प्रेम ओली ढकलपुरेआज फेरि कविता भन्न
आज फेरि कविता भन्न
एउटा कवि आउनु भो
खल्तीबाट झिकी कविता
हातले सुमसुमाउनु भो ।
ठिक छ कि छैन माइक
हातले थुमथुमाउनु भो
फुक मार्दै जोडले माइकमा
अलिकति गुनगुनाउनु भो ।
त्यसपछि
यो लेखेँ त्यो लेखेँ
यति लेखेँ उति लेखेँ भन्दै
कविता भन्दा
आप्mनै कथा सुन्याउनु भो
घरी टाउको कन्याउनु भो
घरी दारी कन्याउनु भो
त्यसपछि
कवितामा स्वर हाल्दै
घोडा झैं हिनहिनाउनु भो ।
कहिले अक्षरमा अनकनाउँदै
चरी झैं चिरबिराउनु भो
आफैं लेखेको कवितामा
ठाउँ पिच्छे बिराउनु भो
कहिले शब्दहरूमा
सिडी झैं अड्किनु भो
कहिले वाक्यमा
मकै झैं पड्किनु भो ।
दर्शकदीर्घा
कोही हाइ गर्दै खुट्टा ताने
कोही बाइ गर्दै बाटो हाने
बाँकी कुर्सीमा घुर्दै थिए
कवि झन के कम
दायाँ बायाँ नहेरी
कविता ठोक्दै थिए
मध्यरातको कुकुरले झैं
एकहोरो भुक्तै थिए भुक्तै थिए ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































