सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

Untitled

Nepal Telecom ad

मरन फेरिएको छ
चरन फेरिएको छ
अस्ति भर्खरको इतिहास
इरेजरले मेटेर सफाचट
अर्के किरिङमिरिङ केरिएको छ
आँखै बिझाउने गरी
शिरानमा लेखिएको छ–
वा… लोकतन्त्र, क्या लोकतन्त्र !!

गाडी गुड्ने तेल छैन, पकाइखाने सेल छैन
दलदलभित्र नेताहरूको आपसमै मेल छैन
सिद्धान्त सबै पोली खाए, उसले उसको खुट्टो समाए
तिल्के आए, छिर्के लाए, मिडियामै छादे अनि छदाए
कसले भन्छ जालझेल छैन,
देख्दा कहाँ ठेलमठेल छैन,
जसले हान्यो उसले जान्यो, चानचुने यो खेल छैन
वा… लोकतन्त्र, क्या लोकतन्त्र !!

आउँछ चुनाव– गतिला गतिला गफ हुन्छ
गफै गफमा दाह्रा धुन्छ, आकाशको तारा छुन्छ
जित्ने हार्ने, हार्ने जित्ने उल्टोपाल्टो
होक्राँ गर्ने उत्तानो टाङ लाउँछ
जित्ने लठुवा गन्धे मुख बाउँछ
सत्ता उसकै, भत्ता उसकै
एता कन्याउँछ, उता कन्याउँछ
आफन्त बटुली भाग लाउँछ
गरिब जनताका डोका पन्साउँदै
पद जोगाउन शक्तिकेन्द्रका ढोका धाउँछ
वा… लोकतन्त्र, क्या लोकतन्त्र !!

कस्तो दुर्मति ! हुर्मत लियो
कुर्सी समाउन ज्यान दियो
ऐरे गैरे, प्यारो खैरे
विधेयकका धारा खैरेका हातमा
लगाम फेर्दै भारती भैया
विदेशी रक्सी उसैका साथमा
ह्वीस्कीको चुस्कीले बढ्यो फियो
काँचका पर्दामा धमास दियो
वा… लोकतन्त्र, क्या लोकतन्त्र !!

हाई लोकतन्त्र, हो कि ठोकतन्त्र
कसैलाई धोकतन्त्र, कसैलाई भोकतन्त्र
रमिते दुनियाँ हेरिरेछ
हासोमय हाम्रो यो जोकतन्त्र !!

कलङ्की, काठमाडौं

लोकतन्त्र सन्दर्भका थप केही ठोकानहरु

००००००००००००००००००००००००
बद्रीप्रसाद दाहाल ‘भष्मासुर’ : खै उज्यालो कहाँ छ ?

धनराज गिरी : बिरामी छ लोकतन्त्र

आनन्द श्रेष्ठ : महाराज पो फरक ताज उही छ

जितु खड्का : सालिक र सपना

देवेन्द्र घिमिरे : लोकतन्त्रका नायकहरू

ईश्वर देवकोटा : सालिक पुज्नु कि मालिक !!

दुर्गाप्रसाद ग्वालटारे : लोकतन्त्रको नैबेत 

प्रकाश खनाल : आए जस्तो लाग्दैन खै !

विमल गिरी : देश, रोएको बेला
००००००००००००००००००००००००

 

 खै उज्यालो कहाँ छ ?

 बद्रीप्रसाद दाहाल ‘भष्मासुर’

दिवस कति मनायौ , खै उज्यालो कहाँ छ ?
विवस मन अध्यारा , खै उज्यालो कहाँ छ ।।
अझ पनि श्रम गर्ने , खै त उद्योगशाला ।
दिनदिन परदेशी , बन्नु पर्दैछ हाला ।। १।।

चरम नरम बोली , काम केही हुँदैन ।
जनमन कति रुन्छन् , क्यै गरे नि छुदैन ।।
सररर कति मीठो , भाषणै मात्र चल्छ ।
महगी र् घुसखोरी , जेठको घामझै छ ।। २।।

जतिजति कवि लेख्छन् , व्यन्जना काव्य तीखा ।
उतिउति अगुवाका ,मात्र जुम्रा र लीखा ।।
दिवस किन मनायौ , के छ औचित्य त्यस्को ।
जननयन सबैका , आशुले भन्छ यस्तो ?।।३।।

धन जन यशशाली , मात्र नेता भए\’छि ।
\’दिवस\’ विवस बन्छन् , लोकतन्त्रै मरे\’छि ।।
किन दिवस मनायौ ? के भयो क्रान्ति हाम्रो ? ।
गुन अब जनता हो , रात उस्तै नराम्रो ।। ४।।

शिखर चुमिसकेका , तुच्छ — सामन्त नेता ।
शिरतिर कर सुर्की , फोउ खोक्रो छ फेटा ।।
दिवस तब मनाऔ , हुन्छ जो नव्य क्रान्ति ।
विवस मन — मुटुमा , यो त हो अन्ध भ्रान्ति ।। ५।।
धादिङवेंसी

000

 

बिरामी छ लोकतन्त्र
: धनराज गिरी

जलायौ खरानी भयो लोकतन्त्र
गयो रे गयो रे गयो लोकतन्त्र ।

थियो आश धेरै थियो प्यास धेरै
अभागी सधैं नै रह्यो लोकतन्त्र ।

बजाए सजाए उनै ठाकुरेले
बनी आँसु खाली बह्यो लोकतन्त्र ।

न लेखौं न लेखौं भनी मौन बस्थें
भुलेरै नभुल्ने छ यो लोकतन्त्र ।

बिरामी छ धेरै ल है घाट जाला
बचाएर राखूँ म यो लोकतन्त्र ।
चितवन

000

महाराज पो फरक ताज उही छ
: आनन्द श्रेष्ठ

तन्त्र जे भए नि राज उही छ
हिजो जे भयो त्यो आज उही छ ।

‘माथि’ जो गयो त्यो माथि नै रह्यो
तल हुने को पो लाज उही छ ।

भत्काउने बनाउने कस्तो चलन हो !
मेरो राजधानीको काज उही छ ।

कति धुन्छौ त्यही फोहर राजनीति
जति धोए पनि गाज उही छ ।

राजा हटे पनि फरक के भो र !
महाराज पो फरक ताज उही छ ।

काठमाडौं

000

सालिक र सपना
: जितु खड्का

खोलो तर्न
हिजै मात्र हो त्यो
विनयी उत्तिसको रुख ढालेको
अस्ति मात्र हो
त्यो कोमल लहरे पीपल फालेको
त्यसलाई तिमीले अगाडि
र मैले पछाडि बोकेर
सपनाको गीत गाएको !

तर खोइ ?
हाम्रै रगत पसिनाबाट बनेको
त्यो सपनाको डुङ्गाबाट
हाम्रा दुःखहरू तर्न सकेका ?
सपनाका फूलहरू फुल्न सकेका ?

हामी सबै मिली बालेको होइन त्यो एकताको आगो ?
हामी सबै मिली रोपेको होइन त्यो वीरताको सालिक ?
खोइ त्यसलाई एक झुल्को घाम ?
खोइ कहिले फुल्ने हो एक थुँगा फूल ?

हालै प्रकाशित कृति ‘जेब्राक्रसको जून’ बाट

000

आएजस्तो लाग्दैन खै !
: प्रकाश खनाल

अझै लोकतन्त्र आएजस्तो लाग्दैन खै
पिडितले न्याय पाएजस्तो लाग्दैन खै !

जनताको हकहितमा हुनुपर्ने लोकतन्त्र
सबै नेपालीले चाहेजस्तो लाग्दैन खै !

जनताकै आन्दोलनले लोकतन्त्र ल्याएपनि,
सबैको मनमा खुशि छाएजस्तो लाग्दैन खै !

अग्रगामी परिवर्तन ल्याउछ भन्थे लोकतन्त्रले,
परिवर्तनको किरण कतै उदाएजस्तो लाग्दैन खै !

अर्घाखाँची

000

लोकतन्त्रका नायकहरू
: देवेन्द्र घिमिरे

लोकतन्त्रका नायकहरू
सुकिलामुकिला पद लिनेहरू
मैलाधैला देखिन भएन
अग्ला सम्मानित ती गला
आफ्नै हातले रेटिन भएन
हजूरहरूलाई के भनौ र खै ?
बदनामी गाथाहरू लेखिन भएन ?
बुटवल

000

सालिक पुज्नु कि मालिक !!
: ईश्वर देवकोटा

एकै दिन जन्मिएका हामि
यही लोकतन्त्रमा
उनी यो युग परिवर्तनको
पहिलो सहिद
…आज सालिक बने !!
दिल बहादुरले
अरु के पाए कुन्नि
उनकै रगतमा कुल्चिनेहरू
यहि लोकतन्त्रमा
यो युग परिवर्तनको
आज मालिक बने !!
…अझै अन्योल मा छु म
यो लोकतन्त्र दिवसमा
सालिक पुज्नु कि मालिक !!

गोरखा

000

लोकतन्त्रको नैबेत
: दुर्गाप्रसाद ग्वालटारे

गोली खाने फिस्स उडे बोली खाने नेता
नेता हरूकै लुट्ने आधार हरी खाने केटा
क्वैले छोडे गाउँघर क्वैले छोडे जेथा
लोकतन्त्रको नैबेत हाम्ले यस्तै चाहेको हो त ?

सिन्धुली

000

देश, रोएको बेला
: विमल गिरी

लुटतन्त्रले,तमाम उजाड आँखा, धोएको बेला
गरिबीले मुलुकमा भित्र देखिनै, छोएको बेला
संकल्प खोइरुसमयले पर हुत्याउदै लगिरहेछ
खै ! कसरी मनाउ लोकतन्त्र देश, रोएको बेला ।

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad