साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विचित्र–वाहिनी (हास्य) कविताको समीक्षा

Nepal Telecom ad

‘लालित्य’ (१९६९)१ मा प्रकाशित कविशिरोमणि लेखनाथ पौड्यालका पाँचओटा कवितामध्ये तेस्रो कविता हो– ‘विचित्र–वाहिनी’ । अनुष्टुप् छन्दमा रचिएको यस कविताले समाजको सशक्त शोषकवर्गको प्रतीक लामखुट्टेहरूको तीब्र आक्रमणलाई सेनाको अनौठो हमलाका रूपमा हास्यव्यङ्ग्यको विचित्र शैलीको प्रयोग गरेर चित्रण गरेको छ । तात्कालिक नैतिक, आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा व्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार, दुराचार, विकृति र विसङ्गतिप्रति दरो दनक दिनु हास्यव्यङ्ग्यको धर्म हो भने उपर्युक्त विभिन्न क्षेत्रमा देखापर्ने विकृति र विसङ्गतिपूर्ण परिस्थितिप्रति प्रबल प्रहार गर्ने प्रस्तुत कविताबाट कवि लेखनाथको शदालङ्कार–शक्ति विकसित हुन लागेको र अर्थालङ्कारको चमत्कार पनि हुर्कन थालेको थाहा हु्न्छ ।
हास्यव्यङ्ग्यको प्रभावशाली माध्यम अँगाली कवितालाई रोचक, घोचक र पोषक तत्व प्रदान गर्नु र समष्टिमा नैतिक चेतना उमार्नु यस कविताको विशिष्टता हो भने राणाकालीन शोषणका साथै भारतीय जीवनमा औपनिवेशिक शोषणको झझल्को दिँदै कुनै पनि प्रकारको शोषण र उत्पीडन सह्य हुन नसक्ने कुराको शाश्वत सन्देश दिनु नै यस कविताको मूल मर्म र धर्म पनि हो ।
यस टिप्पणीको पुष्टिका निम्ति ‘विचित्र–वाहिनी’ कविताका निम्नलिखित पद्य–पङ्क्ति समर्थ देखिन्छन्–

डेरालाई दिई घेरा, जबर्जस्ती सबै पसे ।
जायजात लिनलाई आएका फौजझैँ बसे ।।
यता हाने उता जाने, कानैमा फेरि नाचने ।
नहाने रगतै खाने कसरी हो नि बाँचने ।।

कोही भोका परी पोका धोका खाएर रोकिए ।
देखाई झोँक ढोकाका चाकडीवालझैँ गए ।।
त्यस्ले झन्झन् रिसाएर खैलाबैला गरी ठुलो ।
गर्न थाले जबर्जस्ती धैर्य मेरो भयो धुलो ।।

ममाथि हमला गर्ने सुरले दुष्ट दुस्मन ।
टाँटीँ–टाँटीँ गरी थाले मानूँ विगुल फुकन ।।
आत्तियो चित्त चौपट्ट छट्टपट्ट विछट्ट भो ।
निष्पट्ट कालो त्यो रात्री दुःखको घोर घट्ट भो ।।

दुष्टको धुइरो लम्बा पुसको कुहिरो सरि ।
झ्यालैबाट घुस्यो भित्र, विचित्र रमिता गरी ।।
भतेर खाई फालेका टपरीमा बडा छुचा ।
कागझैँ खल्बलाएर धस्न थाले कडा चुचा ।।

लगाई छातीमा लाती तीखा दाह्रा धसी अति ।
चुसी–चुसी पिए सारा रक्त धारा मिले जति ।।
निका– निका रसिकको मन रञ्जन पारन ।
हास्य भास पारेर लेखेँ यो वाहिनीकन ।।५०।।
– ‘लालित्य’ (१९६९) बाट
हास्यको अडेस लाएर विभिन्न सन्दर्भमा व्यङ्ग्य गर्ने शक्तिसँगै सामाजिक, आर्थिक, राजनीतिक तथा व्यक्तिप्रति गरिने शोषण–प्रवृत्तिको पर्यवेक्षण गर्ने नवीन परम्पराको थलनी पनि यस कविताले गरेको पाइन्छ । हेर्दा सामान्य लाग्ने समाजका जटिल समस्यालाई सहज शैलीमा सम्प्रेषण गर्दै विश्वसनीय विषय तुल्याउन सक्नु र हास्य–व्यङ्ग्य शैली अँगाली विभिन्न पक्षका विकृति–विसङ्गतिप्रति प्रखर प्रहार गर्ने प्रवृत्तिप्रति आस्था र आकर्षण प्रस्तुत गर्नुमा नै यस कवितामार्फत कवि लेखाथको सामथ्र्य देखापर्छ । रोचक ढङ्गमा नैतिक सन्देश सम्प्रेषण गर्नु यस कविताको प्रमुख विशेषता हो ।
पचास श्लोकमा संरचित तथा विस्तारित प्रस्तुत ‘विचित्र–वाहिनी’ लामो कविताले “जीवनमा सुख थोरै छ तर दुःख धेरै छ । कसैलाई दुःख दिनु, कसैको कुभलो गर्नु वा प्राण लिनु हिंसा हो । हिंसाभन्दा ठूलो पाप अरू छैन । अहिंसा सबभन्दा ठूलो धर्म हो ।”२ भन्ने बुद्धको उपदेश पनि समष्टिमा दिएको पाइन्छ । प्रश्नोत्तर ढाँचामा रचिएको प्रस्तुत कविता मनोरञ्जनका निम्ति हास्यको आभास दिन लेखिएको भए तापनि ‘अहिंसा परमोधर्म’ को नैतिक सन्देश दिनु नै यस कविताको समष्टिगत उद्देश्य हो र यही नै यसको उल्लेखनीय उपलब्धि पनि हो ।
लेखनाथले यस कविताको बीज ‘हितोपदेश–मित्रलाभ’ बाट प्राप्त गरेको देखिन्छ । त्यसमा के भनिएको छ भने लामखुट्टे पहिले गोडामा आएर बस्छ, त्यसपछि पछाडि गएर रगत–मासु खान्छ, अनि कानमा आएर मीठो, अनौठो वा विचित्र ध्वनि निकाली कराउँदै विस्तारै घुम्छ र छिद्र देखेपछि कुनै सङ्कोच नमानीकन अकस्मात् भित्र घुस्छ, यसै प्रकारले सबै दुर्जनहरू यही चरित्रको प्रदर्शन गर्दछन् ।३

सन्दर्भ–सामग्री
१. पौड्याल लेखनाथ र चालिसे चक्रपाणि, राममणि आ.दी(सम्पा.), बनारस : गोरखाग्रन्थ प्रचारक मण्डली, १९६९ ।
२. बुद्ध गौतम, “महात्मा बुद्धको उपदेश” भारती, वर्ष १, सङ्ख्या र माघ २००६ ।
३. पाक् पादयो : पतति, खादति पृष्ठमांसं
कर्णे कलं किमपि रौति शनैर्विचित्रम् ।
छिद्रं निरुप्य सहसा प्रविशत्यशङ्ग
सर्वं खलस्य चरितं मशकः करोति ।।८२।।
—रेग्मी शेषराज शर्मा (ब्या.) हितोपदेश–मित्रलाभ, पञ्चम सं. नारायण पण्डित विरचित, वाराणसी
चौखम्बा सुरभारती प्रकाशन, १९८९।
(फित्कौली अङ्क १० बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
राम्रो म 

राम्रो म 

डा. बमबहादुर जिताली
छन्द छानेर हान्छु

छन्द छानेर हान्छु

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x