साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब त म नगरबासी

Nepal Telecom ad

(सन्दर्भ : थप नगरपालिका घोषणा भएको उपलक्ष्य)

‘गर’ को उल्टो नगर हो । गाउँको उल्टो नगर पनि हो । खै गर्दै नगर्ने भा’को भ’र नगर भन्या हुन् कि, साँच्चै बजार बसेर हजार कमाउन सकिने भएर नगर भन्या हुन् थाहा छैन । गाउँ मिलाएर शहर हुने भए कति गाउँ शहर बन्थे होलान् तर सरकारलाई त्यसको के सरोकार न दरकार, कापिमा केरकार गरेर नगरपालिका घोषणा गरिदिएछ ।
हो म अब नगरबासी भएको छु । अब त साँच्चै भन्ने हो भने एक पल्ट पनि शहरको मुख नदेखेकाहरू पनि नगरबासीको सुबिधा पाएका छन् भन्दा अचम्म मान्नु पर्ने कुनै कारण नै छैन । म पुराना गाविस अध्यक्षको राजनीतिक हैसियत देखेर बिचलित भा’को छु । अब आउने स्थानिय चुनावमा गाविस अध्यक्ष पड्काउँला भन्नेले वडा अध्यक्षको हैसियतमा पुग्ने अवस्था आएछ । अझ त्यसो त गाविसमा बसेर बृद्धभत्ता खाएका गाविस सचिव अब वडा अध्यक्षको हैसियतमा पुगेपछि यही सहरको चोकमा बसेर बोत्तलको के के थोक खाएको मैले देखेकै छु ।

मैले अघि नै भनि सकें म नगरबासी हुँ, सहर सँधै बासी हुन्छ, यो कहिले ताजा हुँदैन, हिजोको मदिराको ह्याङ् बोकेर हिँड्छ प्रत्येक सहर अनि यो कसरी ताजा बनोस् ? यौटा ग्राहकलाई दोब्र्याउन नपाएको झोकमा अर्को ग्राहकलाई दोब्र्याउने बासी रहर पालेर बस्ने पनि नगर नै । थुक्क सहर, यो सहर हो जहाँ अनौठा घटना दिनहुँ घट्ने गर्छन् । यो सहर हो जहाँ यौटा कोठामा एक जना भोकै पर्दा त्यहि घरको अर्को कोठामा उन्माद र उमङ्गले सयौं जना पार्टी खाएर डकारी रहेका हुन्छन् । यो सहर हो जहाँ यौटा कोठामा मान्छे मरेर मलामी नपाउँदा सँगैको अर्को कोठामा विवाहोत्सव चलेको हुन्छ, अनि म सोच्छु यत्रा बिधि समस्या सिर्जना गर्ने ठाउँ सभ्यताको सहर कसरी भयो ? तर जे होस् मेरो गाउँ नगरपालिकाभित्र परेको छ ।

नगरपालिका भएपछि नगरबासी भएपछि सबै चिज ताजा पाउनु पर्ने हो तर यहाँ तरकारी ताजा पाइन्छ पाईन्न तपाईंलाई नै थाहा छ नि । पाउरोटी ताजा हिजोको आज भनेर हिँड्नेहरू पनि यहाँ प्रशस्त देख्न सकिन्छ । हिजोको भाषण नवीकरण गरेर यौटा ठाउँबाट अर्को ठाँउमा उराल्दै हिँड्नेहरूलाई भाषण ताजा हो या नयाँ सहजै अनुमान गर्न सकिन्छ । अनि यो सहरबासीहरू ताजा भए कि बासी तपाईंनै भन्नुस् न ।

नगरपालिका बनेदेखि म बिहान बेलुका तालुमा हात लगाएर बसेको छु । जुन दिन यो गाउँ नगरपालिका भयो त्यहि दिनदेखि यहाँ बिजुलीले लुकामारी खेल्न थालिसकेको छ । सम्भवत तपाईले यो लेख पढ्दै गर्दा टुकीको उज्यालोमा पढ्दै गरेको पनि हुन सक्नुहुने छ । जहाँ सहरी विकासको कुनै योजना नै छैन, अव्यवस्थित बस्ति विकासको चपेटा लपेटेर पछि घर भत्काउन सक्ने गरि दिइएका उधारा आश्वासनहरूमा यहाँका जनता बासी भाषण गर्ने नेताका पछि लागेर हरिलठ्ठक भएको कसलाई के चासो ? तर पनि नगरपालिका घोषणा भएको उपलक्ष्यमा नाकलाई मुङ्ग्रे केरा जत्रो बनाएर हाम्रा सहरबासी मख्ख परेकै छन् ।

जब यो शहर नगरपालिका भयो तब यो शहरमा घरका धाराले आन्दोलन गरे, बाल्टी, गाग्री बोकेर छिमेकी गाउँ धाउनु यहाँको दैनन्दिनी बनेपछि यो सहर नगरपालिका हुनुको औचित्य पुष्टिँदै गा’को छ । घटिदे गाँड भन्दा पनि थपिदे गाँड भन्या झैं, कर तिर्न नसक्नेहरू अब करको करलाग्दीमा पर्दा कसले के उद्दार गर्ला र ? यत्रा बिघ्न कर ला’को देख्दा अब म घरको भैंसीको मूल्य बढ्ने देखेर मख्ख थिए तर बेच्दा वा किन्दा कर तिर्नु पर्ने त हैन, म सोचमग्न छु ।

गाउँका खरबारी अब घरबारी बन्ने रे, अब भूमि सुधार होला नहोला क्रान्तिकारी भुँडीसुधार चाहिँ अवश्य हुने भो, ढल निकासका समस्या समाधान होलान् नहोलान् दल विकास चाहिँ अवश्यै हुन्छन् । गाउँमा मस्र्याङ्दीको बालुवा चालेर ज्यान पाल्ने एक जना कामदारले मलाई सोधे– के मैले पनि बालुवा चालेर परिवार पालेको कर तिर्नु पर्छ । मैले उनलाई भनि दिएँ– दाई यो सहर हो यहाँ जे पनि सम्भव छ, आखिर नगरपालिकाको केन्द्र तोक्न नसक्नेहरू र पहिलाको सदरमुकाम मात्र विकास हुनुु पर्छ, पहिला आफ्नो घर सहरमा भएकै कारण आसपासका मिलेका गाविसमा नगरपालिकाको केन्द्र तोक्न नसक्ने विकास विरोधी हुतिहारा भएको यो सहरमा चार पार्टीको सिण्डिकेट चल्यो भने जनताको गाउँसम्म विकास लग्ने चाहना कसरी पुरा हुन सक्छ ? तिनै बालुवा बोक्ने दाइको कथन थियो । मैले उनलाई भनेँ यी चार पार्टीका ठुल्टाउके नेताको घर सदरमुकाममा भएकोले सदरमुकाम बाहेकका गाउँमा यिनले नगरपालिकाको केन्द्र लान नदिएका हुन् । अनि भरिया दाइले राँक्किदै भने– के तिनलाई अब आसपासको गाउँमा विकास गर्नु पर्दैन, आसपासको गाउँको भोट चाहिन्न ? कति सँधै बत्ति मुनिको अँध्यारोमा बस्ने ? खै यो प्रश्नको उत्तर मेरो ठाउँबाट दिन सक्ने हैसियत म राख्दिन तर म नगरपालिका बासी भएकोमा छक्क परिरहेको छु । लौन बताईदिनुस् तपाईंको नगरपालिकाको केन्द्र कहाँ हो र के यौटै ठाउँले मात्र विकास हुनु पर्दैन, शक्ति पृथकीकरण र विकेन्द्रीकरणको नारा लगाउनेलाई पनि थाहा होला किन नगरपालिकाको केन्द्रलाई केन्द्रीकरण गरिंदैछ ? जदौ ।

लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x