राजनीति र जाँचमा ‘सेटिङ’ एक होऔँ !
डिग्रीको कागज र बेरोजगारको ‘वेटिङ’ एक होऔँ !
​निजी स्कूलको चर्को शुल्क र मध्यमवर्गीयको ऋण एक होऔँ !
सरकारी विद्यालयको जीर्ण गारो र रित्तो टिन एक होऔँ !
नक्कली शैक्षिक प्रमाणपत्र र ‘रातो’ मसी एक होऔँ !
कलिला सपना बेचेर विदेश पठाउने ‘कन्सलटेन्सी’ जति एक होऔँ !
​बा-आमा र छोराछोरी मात्रै एक भएर पुग्दैन
शिक्षक सङ्घ, सङ्गठन र नेताका ‘पालो’ एक होऔँ !
शिक्षाको व्यापारीकरण र ज्ञानको अनिकाल एक होऔँ !
प्राज्ञिक मर्यादा भत्काउने यो कुरुप काल एक होऔँ !
​भविष्यको गोरेटोमा-
राहदानी बोक्ने हात र डिग्री जलाउने चेत एक होऔँ !
शैक्षिक माफिया र बिचौलियाको एउटै खेत एक होऔँ !
म्युजिकल चेयर रेस
अनि
प्रधानमन्त्री पालोपालो एक होऊँ !!!
+++

​स्वास्थ्यको बजार सबै एक होऔँ !
​अस्पतालको बेड र बिरामीको चित्कार एक होऔँ !
औषधिको कमिसन र डाक्टरको ‘उपहार’ एक होऔँ !
निजी क्लिनिकको लुट र सरकारीको ‘हड्ताल’ एक होऔँ !
स्वास्थ्य बिमाको नाममा गरिबको बेहाल एक होऔँ !
​उपचार नपाएर मर्नुपर्ने “निमुखाको भाग्य” एक होऔँ !
सिटामोल नहुने पहाड र भ्यू-टावरको ‘राग्य’ एक होऔँ !
भेन्टिलेटरको व्यापार र अक्सिजनको हाहाकार एक होऔँ !
मिर्गौला बेच्ने दलाल र संवेदनहीन सरकार एक होऔँ !
​बा-आमा र छोराछोरी मात्रै एक भएर पुग्दैन
अस्पतालका साहु र माफियाका ‘पालो’ एक होऔँ !
स्वास्थ्यलाई कमाउने भाँडो बनाउने काल एक होऔँ !
लाचार प्रशासन र नीतिगत भ्रष्टाचारको ढाल एक होऔँ !
​भ्रष्टाचारी, भ्रष्टाचारी एक होऔँ !
म्युजिकल चेयर रेस

प्रधानमन्त्री पालोपालो एक होऔँ !!

०००
सिद्धार्थटोल, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाजी

बाजी

नन्दलाल आचार्य
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x