साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल प्रज्ञा–प्रतिष्ठानको २९ औँ प्राज्ञसभा

Nepal Telecom ad

कात्तिक १६, २०७१/काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको २९ औँ प्राज्ञ सभाको उद्घाटन यही २०७१ कात्तिक १६ गते आइतवार नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले एक विशेष समारोहका बिच गर्नु भयो । उक्त समुद्घाटन समारोहमा प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक सम्माननीय प्रधानमन्त्री सुशील कोइराला उपस्थित हुन नसक्नु भएका कारण उहाँले शुभकामना सन्देश पठाउनु भएको थियो ।

प्रधानमन्त्रीले आफ्नो सन्देशमा प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्यका क्षेत्रमा खेलेको भूमिका प्रति धन्यवाद ज्ञापन गर्दै समाजलाई शिक्षाको उज्यालो मार्गमा डोर्याउन प्राज्ञहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनु भएको छ । सन्देशमै साहित्यलाई देशको इतिहास, वर्तमान र भविष्यको ऐना भन्दै प्राज्ञ सभाले प्रभावकारी काम गर्न सक्ने योजना बनाई समाजलाई मार्ग निर्देश गर्ने विश्वास सहित सभाको सफलताको कामना गर्नु भएको थियो ।

समारोहका प्रमुख अतिथि वैरागी काइँलाले उद्घाटन मन्तव्यमा मुलुक वर्तमान अवस्थामा साँघुरो घुम्तीबाट गुज्रिरहेको चर्चा गर्दै यस स्थितिमा पनि प्रतिष्ठानले वाङ्मयको विकासका निम्ति अग्रणी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्दै प्रज्ञा–प्रतिष्ठानले भाषा साहित्यको विकास र विस्तार गर्नु पर्नेमा विशेष जोड दिनु भयो ।

मन्तव्यकै क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति एवं सभाध्यक्ष गङ्गाप्रसाद उप्रेतीले सरकारले आफूलाई दिएको जिम्मेवारी पुरा गर्ने दृढता व्यक्त गर्दै २०६२/०६३ को जन आन्दोलनपछि प्रज्ञा–प्रतिष्ठानले नेपालका विभिन्न क्षेत्रका भाषा, साहित्य र संस्कृतिको पहिचान, संरक्षण र उत्थानमा विशेष ध्यान केन्द्रित गरेका र भविष्यमा नवीन दृष्टिका साथ काम गर्ने वचनबद्धता व्यक्त गर्नु भयो ।

यसै गरी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले तिनवटै प्रतिष्ठानले सहकार्य गरी काम गर्नु पर्ने विचार व्यक्त गर्नु भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले संस्कृति संरक्षणका निम्ति प्रज्ञा–प्रतिष्ठानले गर्ने समाज उपयोगी पुस्तक प्रकाशन लगायत अन्य कार्यमा मन्त्रालयको सदा साथ रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सो समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य तथा संस्कृतिविद् सत्यमोहन जोशी, प्रज्ञा–प्रतिष्ठानका मानार्थ सदस्यहरू, आजीवन सदस्यहरू, विभिन्न प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् पदाधिकारीका साथै प्राज्ञ सभा सदस्यहरू एवं लब्ध प्रतिष्ठित विद्वान्हरूको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले प्रतिष्ठानभन्दा बाहिर रहनु भएका सम्पूर्ण साहित्यकारहरूलाई समेटेर नेपाली वाङ्मयको श्रीवृद्धिमा कदम चाल्ने अठोट व्यक्त गर्नु भयो । यसै गरी कार्यक्रममा उपस्थित सम्पूर्णमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्राज्ञसभाको दोस्रो सत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ सभामा नव नियुक्त प्राज्ञ सभा सदस्यहरूलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । प्राज्ञ सभामा ३५ जना मनोनीत र १ जना संस्कृति मन्त्रालयका सचिव पदेन सदस्य रहने प्रावधान रहेको छ जसमध्ये ११ जना प्राज्ञ परिषद्का सदस्यहरूले यसअघि नै शपथ लिई आफ्नो पदीय दायित्व निर्वाह गरिरहनु भएको छ ।

बन्द सत्रका रूपमा रहेको तेस्रो सत्रमा सदस्य सचिवद्वारा प्रस्तुत प्रतिष्ठानको २०७०।०७१ को प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन गरिनुका साथै २०७१÷०७२ को कार्यक्रम र वार्षिक बजेट समेत पारित गरिएको छ । पारित गर्नुपूर्व प्राज्ञ सभा सदस्यहरू प्रा.डा. विष्णुराज आत्रेय, नरनाथ लुइँटेल, विवश पोख्रेल, बियोगी बुढाथोकी, केवी शाही, ध्रुब मधिकर्मी, बासुदेव पाण्डेय, जगत उपाध्याय, हेमनाथ पौडेल, शम्भुकुमार मिलन लगायतले आआफ्ना सुझावहरू प्रस्तुत गर्नु भएको थियो ।

सभाले नेपाल प्रज्ञा–प्रतिष्ठानका केही नियमावली संशोधन गर्नुका साथै प्रज्ञा–प्रतिष्ठानको सेवा आयोगको सदस्य पदमा प्राज्ञ सभाका सदस्य विवश पोखरेललाई ऐन अनुसार तोक्ने कार्य पनि सम्पन्न गरेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x