सुलसुलेदेवकोटाका कृति अहिले पनि समय सान्दर्भिक
काठमाडौं, ४ कात्तिक । शताब्दीपुरुष सत्यमोहन जोशीले पध्य कविता लेख्न नेपाली कविहरूलाई आग्ररह गर्नुभएको छ ।
एक सय छ औँ लक्ष्मीजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (पध्य) विभागले आयोजना गरेको ‘समसामयिक साहित्यिक सन्दर्भमा महाकवि देवकोटा’ शीर्र्षक विचार एवं कविगोष्ठीमा साहित्यकार एवं संस्कृतिविद् जोशीले भानुभक्त आचार्यले ‘रामायण’ रबर छन्दमा लेखेको भए लोकप्रियता हासिल हुँदैनथ्यो भन्दै देवकोटाका अधिकांश काव्य पद्य वा छन्दमै रहेको बताउनुभयो । ‘हाम्रो पहिचान पनि त्यही हो’ उहाँले भन्नुभयो ।
प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले महान् कृति र तिनका स्रष्टा सधैं सान्दर्भिक हुने विचार व्यक्त गर्दै प्रज्ञा–प्रतिष्ठानका परिकल्पनाकार देवकोटाका रचनाले वर्तमान नेपालमा पनि अर्थ राख्ने बताउनुभयो । कार्यक्रमका संयोजक प्रतिष्ठान पध्य विभागका प्रमुख अमर गिरीले देवकोटाका कृतिमा रहेको समसामयिकता र महत्वले हामीलाई दिशानिर्देशन गरिरहने बताउनुभयो ।
कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै देवकोटाका ८५ प्रकाशित र एक दर्जन जति अप्रकाशित र अप्राप्य कृतिमा उनले नेपाली सभ्यता, पूर्वीय दर्शन र ग्रीसेली इतिहासलाई प्रस्तुत गरेको बताउनुभयो । ‘उनी विश्वलाई देखाउन सकिने नेपाली सांस्कृतिक निधि हुन् ।’ प्रा डा भट्टराईले भन्नुभयो ।
डा.रामप्रसाद ज्ञवालीले पनि आफ्नो कार्यपत्र प्रस्तुत गर्दै उनका ‘मुनामदन’, ‘सुलोचना’, ‘वन’, ‘पहाडी पुकार’, ‘किसान’, ‘कृषिबाला’, ‘लुनी’, ‘कुञ्जिनी’, ‘म्हेन्दु’ जस्ता कृति तथा ‘युगवाणी’ पत्रिकाका सम्पादकीयहरूमा राष्ट्रियताको पक्ष लिँदै साम्राज्यवाद र विस्तारवादको विरोध गरेको, उत्पीडित, दलित, महिला, गरिब, जनजाति आदिको पक्ष लिएको तथा लोकतान्त्रिक चेतना अभिव्यक्त भएको बताउँदै ती अहिले पनि सान्दर्भिक भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा आहुति, वियोगी बुढाथोकी, लक्ष्मी माली, आरएम डङ्गोल, मोमिला, टङक उप्रेती, ठाकुर बेल्बासे, अविनाश श्रेष्ठ, वासुदेव अधिकारी, स्वप्निल स्मृति, विनोदविक्रम केसी, शशी लुमुम्बु, उपेन्द्र सुब्बा, गीता कार्की र सुरेश किरणले कविता वाचन गर्नुभएको थियो ।
रासस
Subscribe
Login
0 Comments
Oldest











































