साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्या पुरस्कार र सम्मान अर्पण

Nepal Telecom ad

साहित्य सन्ध्याको ३४१ औँ कार्यक्रम भदौ १४ गते शनिवार राजधानीमा ‘वार्षिक कार्यक्रम तथा पुरस्कार अर्पण’ विशेष समारोहका रूपमा सम्पन्न भयो । समारोहका प्रमुख अतिथि हुनुहुन्थ्यो प्रगतिवादी वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित । साहित्य सन्ध्याका कार्यवाहक अध्यक्ष रमेश पोखरेलको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न समारोहका विशिष्ट अतिथि साहित्यकार एवम् नेकपा एमाले सचिव प्रदीप ज्ञवाली उपस्थित हुनु हुन्थ्यो । अतिथिका रूपमा साहित्यकार भागीरथी श्रेष्ठ, सुमिना राना मगर, वरिष्ठ अधिवक्ता एवम् सभासद् अग्नि खरेल, सञ्चारकर्मी तीर्थ कोइराला, साहित्यकार नरनाथ लुइँटेल, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, महासङ्घका महासचिव राजेश थापा, साहित्यकार तथा चिन्तक विष्णु प्रभात, गीता केशरी, माया ठकुरी, प्रा.डा.महादेव अवस्थी, जन गायक रामकृष्ण दुवाल उपस्थित हुनु हुन्थ्यो ।

उपस्थित सबै विशिष्ट व्यक्तित्वलाई साहित्य सन्ध्याका सचिव देवी नेपालले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको शुभारम्भ प्रजिसा सत्याल, प्रलिसा अधिकारी र सामिप्य पुडासैनीले राष्ट्रगान गाएर भएको थियो । साहित्य सन्ध्याको कार्य समितिले २०७० सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मानबाट सम्मानित गर्ने स्रष्टा चयनका लागि प्रा.डा.जीवेन्द्र देव गिरीको संयोजकत्वमा साहित्यकारद्वय शान्ता मानवी र भागवत आचार्य रहेको स्रष्टा चयन समिति गठन गरेको र सो समितिले गरेको सिफारिसका आधारमा साहित्यकार भागीरथी श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरिएको थियो ।

सम्मानित स्रष्टा भागीरथी श्रेष्ठको व्यक्तित्वका बारेमा प्रकाश पार्दै स्रष्टा चयन समितिका सदस्य भागवत आचार्यले २००५ सालमा जन्मिएकी भागीरथी श्रेष्ठ मूलतः आख्यानकार भएकीले छ ओटा कथा सङ्ग्रह प्रकाशित भएका, दुइटा उपन्यास प्रकाशित भएका, तिन ओटा बालकथा सङ्ग्रह प्रकाशित भएको बताउनुभयो । उहाँले समाजको रूपान्तरणमा साहित्यले चेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मान्यता राखी साहित्य सिर्जना गर्दै आउनुभएकी श्रेष्ठलाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्न सिफारिस गरिएको धारणा राख्नु भयो ।

त्यसैगरी डा.लक्ष्मीकान्त मिश्रको व्यक्तित्वका बारेमा प्रकाश पार्दै डा.जया सत्यालले मिश्रले जीवनका चार दशकसम्म मानव जीवन रक्षाको कार्यमा आफूलाई समर्पित गर्नु भएको, सहप्राध्यापकसम्म भई प्राध्यापनको कार्य गर्नु भएकाले उहाँको त्याग, समर्पण र निष्ठाको सम्मान गर्दै ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’का लागि सिफारिस गरिएको धरणा राख्नु भएको थियो । त्यसै गरी आमा गुमाएकी निम्न वर्गका बाबुले लालनपालन गरेकी सुमिना राना मगरको शिक्षादीक्षामा सहयोग पुगोस्, उनको जीवन शिक्षाको उज्यालो घामबाट बञ्चित नहोस्, फुल्न, फल्न र मगमगाउन सकोस् भन्ने अभिप्रायले ‘साहित्य सन्ध्या–मन बाल प्रतिभा पुरस्कार तथा सम्मान’का लागि सिफारिस गरिएको जानकारी दिनु भयो ।

समारोहमा साहित्यकार भागीरथी श्रेष्ठलाई विशिष्ट अतिथि प्रदीप ज्ञवालीले माला लगाइ दिनु भयो भने प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले दोसल्ला ओडाउनु भयो र रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गर्नु भयो । त्यसै गरी डा.लक्ष्मीकान्त मिश्रलाई अर्पण गरिएको रु.५,०००।– राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ उहाँ अशक्त अवस्थाका कारण उपस्थित हुन नसक्नु भएकाले उहाँलाई पुर्याइ दिने गरी डा.जया सत्याललाई प्रदान गरियो । काभ्रेको कालिका प्रा.वि.मा कक्षा ४ मा अध्ययनरत सुमिना राना मगरलाई रु.५,०००।– राशिको ‘साहित्य सन्ध्या–मन बाल प्रतिभा पुरस्कार तथा सम्मान’ अर्पण गर्दै विशिष्ट अतिथिले माल्यार्पण गर्नु भयो भने प्रमुख अतिथिले दोसल्ला ओडाउनु भयो, सम्मान पत्र तथा पुरस्कार राशि प्रदान गर्नु भएको थियो ।

२०३९ साल पुस महिनाको २ गते काठमाडौँको नपाल ल क्याम्पसमा साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरण गर्ने स्पष्ट उद्देश्यका साथ साहित्य सन्ध्याको थालनी गर्ने वरिष्ठ अधिवक्ता तथा सभासद् एवम् नेकपा एमाले केन्द्रीय सदस्य अग्नि खरेल, वरिष्ठ सञ्चारकर्मी तीर्थ कोइराला र साहित्यकार नरनाथ लुइटेललाई ‘साहित्य सन्ध्या सम्मान’ प्रदान गर्दै विशिष्ट अतिथिले माल्यार्पण गर्नु भयो भने प्रमुख अतिथिले दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गर्नु भयो । साहित्य सन्ध्याको इतिहास निर्माता मध्येका डा.गोपाल सिवाकोटी ‘चिन्तन’ पोखरामा रहनु हुने भएका कारण उपस्थित हुन सक्नु भएन भने उच्च प्रशासक राम आचार्य सम्मान ग्रहण गर्न आइ पुग्नु भएन ।

समारोहमा सम्मानितहरू मध्येबाट नरनाथ लुइटेल र तीर्थ कोइरालाले कविता वाचन गर्नु भयो, साहित्य सन्ध्याका तर्फबाट देवी नेपालले ‘सलाद जस्तो देश’ शीर्षकको सुन्दर एवम् बेजोड कविता वाचन गर्नु भयो । वरिष्ठ गजलकार रामबहादुर पहाडीले मुक्तक वाचन गर्नु भयो भने सुन्दर स्वरकी धनी इन्दु अंशुले गजल वाचन गर्नु भएको थियो ।

साहित्य सन्ध्याको प्रकाशन ‘शब्द संयोजन साहित्यिक मासिक’को असार अङ्क भानु विशेषाङ्कमाथि प्रा.डा.जीवेन्द्र देव गिरीले समीक्षा गर्नु भएको थियो ।
सम्मानित व्यक्तित्वका तर्फबाट वरिष्ठ अधिवक्ता एवम् सभासद् अग्नि खरेलले २०३९ सालमा त्यतिखेर यो कार्यक्रम वा अभियानले यति लामो समयसम्म निरन्तरता पाउँछ भन्ने सोचिएको थिएन, १२ औँ सन्ध्यापछि आफू अलग भएर पेसामा गएको र एकै पटक २७५ औँ कार्यक्रममा सहभागी हुन सकेको; इतिहासको कुनै कालखण्डमा जोडिएको मात्र मान्छेलाई पनि सम्झना गरेर, इतिहास खोतल्दै सम्मान गरिएकोेमा संस्थालाई र संस्थामा योगदान गरि रहनु भएका अभियन्ताहरूलाई हार्दिक धन्यवाद दिनुभयो ।

अर्का सम्मानित व्यक्तित्व साहित्यकार भागीरथी श्रेष्ठले समाज रूपान्तरणको बलियो हतियार साहित्य हुन्छ, साहित्य सिर्जना गर्नु पर्छ भन्ने प्रेरणा डा.मोदनाथ प्रश्रितबाट पाएको बताउनुभयो । साहित्य सन्ध्याले प्रदान गरेको पुरस्कारले जनपक्षीय साहित्य सिर्जनामा आफूलाई थप प्रेरणा दिएको धारणा उहाँले राख्नु भयो ।

विशिष्ट अतिथि प्रदीप ज्ञवालीले ३२ वर्षदेखि अविच्छिन्न रूपमा नेपाली प्रगतिवादी साहित्यमा लामो, सार्थक र परिणाममुखी यात्रा तय गरेकोमा साहित्य सन्ध्यालाई नै बधाई दिनु हुँदै नेपाली समाजका किनारामा पु¥याइएका पात्रहरू विशेष गरी नारीका समस्या र पीडालाई जीवन्त रूपमा चित्रण गर्ने र सार्वजनिक गर्ने स्रष्टा भागीरथी श्रेष्ठलाई पुरस्कृत गरिएकोमा पनि बधाई ज्ञापन गर्नुभयो । उहाँले डा. मदन सत्याल र नर्मदेश्वरी सत्यालले मृत्युपछिका परम्परागत सामाजिक कर्म नगर्ने गरी कटौती गरी सो रकम समाजको उत्थानमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने कर्ममा खर्च गर्ने जुन निर्णय गरी पुरस्कारको अक्षय कोष स्थापना गर्नु भएको छ त्यो अत्यन्तै सराहनीय र अनुकरणीय छ भन्नुभयो ।

समारोहका प्रमुख अतिथि डा.मोदनाथ प्रश्रित जीवनको लामो कालखण्डदेखि परिचित रहनुभएका स्रष्टाहरू भागीरथी श्रेष्ठ, नरनाथ लुइँटेल, अग्नि खरेल, तीर्थ कोइराला अहिले पनि सामाजिक रूपान्तरण अभियानमा कुनै न कुनै ठाउँबाट योगदान गरि रहनु भएका व्यक्तित्व हुनु हुन्छ भन्नुभयो । साहित्य सन्ध्याले उहाँहरूले प्रतिकूल समयमा गर्नु भएको योगदानको सम्मान गरेको छ । इतिहासको सम्मान गर्ने यो अत्यन्तै राम्रो परम्परा रहेको बताउँदै सम्मानित सबैप्रति बधाइ ज्ञापन गर्नुभयो ।

समारोहको समापन गर्दै अध्यक्ष रमेश पोखरेलले काठमाडौँमा सोद्देश्यमूलक ढङ्गले सामाजिक रूपान्तरणकै लागि थालनी गरिएको सन्ध्याका संस्थापकहरू पाँच जनालाई सम्मान गरिएको र यो सम्मानको परम्पराले निरन्तरता पाइ रहने उल्लेख गर्नुभयो । साहित्य सन्ध्याको यसवर्षदेखि दुइटा पुरस्कार थपिएका छन्, समाजमा निस्वार्थ सेवा गर्नेहरू छानी छानी सम्मानित गर्दै जाने, असहाय बाल बालिकाको शिक्षामा समेत योगदान गर्ने लक्ष्य रहेको जानकारी दिँदै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिनुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x