केशवराज अर्याल ‘निश्चल’यो उडाउ दुनियाँ
तिम्रो मन मतिर उड्यो होला
मेरो मन तिमीतिर उड्दैछ
हावाको पछि लागेर उडाउनेले उडाउलान् हामीलाई
तर केही हुने छैन ।
आऊ तिमी र म अर्कै संसारमा उडौँ
राइट दाजुभाइले प्लेन उडाए
श्री कृष्णले सोह्र हजार गोपिनी उडाए,
उसले फूलमायालाई उडायो
उसलाई अब गाउलेले हा.. हा.. मा उडाउने छन् ।
यता कान्छोले पुतली उडाउँदा,
उता साइलोले चङ्गा उडाएछ ।
अन्तरिक्षमा रकेट उडेको मौका छोपी
हाम्रा नेताले बजेट उडाइदिए छन् ।
यो उडाऊ दुनियाँमा
आऊ, तिमी एकातिरबाट उड,
म अर्काेतिरबाट उडुँला ।
उडुसले टोकेको कुखुराजस्तै भएर उडँुला ।
उड्नै परे घिरौंला जत्रै नाक बनाएर उडुँला ।
अनि चराले छुन नसक्ने घर ठड्याएर उडुँला ।
यहाँँ चाहे हनुमानले द्रोणाचल पर्वत उडाऊन्,
चाहे पशुपतिका बाँदरले पूजाथाली उडाऊन्,
याद गर्नुस्
पण्डितले भेटी उडाएको कल्पनामा तपार्इँ उड्दा,
पछाडिबाट तपाईंको पकेट उडिसकेको हुन्छ ।
अगाडिको बासि भातबाट एक थाल झिंगा उडिसकेको हुन्छ ।
तैपनि, बासि भातलाई दुई गाँसमै उडाउन सक्नुहुन्छ तपाईं ।
छोरालाई अमेरिका उडाए ।
छोरीलाई लुत्रेले उडायो ।
यहाँ सक्नेलाई बोलीले उडाइदिन्छन्,
नसक्नेलाई गोलीले उडाइदिन्छन् ।
बेलुन फुकेर उडाउन नसक्नेले
सिधासादा बाबु आमालाई हावामा उडाइदिन्छन् ।
धुलो उडेको सडकमा धुवा उडाउँछन् ।
अर्काको छोरी उडाउँदा आफ्नो सर्वस्व उडाउँछन् ।
पहिले धामीझाँक्रीले मन्त्रले, पहाड उडाइदिन्थे रे
अहिलेका धामीझाँक्रीले बिरामी तरुनी उडाइदिन्छन्
नभए बिरामीका कुरुवा दिदीबहिनी उडाइदिन्छन् ।
यो उडाउ दुनियाँमा,
सबै आफ्नै संसारमा उडिरहेछन् ।
त्रिपिटक उड्यो, बाइबल उड्यो, कुरान उड्यो, पुराण उड्यो ।
अनुशासन उड्यो, नीति नियम उड्यो, आदरसम्मान उड्यो ।
मन उडाएर आँखा नचाउनेले सुन,
केही हुने छैन अब, जिन्दगी नै उडाए पनि ।
जाऊ, तिमी घरमा बरु
बिरालोले कुँडेको दूध उडाइसक्यो होला,
आफैंलाई उडाएर किन बस्छौ यहाँ ।
चारघरे, नुवाकोट
Subscribe
Login
0 Comments
Oldest







































