स्कुलको धन्दा, काइदा जाने फाइदै फाइदा
“चन्दा मागेर फन्दामा पर्नुभन्दा एउटा व्यवस्थित धन्दा गर्नु नि ।” केही वर्ष पहिले चन्दा माग्ने क्रममा एकजना महानुभावले सल्लाह दिएका थिए । धन्दाका विषयमा धेरै सोचियो र बजार खोजियो अन्ततः दिमागमा आयो स्कुले धन्दा । हो मैले स्कुल धन्दा थालेँ । सबैलाई भन्नु त हुन्न तपाइँलाई भने नभनी म बस्न सकिनँ । यो स्कुलको धन्दा बडो विचित्रको हुँदो रहेछ । तपाइँलाई काइदा आउनुपर्छ काइदा आएपछि फाइदैफाइदाले पछ्याउँछ । यसका लागि केही गोप्य मन्त्रहरू छन् जसको प्रयोग गर्नाले तपाइँको जिन्दगी मालामाल हुनेछ ।
मन्त्र नं १. हार्डवेयर पार्ट–
स्कुलभित्र एक थान थोत्रो कम्प्युटर नभए पनि विज्ञापनमा धाक दिनुहोस्, आइटी एजुकेसनको सुविधा भन्नुहोस् । विद्यालयमा पढाइ गर्ने कक्षाकोठा सुँगुरको जस्तो भएर केही फरक पर्ने छैन तर तपाइँले कतै न कतैको चिटिक्क परेको कक्षाकोठाको फोटो खिचेर विज्ञापनमा देखाउनुहोस् । नभएको प्रयोगशाला पनि छ भनेर हल्ला चलाउनुहोस् । खिया लागेर बालबालिकाहरूले खेल्नै नहुने भएको भए पनि चिप्लेटी देखाउनुहोस् । खानेपानीको व्यवस्था नभएको भए पनि स्वीमिङ पुलकोसमेत चित्र देखाउनुहोस् । धन भएका र नभएका तर अङ्ग्रेजीलाई संसारकै अलौकिक ज्ञान ठान्नेहरूले तपाइँको विद्यालयको चक्कर काट्न थाल्नेछन् ।
मन्त्र नं २. सफ्टवेयर पार्ट–
आधा भन्दा पनि कम तलबमा काम गर्ने शिक्षक खोज्नुहोस् , विद्यार्थीसँग भने धीत मर्ने गरी शुल्क असुल्नुहोस् । तपाइँँ जति धेरै शुल्क माग्नुहुन्छ अङ्ग्रेजीप्रेमी अभिभावक त्यति नै तपाइँलाई विश्वास गर्न थाल्नेछन् । बजारमा पाइने र हजार पर्ने धेरै किताब राखिदिनुहोस् र बच्चालाई गधा बनाउनुहोस् । जति बच्चाले धेरै किताब किन्छ उति तपाइँलाई कमिसन आउँछ । आफैंले सानो स्टल राखेर बेच्नु भयो भने नाफासाफा सबै तपाइँँलाई । बच्चा अक्क न बक्क भए पनि धेरै किताब देखेर अभिभावक मख्ख हुनेछन् । कापीकलम पनि विद्यालयबाटै दिइने छ भनेर एकमुष्ठ रकम असुल्नुहोस् तर विद्यार्थीको कापी सकिँदा चाहिँ विद्यार्थीहरूलाई नै किन्न लगाउनुहोस् तपाइँलाई फाइदामाथि फाइदा हात पर्नेछ । तपाइँका शिक्षकलाई राम्रो पढाउन नआए पनि पुस्तक कण्ठ गर भनेर ती निरीह बच्चाहरूमाथि डण्डा हल्लाउन त अवश्य आउने छ । जति विद्यालयमा बच्चा डराउँछन् त्यति ती अभिभावकहरू खुसी हुन्छन् । बच्चाको सिर्जनात्मक क्षमतालाई खुइल्याउन डण्डा चलाउनै पर्छ र कण्ठस्थ मात्र गराउनुपर्छ । जति बच्चाहरूले किताब कण्ठ गर्छन् उति नै अङ्ग्रेजीप्रेमी अभिभावक खुसीले गदगद हुन्छन् । बच्चाहरू ब्रोइलर कुखुराजस्ता भएको कुरा ती अभिभावकले थाहा पाउने कुरा पनि भएन बच्चा स्वयम् डल भएपछि आपूm कसरी त्यस्तो भइयो भनेर सोच्ने कुरा पनि भएन । बच्चालाई मध्यरातसम्म डल्लो पार्ने गरी होमवर्क दिनुभयो भने तपाइँ र तपाइँको स्कुलभन्दा राम्रो कुनै मानिने छैन । कण्ठस्थ गरेरै भए पनि एस.एल.सी.मा चुले नम्बर ल्याएपछि अभिभावकलाई पुगी त हाल्छ । त्यो चुले नम्बरको परिणाम र प्रभाव ती अभिभावकलाई के थाहा ? पैसा तिरेर बच्चालाई डल बनाउन लगाउने अभिभावक जति पाइन्छन् त्यति स्कुले धन्दा मालामाल हुने छ ।
तपाइँ होस्टेल चलाउनुहुन्छ भने झन बढिया । बच्चालाई घरमा राखेर समय दिनुभन्दा विद्यालयमा धकेलेर पाइलट बनाउने सपना देख्ने अभिभावक झनै मख्ख हुनेछन् । चौरासी व्यञ्जनको धाक दिनुहोस् र खुइले दालसँग भात घिचाउनुहोस् । तपाइँ दिनप्रतिदिन मालामाल, स्कुले बच्चा दिनप्रतिदिन बेहाल । उनीहरू जति कमजोर हुन्छन् उति दिमाग खुइल्याउन सजिलो पर्ने छ । त्यसो त होस्टेलमा बसेपछि उनीहरूको आप्mनो बाबुआमाप्रतिको स्नेह पनि घटेर जान्छ र विस्तारै विस्तारै उनीहरू अपनत्वपन गुमाउँदै जानेछन् । जति अपनत्वभाव गुमायो उति उनीहरूलाई खुइल्याउन सकिन्छ । यसरी दिमाग खुइल्याएर माथि लगेकाहरू धेरै त घरका न घाटका हुनेछन् । जो घरमा हुन्छन् ती भरमा हुन्छन् र जो घाटमा हुन्छन् ती व्यवहारका टाट हुन्छन् । तपाइँ यी घर न घाटका तथ्याङ्कको पछि भने नलाग्नुहोला । त्यसो गर्नुभयो भने यो बच्चा खुइल्याउने धन्दामा तपाइँ अब्बल हुन सक्नुहुन्न ।
मैले त यो धन्दामा कार्यसीमा पार गरिसकेको छु, पत्याउनुहुन्न भने मेरो साततले घर हेर्नुहोस् । पैसा कमाउने यस्तो महत्वपूर्ण धन्दाको मैले निशुल्क अनुभव बाँडेको छु । यस्तो महत्वपूर्ण कुरा पढिसक्नुभएपछि मलाई ट्युसन शुल्क पठाउनुहुन्न ? स्कुलको धन्दा काइदा जाने फाइदैफाइदा नजाने बेकारको फन्दा । जय धन्दा ।
धादिङ