टिपनटापनचुनावी ठट्टा
चुनावमा विदेशी चलखेल र उच्च नगद प्रवाह (Cash Flow) हुने एउटा सानो उदाहरण ।
२०५६ सालको संसदीय चुनावमा एकजना व्यक्ति २ हजार मतदाता भएको १ सिटे चीसो जिल्लाबाट चुनाव लड्ने तयारीको सिलसिलामा अन्तिम दिन उम्मेदवारी दर्ता गर्न बिहानै हिंडेका थिए । बाटामा बलियो प्रतिद्वन्द्वीसँग जम्काभेट भएछ ।
प्रतिद्वन्द्वीले ‘ओहो माइला, समय छँदैछ नि, केको हतार ? म पनि सँगै जाउँला । अहिले एउटा जरुरी सल्लाह गर्नु छ यता आइज त ।’ भनेर उसको हात तान्दै नजिकैको मार्फा हुटेलको स्पेसल कोठामा लगेछ र कुरा यसरी थालेछ–
प्रतिद्वन्द्वी– २ हजार मतदातामा तँलाई भोट दिने ५ सय पनि छैनन् । किन दुख गर्छस् ?
उम्मेद्वार– त्यो ता हो, तर चुनावमा यस्तै हुन्छ भनेर कसले भन्न सक्छ र ? म त लड्छु ।
प्रतिद्वन्द्वी– लड् लड् । भीरबाट लडे पनि हुन्छ, भरेङबाट लडे पनि हुन्छ । चुनाव चैं नलड ।
उम्मेद्वार– नाईं नाईं । पार्टीबाट बल्ल बल्ल टिकट पाको छु, त्यसै त छोड्दै छोड्दिन है ।
प्रतिद्वन्द्वी– त्यसै छोड भनेकै छैन नि । १ भोटको रु. १ हजारको दरले ५ सय भोटको रु. ५ लाख अहिल्ये लैजा अनि त्यही रुप्पेंले ५ वर्षसम्म मार्फा र सुकुटी खाएर मस्ती गरेर बस ।’
त्यो उम्मेद्वारले प्रतिद्वन्दीले दिएको पोको फुकाएर हेर्यो, बैंकको सिल लागेको हजार हजारका सयसय वटा नोटका पूरै ५ बण्डल थियो । उम्मेदवारको प्रस्तावक र समर्थक बन्न उसँगै आएका नेप्टे र चेप्टेलाई पनि प्रतिद्वन्द्वीले ‘ला लैजा तिमेरको भाग ।’ भनेर एक एक बण्डल नोट हातमा थमाइदियो र ‘अब कसैले गडबड गर्ने होइन । गरे तिमेरको लाश कालीगण्डकीमा बगाइने छ । कतै नजानू, आज रातभर यहीं बस्नू र जे जति मन लाग्छ खानू पिउनू । सबै खर्च मेरो खातामा जोड्नू । भोलि जति बेला मन लाग्छ त्यति बेला अपहरणमा परेकाले उम्मेद्वारी दर्ता गर्न पाइएन भनेर विज्ञप्ति जारी गर्नू । बुझ्यौ सबैले ?’ भनेर प्रतिद्वन्दी आफ्नो बाटो लाग्यो ।
भोलिपल्ट दिउँसो उम्मेद्वार अपहरणमा परेको विज्ञप्ति र साँझ ७/८ बजेतिर प्रतिद्वन्द्वी निर्विरोध निर्वाचित भएको समाचार आयो ।
(महेश्वर श्रेष्ठको फेसबुक स्टाटसबाट)
Subscribe
Login
0 Comments
Oldest




































