अनिल श्रेष्ठऐना–संवाद
एकदिन
सहरको एउटा ऐनाछेउ उभिएर
मैले आफूलाई नियाल्दै थिएँ
एकदमै परिचित मुद्रामा
साखुल्ले भएर मलाई ऐनाले
नजिकैबाट सोध्यो–
‘यो सहरमा
सधैं मेरो अघिल्तिर उभिएर
सबैभन्दा बढी मुस्कुराइरहने
को ? थाहा छ ?’
मैले एउटा अन्यौलमा
ऐनालाई हेरिरहेँ
र, सोधें– ‘को ?’
ऐनाले मतिर मुसुक्कले हाँस्यो
भन्यो– ‘यो देशको नेता ।’
‘उसले सधैं
मेरो अघिल्तिर उभिएर
दिनभरि आमसभामा बोल्नुपर्ने
आफ्ना झुठहरूलाई
सयौंचोटि सम्झन्छ
र, एक्लै मुस्कुराइरहन्छ ।’
–ऐनाले भन्यो
‘तिमी कविहरू चाहिँ
किन सधैं यति उदास छौ हँ ?’
ऐनाको अर्को प्रश्न
सकिँदा नसकिँदै
म त्यहाँबाट बाहिरिसकेको थिएँ ।
तनहुँ
Subscribe
Login
0 Comments
Oldest









































