साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्र प्रतिशतको थ्यौरी

Nepal Telecom ad

अन्ततः सत्र प्रतिशत कमिसनमा पशुपतिनाथ मन्दिरका आन्दोलनरत पुजारी भट्टहरू तथा पशुपति विकास कोषबीच यावत् कुराकानी मिलेकोमा मजस्तो कुनै पनि धर्म–वर्म नमान्नेलाई त अपार हर्ष लागिरहेको छ भने स्वयम्लाई शत–प्रतिशत धर्म–प्राण ठान्ने मनुवाहरूका के अवस्था होला ?

लामो समयदेखि पशुपतिनाथ मन्दिरमा परम भक्तिभावले चढाइने कुस्त नगद एवम् जिन्सीमाललाई लिएर त्यहाँका परम्परागत भट्ट पुजारीहरू र सम्पूर्ण व्यवस्थापकीय हेरचाह गर्ने अभिभारा पाएका पशुपति विकास कोषमा भीषण द्वन्द्वव चलिरहेको थियो । वस्तुतः यो कमिसनको लडाइँ थियो । विशेष पूजा गरेबापत मूलभट्ट र उनका चेला–चपाटी भट्टहरू कम्तीमा पनि पच्चीस प्रतिशत कमिसनको माग गरिरहेका थिए । यसमा पशुपति विकास कोषका पदाधिकारीहरूको पटक्कै सहमति थिएन । त्यसकारण कमिसनको संघर्ष चरममा पुगेको थियो । लगभग सवा महिनादेखि पशुपतिनाथ मन्दिर वरिपरिको वातावरण तनावपूर्ण थियो । कमिसनको सवालमा कुनै पक्ष अलिकति पनि झुक्न तत्पर थिएनन् । न त लाखौं तलबका साथसाथै अतिरिक्त कमिसन पनि चाहने आन्दोलनकारी भट्टहरू न नेपाल सरकारद्वारा मनोनित पशुपति विकास कोषका सदस्यहरू नै । परिणाममा स्थिति दिनानुदिन विस्फोटक बन्दै गइरहेको थियो । तर एकदिन गजब भयो ! भयो के भने कुन्नि, कसरी सबथोक ट्याक्कै मिल्यो ! अर्थात् सत्र प्रतिशत कमिसनमा ।

एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ, दस आदि नभएर पुराका पुरा सत्र प्रतिशत कमिसन पाउन सफल पशुपतिनाथ मन्दिरका त्रिपुण्डधारी भट्ट पुजारीहरूलाई नगदी भगवानको पनि पूजा–अर्चना गर्ने सुनौलो अवसर पाएकोमा साधु–साधु ! यसका साथसाथै यो लम्बेतान हुँदै गइरहेको आर्थिक कचिङ्गल कुशलतापूर्वक निराकरण गर्ने पशुपति विकास कोषका वर्तमान सचिव डा. गोविन्द टन्डनलाई मेरो हार्दिक बधाई छ । डाक्टर टन्डन मेरा मित्र हुन् । कुनै समय हामी सँगसँगै संस्कृति विषय लिएर त्रिचन्द्र कलेजमा अध्ययन गर्ने गथ्र्याैं । उनी संस्कृतिका मेधावी विद्यार्थी थिए । सदैव परीक्षामा अब्बल नम्बर ल्याउँथे । म भने जसोतसो उत्तीर्णसम्म हुन्थेँ । आज मेरा मित्र संस्कृतिमै विद्यावारिधि गरेर पशुपति विकास कोषका सचिव भएका छन् । उनीसँग मेरो प्रत्यक्ष भेटघाट नभएको वर्षौं भइसकेको छ । तसर्थ भलाकुसारीको अवसर पाउने कुरै भएन । अतएव भलाकुसारीको शैलीमा यही रचनामार्फत एकाध प्रश्न ।

यो विशेष पूजा भनेको के हो डाक्टरसाब ? त्यसो भए, अविशेष पूजा पनि अस्तित्वमा रहेको मान्नुपर्ने हुन्छ । याने विशेष नभएकोले सामान्य पूजा भन्नोस् । हामीले गर्ने पूजा यही श्रेणीको नै त होला । यसो ता पूजाआजामा मलाई विलकुलै विश्वास छैन । मेरो मतलव मजस्तो सामान्यजनले गर्ने पूजासँग हो । यस्तो हो भने यो त बर्बादै भयो नि ! किनभने सामान्य पूजा गर्ने सामान्यजनले सामान्य पुण्य प्राप्त गर्नुपर्ने हुन्छ । पूजाको फलस्वरुप पाइने पुण्य । यति थोरै पुण्य पाप बराबर भएन र ? विशेष पूजा गरेर आर्जित पुण्यको अघिल्तिर सामान्य पूजाबाट पाइएको पुण्यको कुनै हैसियत हुने कुरै भएन । अतएव यसलाई पापकै कोटीमा राखे के फरक पर्नेछ ? धर्म, पूजा, पुण्य, पाप आदिको तर्कले यही निष्कर्षतर्फ लैजान्छ । हँ, हामी सामान्य पूजा गर्ने सामान्यजन पापी हौं मित्र ?

मेरा उपर्युक्त प्रश्नहरू विशेष प्रकारका नभएकाले उत्तरयोग्य छैनन् । तर मसँग एउटा विशेष प्रश्न छ । हेर्नाेस्, प्रश्नमा पनि सामान्य र विशेष हुँदोरहेछ । के गर्न सकिन्छ ? मेरो विशेष प्रश्न के हो भने जतिखेर छिमेकी मुलुक हिन्दुस्तानमा आमनिर्वाचन भइरहेको थियो, त्यही बखत यहाँ हिन्दुस्तानी मूलका पशुपतिनाथ मन्दिरका भट्ट पुजारीहरू र पशुपति विकास कोषमा कमिसनको विवाद चर्किएको थियो । दुवै साइड आआफ्ना अडानमा दृढ रहेकाले कामकुरो मिल्ने कुनै उपायको प्राप्ति भइरहेको थिएन । यसरी कमिसनको झैझगडा क्रमशः उग्रबाट उग्रतर हुँदै गइरहेको थियो । तर हिन्दुस्तानी आमनिर्वाचनमा हिन्दु पुनरुत्थानवादी दल भारतीय जनता पार्टीले अभूतपूर्व विजय पाउनासाथ पशुपतिनाथका भट्ट पुजारीहरू र पशुपति विकास कोषका पदाधिकारीहरूका तमाम लेनदेनका कुरा साफसँग मिल्यो । के यो फगत एउटा संयोग नै हो त ? अथवा यसको नेपथ्यमा कुनै अर्काे केही रहेको छ ? म संस्कृति छाडेर अन्य विषय साहित्यमा लागेकोले यस्तो सांस्कृतिक–वांस्कृतिक टाइपको रहस्यवादलाई किञ्चित मात्रामा पनि बुझ्न छाडेको छु । क्षमा गर्नाेस् ।

अन्त्यमा, अब पशुपति विकास कोष र पशुपतिनाथ मन्दिरका भट्ट पुजारीहरूसँग अन्तिम प्रश्न– सत्र प्रतिशत कमिसन नै किन ? साढे सत्र प्रतिशत किन भएन ? अथवा सोह्र प्रतिशत कमिसन हुन सक्दैनथ्यो ? यो सत्र प्रतिशत कमिसनको थ्यौरी के हो ? वास्तवमा यो प्रश्न पनि नभएर तमाम हिसाब–किताबबाट अनभिज्ञ एक सामान्य व्यक्तिको सामान्य जिज्ञासामात्र हो ।

‘कान्तिपुर’ २०७१ जेष्ठ १०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x