विश्व विनोदफुल पार्ने श्रीमती
अजब नेपालको गज्जब आइडिया हुन सक्छ तपाईंकी श्रीमती फुल पार्ने भए । जमाना महंगीको छ । महंगीले पहाड बनाउँदा तपार्इंको हाड र ढाड दुबै देखिएको हुन सक्छ, कन्पारा सेकिएको हुन सक्छ, तर चिन्ता लिनु पर्दैन तपाईंसँग फुल पार्ने श्रीमती भए मज्जाले महंगीको जमानामा चल्न सकिन्छ । हुन त मैले यौटा प्रस्ताव न गरेको हुँ, तपाई मेरो बिचारसँग सहमत हुनु पर्छ भन्ने त छैन तर फुल पार्ने श्रीमती भए कस्तो होला यसो कल्पना गर्नुहोस् त ?
तपाई हुतिहारा भएर के भो वैज्ञानिक बाजेहरूले मान्छे र कुखुराको क्लोनिङ गर्ने हो भने यो सम्भव हुन्छ । चट्ट फुल पार्दियो भैगो । यत्रा बिधि प्रविधि बनाउने दिमाग विज्ञानमा खन्याउनेहरूले कपाल कन्याएकै भरमा यस्ती श्रीमती बनाउन सके भने विज्ञानले फड्को मार्ने हैन महंगीको सातो झार्न सकिन्थ्यो कि ? पोषणको कुराले दिमाग शोषण गरेको बेला दिनदिनै मान्छेले नै फुल पादिर्ने भए जीवनको मूल्य ब्रोइलर कुखुरा भन्दा अलिक महङ्गो पर्न जान्थ्यो कि ? यस्तो भएमा फाईदा मात्र हैन बकाईदा हुन्थ्यो । कुपोषणले ग्रसित र त्रसित समुदायलाई फुलको उच्च आपूर्तिले विदेशी कुखुराका अण्डा स्वदेश झिकाउन पर्थेन । अनि बर्डफ्लुको समस्या पनि देशले झेल्न पर्थेन ।
यहाँ जीवनको लागि लडाईं चल्छ, भु्रण हत्याको कुरा चल्छ, यदि श्रीमतीहरूले फुल मार्फत बच्चा जन्माउने भए कति सजिलो हुन्थ्यो, त्यति बिधि ठूल्ठूला मेसिनको आवश्यकता पनि पर्थेन होला भिडियो एकसरे अनि दुईसरे गर्नलाई । नौ महिनासम्म बच्चा गर्भमा बोकेर गर्व गर्नुको झन्झटबाट छुटकारा पाउन पनि फुल पार्ने श्रीमतीको फाईदा हुनसक्छ । छिटो छरितोको यो जमानामा कहाँ पुटुक्क परेको घ्याम्पे पेट बोकेर हिँड्नु भन्दा चुटुक्क परेको सुलुत्त परेको पेट लिएर हिँड्दा कुन फरक र सहज होला लौ न भनिदिनुस् न । अझ यसो भैदिने भए महिलालाई महिनावारीको समस्या पनि आउने थिएन । वाह यस्तो भएमा देशको अर्थतन्त्र उकालो लाग्थ्यो किन थाहा छ ? कुरा के भने नि महिलाले प्याड किनेर पुरुषको पैसाको ब्याड नै रित्याएका छन् । विदेशी प्याड किन्न नपरे पछि पैसा त स्वदेशमै रहने भयो । यसरी अर्थतन्त्र उकालो लाग्थ्यो, गरिबी भाग्थ्यो ।
जमाना महिला अधिकारको, जमाना समान अधिकारको पनि हो । कति महिलाले पुरुषले बच्चा पाए पो मज्जा हुन्थ्यो भन्ने चाहना होला, तर नआत्तिनुस् यदि यो प्रविधि आयो भने पुरुषले पनि महिलाको काम गरेर बच्चा कोरलेर बस्थे होलान् । समान अधिकारको प्रयोग हुँदा नारी समानताको देश भनेर देशमा दश थरि चेतनाका काम गर्न नै पर्थेन । अझ कर्मचारीले बच्चा कोरल्ने भए भने देशलाई पनि फाईदा पुग्थ्यो, कर्मचारीले सुत्केरी बिदा पाउँदा कार्य सुस्तता भएको बेला फुल पार्ने श्रीमतीको कारण चुस्तता आउँथ्यो । कर्मचारीलाई सुत्केरी बिदा दिनु पर्ने सिधा कुरा हट्थ्यो । सुत्केरी भत्ता पनि दिनु पर्थेन ।
फुल भए अम्लेट पनि बनाउन मिल्ने, टोस्ट पनि बनाउन मिल्ने । बहुमुखी गुणको फुलले जिन्दगी सार्थक हुन्थ्यो । फुल पार्ने हो भने बिचरा प्रसवपीडाबाट महिलाले मुक्ति पनि पाउने थिए । न त अस्पतालका बेडमा जानु पथ्र्यो न त पाठेघर झर्ने समस्याबाट गुज्रिन पथ्र्यो । दिनदिनै फुल पार्ने श्रीमतीलाई कमसेकम पुरुषले आर्थिक उपार्जनको दृष्टिले हेर्थे होलान् अनि सधैं माया पाउने गर्थे होलान् । फुल पार्ने बेलामा केही समय भए पनि ती महिलाले थकाई मार्ने मौका पाउने थिए । पुरुष ओथारो बस्ने थियो । पुरुषको पनि सन्तान उत्पादन प्रक्रियामा सक्रियता बढ्ने थियो । दैनिक श्रीमान्को कुटाई खाने महिलालाई अझ यो समस्याबाट मुक्ति मिल्ने जुक्ति हो । कुट्दा फुल फुट्ने डरले पनि श्रीमती नकुट्ने प्यारा श्रीमानको सङ्ख्या बढाउन पनि फुल पार्ने श्रीमती हुनुको काइदा छ । तपाईंका छोरा नाति वैज्ञानिक बन्ने रहरमा छन् भने ब्रह्मालाई पनि चुनौति दिएर महिला मुक्तिको आन्दोलनमा सघाउ पुर्याउन सकिन्छ । हैन त ? जदौ
लमजुङ
Subscribe
Login
0 Comments
Oldest









































