साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्रहृमनालबाट प्रत्यक्ष प्रसारण

Nepal Telecom ad

म अहिले ब्रहृमनालमा लम्पसार छु । मलाई कात्रो र रामराम लेखेको पिताम्बरले छोपिएको छ । म मरेको धेरै बेर भा\’छैन किनकि म अझै तात्तातै छु । म मरेको खबरले मलाई अन्तिम पटक दर्शन गर्न एकपछि अर्को गर्दै ओइरिरहेका छन् । पालैपालो पानी ख्वाउने क्रम जारी छ, अर्थात् हुँदैछ । हाम्रो त्यस्तो चलन छ क्या ? मरेको मान्छेले मुख खोल्दैन भन्ने थाहा हुँदाहुँदै पनि खाए खा नखाए घिचको स्टाइलले पानी ख्वाउने क्रम जारी छ । पानी ख्वाउन आउने थुप्रै थिए, लाम त लामै रहेछ । लामै भन्या सिमकार्डको लाइन, कोरिया जाने लाइन, मन्त्री बन्नेहरूको लाइन जत्तिकै क्या ? मलाई पानी ख्वाउनेहरूमध्ये सबैको त व्याख्या गर्न भ्याउँदिन, केही नमुना भने प्रस्तुत गर्दछु । यस्तैमा मेरा साथी आए, एकदम मिल्ने । साह्रै शोकमा थिए, नहुनु पनि कसरी ? सम्भवतः लँगोटिया यार भन्छ क्यार ? त्यसपछि एक नौटङ्की वाजे आए रोएको नाटक गरेर, भित्रभित्रै त खुब हाँसिरहेको होला मोरो । मसँग मोटै रकम सापटी लिएको कुरा ऊ र मबीच मात्र सीमित थियो । उसको सात पुस्तालाई नभए नि, एक दुई पुस्तालाई भने अवश्य पुग्ने मात्राको थियो ।
त्यही लाइनमा एक विकास बैङ्कका कर्मचारी पनि देखेँ मैले । त्यो बैङ्क कर्मचारी भक्कानो छोडेर रोइ कराई मतिर आइरहेका थिए । यल्लाई चाहिँ म मरेकोमा साह्रै चिन्ता लागेको देखिन्थ्यो । अझ म मरेकोमा भन्दा क्षतिपूर्ति स्वरूप दिनुपर्ने बिमा रकमको चिन्ताको रेखी चाहिँ उसको निधारमा प्रष्टै देखिन्थ्यो ।

डाक्टर साब पनि थियो त्यो लाइनमा । यसैले त हो नि मलाई गलत उपचार गरेर मिति नपुग्दै डाँडा कटाएको । भनिन्छ नि \’कच्चा बैद्यको मात्रा, यमपुरीको यात्रा\’ । त्यसपछि एक जना महाशय आएर मलाई पानी चढाई लालसलाम पारामा मुठ्ठी कसेर हात उठाएर पो गए त । हाँस उठेर कस्तो ? मरेको मान्छे हाँस्नु पनि भएन !

ओहो ऽऽ पुरुषको लाइनमा महिला, शायद क्रमभङ्ग होला, नत्र यस्तो अन्तिम समयमा पानी ख्वाउन कोही महिला आउनु हुँदैन हाम्रो चलनमा । ए ऽऽ यी त मेरो गोप्रे रहिछ अर्थात् गोप्य प्रेमिका । डाँको छाडेर रोएर गइन् । पानी ख्वाउने बहानामा मेरो लाशैसँग अन्तिम पटक अँगालो पनि मारेर गइन् । अरू मलामीहरू त हेर्यातहेर्यैर ।

हलुवामा बालुवा भनेझैँ त्यस्ती सुन्दरी गोप्रेपछि यही मुर्दार पो आएछ । आखिरी समयमा अर्थात् मिति पुग्नपुग्न लाग्दा अस्पतालसम्म जानुपर्योा गाडी एकछिन चाहियो भनेर यो मुर्दारलाई फोन गर्दा आनाकानी गरेको कहिल्यै बिर्सिन्न म । अहिले चाहिँ हेर न पानीमाथिको ओभानो बनेर सुँक्कसुँक्क गर्दै अँजुलीभरि पानी बोकेर आइरहेकी छ ।

यो त झन् नामीको व्यापारी । कात्रो र पिताम्बरमा पनि डेढी नाफा खाएर बेच्ने रहेछ, अहिले हेर न ठीक्क पारेर, टोपी सोपी नै फुकालेर आइरहेको छ । \’नक्कली जोगीले बढी खरानी घस्छ\’ भनेझैं । त्योपछि आउने मान्छे रमाइलो छ, शायद मक्खीचुस भन्छन् क्यारे यस्तो मानिसलाई । एक पटक उसले चिया खाँदै गर्दा उसको चियामा झिँगा खस्याथ्यो । अलिकति भए पनि चिया किन खेर फाल्ने भनेर चियामा खसेको झिँगा टपक्क टिपेर चुसेर फ्याँकी बाँकी चिया घटघटी पिएका थिए । अजब गजबका हुँदा रै छन् दुनियाँमा ।
यो साहूजी चाहिँ दङ्ग परे होला, मलाई ब्रहृमनालमा लम्पसार देखेर र त्यो पनि यो हालतमा । उसलाई लाग्दो हो जहिले पनि मोलमोलाई गरी वाक्क पार्ने एउटा ग्राहकको दिन पुगेको देखेर । त्यसपछि एक कप चियाको भरमा घण्टौँ गफ छाट्ने गरेको चिया पसलका साहूजी पनि आएका थिए ।

एक जना सहकारीकर्मी पनि आएका रहेछन् । बिचराको अनुहार कागती निचोरेकोझैं देखिन्थ्यो । शायद लगानी पानीमा डुब्यो भन्ठाने पनि पानी ख्वाएर गए तर त्यति विघ्न ऋण लिएको थिइँन त्योसँग ।

यस्तै नमुनाहरू हेर्दाहेर्दै, जोरीपारीको के हविगत होला भन्ने चिन्ता गर्दागर्दै म त चिसिँदै पो गएँ त । अब पो आभास भयो भात खान पुगेको, सास फेर्न बिर्सेको ।

थाहा छैन मलाई स्वर्ग पठाउँछन् कि नर्क यमदूत तथा चित्रगुप्तले ? बरू दोबाटोमै राखिदिए त दुबैतिरको ग्राहक आउँथ्यो नि । त्यहाँ पनि गरिखान हुन्थ्यो नि । ब्रहृमनालमा लम्पसार परेर नै आफूमा चेतना आएदेखिको जीवनयात्रा रि गरेर प्ले गरेँ । आफूले खाए, भोगे, गरेका राम्रानराम्रा कार्यहरू सब सम्झें ।

\’ए उठ्, उठ् भन्या, के निद्रामा बर्बराइरहेको ? भात खान पनि बिर्सिस्, भात खान पुग्यो कि क्या हो ?\’ डेरामा सँगै बस्ने साथीले बिउँझाएपछि पो थाहा भयो सपना रै\’छ, धन्न बचिएछ । एफ.एम. ट्युन गरेको त नारायणगोपालको गीत आइ रहेकोरहेछ \’आजै र राति, के देखेँ सपना ? मै मरी गएको\’ ।

मधुपर्क २०६८ जेठ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आम्दानी महात्म्य

आम्दानी महात्म्य

डा. सुमनराज ताम्राकार
मम: पुराण

मम: पुराण

डा. सुमनराज ताम्राकार
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x