सुलसुलेकवि प्रदीपका कविता वाचन
‘अविरल जन साहित्य यात्रा–६’ अन्तर्गत भदौ १३ गते कवि रामप्रसाद प्रदीपको एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो ।
राष्ट्रिय जन सांस्कृतिक महासङघका महासचिव राजेश थापाले सञ्चालन गर्नुभएको समारोहका प्रदिपलाई कविता वाचनमा सहयोग गर्ने कविहरू जनगायक रामकृष्ण दुवाल, उदय श्रेष्ठ, देवी नेपाल, रमेश पोखरेल, नन्दाकुमारी घिमिरे, यशोदा अधिकारी र इन्दु अंशु हुनुहुन्थ्यो ।
महासङ्घका अध्यक्ष समारोहका सभाध्यक्ष खगेन्द्र राईले कवि रामप्रसाद प्रदीपलाई माला अर्पण गर्दै नेपाली समाजमा विद्यमान रहेका विकृति र विसङगतिलाई निर्ममतापूर्वक उजागर गर्ने अभियानका अभियन्ता वरिष्ठ स्रष्टा प्रदीपलाई विशेष प्रस्तुतिमा उभ्याइएको जानकारी दिनु भयो ।
कवि प्रदीपको व्यक्तित्व तथा कृतित्वमाथि जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले प्रकाश पार्नु भएको थियो । उहाँले प्रदिपका सिर्जनामा विचार, कला र गायनको त्रिवेणी रहेको धारणा राख्नु भयो ।
कवि प्रदिपले देशका धेरै ठाउँमा गाइ सकेका तर जनताले मन पराएका एक दर्जन कविता, गीत, गजलहरू मध्ये ‘नेपाली भएर बाँच हजुर’ बोलको गीत, ‘सुनखानीको रगतको सन्देश भुल्यौ कि ?’ शीर्षकको गजल र समसामयिक विकृतिका विरुद्धको अर्काे ‘गजल’ गरी पाँच ओटा रचना वाचन गर्नु भयो ।
त्यसै गरी उहाँलाई साथ दिने कविहरू नन्दाकुमारी घिमिरेले ‘तीजको गीत’, रमेश पोखरेलले ‘तिम्ररो जीवन धर्तीलाई भारी भो’ शीर्षकको लोकगीत, यशोदा अधिकारीले शार्दूल विक्रिडीत छन्दको ‘पंछीको प्रश्न’ शीर्षकको कविता, उदय श्रेष्ठले ‘गीत’, रामकृष्ण दुवालले ‘बालगीत’, इन्दु अंशुले ‘अवश्यै सुनौलो प्रहर हुन्छ हुन्छ’ भन्ने गजल र देवी नेपालले अनुष्टुप छन्दको ‘भ्रष्ट सारा भगाउन’ शीर्षकको कविता वाचन गर्नु भयो ।
वाचित एक दर्जन कविता, गीत, गजलमाथि सहप्राध्यापक डा.लेखप्रसाद निरौलाले टिप्पणी गर्नु हुँदै स्रष्टा प्रदिप निरङ्कुश शासन व्यवस्थालाई देखेका, भोगेका, अनुभूत गरेका कविले समाजका समसामयिक विविध विषयलाई समेटेर सामाजिक रूपान्तरणको अभियानमा आफूलाई समाहित गर्ने व्यक्ति हुन भन्नु भयो । उहाँले प्रलिपका रचना सिर्जनाले नेपाली प्रगतिवादी साहित्यमा महत्वपूर्ण योगदान पुगेको धारणा राख्नु भयो ।
समारोहका अध्यक्ष रमेश पोखरेलले उपस्थित स्रष्टा एवम् सहभागी सबलाइ धन्यवाद दिँदै अर्काे महिनाको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता प्रदीप ज्ञवालीलाई प्रस्तुत गरिने जानकारी दिनु भयो ।
Subscribe
Login
0 Comments
Oldest











































