साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन लालको जन्मभूमिमा जनसाहित्य यात्रा

Nepal Telecom ad

मन्थली (रामेछाप), १ वैशाख । जनसाहित्यिक मञ्च तदर्थ समिति रामेछाप र केन्द्रीय समिति काठमाडौँबाट आयोजित ‘रामेछाप जनसाहित्य यात्रा’चैत २८–२९ गते मन्थलीमा नौबुँदे ‘रामेछाप घोषणापत्र’ जारी गर्दै सम्पन्न भयो ।

जनसाहित्य यात्राले साहित्य सिर्जनामा रुप र अन्तर्वस्तुको सन्तुलित प्रयोग गर्ने, प्रेम र श्रमको सम्मानसहित आदर्श, आनन्द र सन्देशसहितको उच्च सौन्दर्यलाई आत्मसात् गर्ने तथा साहित्यकार र सर्जक अनिर्वाचित जनप्रतिनिधि हुन् भन्ने मान्यता स्थापित गर्ने सङ्कल्प गरेको छ । त्यस्तै युवा पलायन रोक्ने, साम्राज्यावादी विसङ्गति–विकृति रोक्न र राष्ट्रिय भावना, एकता र सद्भावना कायम गर्न प्रयत्नशील रहने, पूर्वीय र पाश्चात्य दर्शनका वैज्ञानिक उपलब्धिलाई आत्मसात् गर्ने, राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा नेपाली साहित्यको गुणात्मक अभिवृद्धि गर्ने तथा साहित्यलाई मुलुकको सर्वाङ्गीण समृद्धि तथा सामाजिक परिवर्तन र सांस्कृतिक रुपान्तरणका लागि माध्यम बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

तीन लाल (सहिद गङ्गालाल श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र साहित्यिक सहिद कृष्णलाल अधिकारी) तथा साहित्यकार जगदीश घिमिरेको जन्मभूमि रामेछापमा भएको सो कार्यक्रमको पहिलो दिन मञ्च रामेछापको प्रथम अधिवेशन भई माधव सयपत्री अध्यक्षमा चुनिनुभयो भने दोस्रो दिन काव्यगोष्ठी र सयपत्रीको उपन्यास ‘सीमान्त विचलन’(प्रकाशक रत्न पुस्तक भण्डार)लोकार्पण भएको थियो ।

काव्यगोष्ठीका अवसरमा नेकपा(एमाले)का पोलिटब्युरो सदस्य प्रदीप नेपालले साहित्य जीवनबाट बाहिर गएमा अर्थहीन हुन्छ भन्दै साहित्यकारले माटोलाई सम्झेर जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिनुभयो । मञ्चका केन्द्रीय अध्यक्ष राम विनय र महासचिव विनोद मञ्जनले आगामी दिनमा रामेछाप र मुलुकमा सबै जिल्लामा जनसाहित्यलाई स्थापित गर्न मञ्चले भूमिका निर्वाह गर्ने विश्वास दिलाउँदै कला र विचार सँगसँगै जानुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले युवा पलायन, प्रशासनिक विकृति र दलहरुको वैचारिक विचलनलाई लोकार्पित कृतिले उजागर गरेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा काठमाडौँबाट जानुभएका प्राज्ञ रामकृष्ण दुवाल, उदय श्रेष्ठ, अनिल पौडेल, श्याम रिमाल, लक्ष्मण गाम्नागे, देवी नेपाल, विनोद मञ्जन, भागवत आचार्य, प्रेमराज सिलवाल, डा विन्दु शर्मा, जयन्ता पोखरेल र यशोदा अधिकारी, दोलखाका जीत कार्की र मुकुन्द सिवाकोटी तथा स्थानीय साहित्यकार पेशल आचार्य, प्रकाश न्यौपाने परिष्कार, उद्धव अविचल, सरिष्मा भण्डारी दोलखाली, सजना वाइवा, सरिता खड्का, प्रभु विवश, गीता नेपाल, ईश्वरी बस्नेत, प्रिन्स प्रकाश, सरिता श्रेष्ठ, ब्यु स्काइ लामा र सुरेश पौडेलले प्रगतिशील गीत, कविता र मुक्तक प्रस्तुत गर्नुभयो भने चित्रकलाकार डा रामकुमार भौकाजीले रामेछापलाई चित्रकारितामा उतार्नुभएको थियो ।
मञ्चका तदर्थ समितिका अध्यक्ष तथा यात्राका संयोजक होमराज श्रेष्ठले रामेछाप ऐतिहासिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले गौरवपूर्ण भएको बताउनुभयो । प्रजिअ गोपालप्रसाद पराजुली र एमालेका जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलले जिल्लामा हुने साहित्यिक गतिविधिमा सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सहभागीले तीन लाल, देवकोटा र मदनआश्रितको सालिकस्थल, साहित्यकार जगदीश घिमिरेले स्थापना गरेको तामाकोसी सेवा समितिका गतिविधि, तामाकोसी नदी र मन्थली बजार आदिको अवलोकन भ्रमण गरेका थिए ।

मञ्च रामेछापको प्रथम अधिवेशनले सयपत्रीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । मञ्चका उपाध्यक्षमा माधव प्रधान, सचिवमा प्रकाश परिष्कार, कोषाध्यक्षमा शान्ति श्रेष्ठ तथा सदस्यमा ध्रुव पौडेल, प्रज्वल पौडेल, सुमित्रा श्रेष्ठ, कैलाश खत्री, रामकृष्ण गिरी, डिलेश्वर बस्नेत, सञ्जीव श्रेष्ठ, झनहरि दाहाल, राजकुमार भुजेललगायत एवं सल्लाहकारमा होमराज श्रेष्ठ, नीरबहादुर कार्की, पवनराज पौडेल, मुकुन्द भण्डारी र केशव अन्योल रहनुभएको छ ।

रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x