साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थोत्रो घरमा मुसाको रजाइँ

Nepal Telecom ad

थोत्रो घरमा मुसाको रजाइँ भन्नाले गरिब राष्ट्रमा मुसारूपी दानव मानवै किन नहोस् वैधभन्दा पनि अवैध तरीकालाई अवलम्बन गरी हसुर्ने, घिच्ने, थुपार्ने, बिगार्ने, जाक्ने, जति घिचे पनि नथाक्ने, धनसम्पत्ति, दौलत तथा जायजेथाको राशिमा खेलेको दाइँ वा रजाइँ भन्ने बुझिन्छ । मुलुक थोत्रिएर प्वाल र सुरुङ, जति धेरै बन्छ टीठलाग्दो हुन्छ तबमात्र मुसाको घरजम त्यति नै भरपर्दो किसिमले जम्छ ।

विकासोन्मुख देशको शेष गर्न मुसारूपी छेद प्राणीले दिलोज्यान दिएर विशेष भूमिका निर्वाह गरेको संसारका विभिन्न मुलुक लगायत नेपालमा पनि देखिने तथा भोगिने गरेको छ । ‘लाटो देशमा गाँडो तन्नेरी’ भनेझैं विकासोन्मुख राष्ट्रको राष्ट्रप्रमुखै याचक मुसो बन्छ र प्रत्येक प्रशासनिक अखडामा तगडा तगडा मुसाहरूले अवैधानिक आहाराको सहारामा पहरा गरिराखेका हुन्छन् । त्यसै त विकास नभएर थोत्रिएको मुलुक त्यसमाथि पनि घुसघुस्याहा मुसाको बिगबिगीले अर्थतन्त्र स्वाहा हुनुका साथै प्लेगको प्रकोपले राष्ट्र पत्रुपत्रु भएपछि शत्रु नहाँस्ने त कुरै भएन ।

घर थोत्रो होस् या नयाँ लिमिटेड होस् या प्रा.लि., स्वदेशी महल होस् या विदेशी मकान, सानासाना कार्यालयदेखि ठूला–ठूला मन्त्रालय, सिंहदरबार, सांसदभवन, झुपडी होस् या महलमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुसावर्गको चहलपहल हुन्छ र यसैको प्रत्येक कोठाकोठा, तलातला, सोफासोफा, कुर्सीकुर्सी र गुन्द्रीगुन्द्रीमा माननीय मुसा विराजमान हुन्छन् । स्वार्थसिद्ध गर्न आफ्नो बावुको राज्यमा झैं मानवको राज्यमा जानीनजानी, लुकीछिपी रजाइँं गरिराखेको हुन्छ । चाहिँदो घिचेर पनि सुरुङबाट सम्पत्ति घर लगेर उरुङ लगाउनु यसको पुस्तौनी विशेषता हो । यसै सम्पत्तिका मातमा मान्छेले झैं मुसाले हिउँदमा सातवटी भिœयाउँछ र वर्षा–मासमा सातैवटीलाई लखेटेर एकलौटी जीवनयापन गर्न रुचाउँछ । सम्पत्तिको मातमा मानवकै जमातमा आफन्तको उठीबास गराउनु मुसाको मुख्र्याइँको अनुकरणीय उदाहरण हो ।

सारै सानो मान्छेलाई लिखुरे भनेजस्तै सारै सानो मुसालाई डिकुरे भनिन्छ । डिकुरे या लिखुरे जे–जस्तो मुसो भए पनि यिनको विश्वास हम्मेसी गरिहाल्नु चाहिँ हानिकारक हुन्छ– किनभने मुसाको मुख चुच्चो, दाँत तीखो, नङ्ग्रा धारिला, पुच्छर र आँखा जता पनि बटारिने, कान टाठो साथै यो प्राणी जति हुक्र्यो उति बाठो हुनेहुनाले खानु परेपछि यसले दायाँबायाँ कसैलाई हेर्दा पनि हेर्दैन र टेर्दा पनि टेर्दैन साथै बिष्ट्याउँदा बड्कुँलाबाहेक छेर्दा पनि छेर्दैन । यसको पाचनशक्तिबाट धेरै प्राणी पराजित हुनुका साथै अधिक डाक्टर विशेषज्ञहरू पनि आजित भएका छन् । आफ्नो कर्ममा खानपान खातिर रातदिन गरेर अगाडि बढेर बाजेबराजुको बिँडो थाम्नु यसको धर्म हो ।

मुसो भगवान् (गणेश) भक्त भएर बाहिर–बाहिर आस्तिकझैं लागे पनि भित्री देहमा नास्तिकको तुवाँलोले ढाकेको कुरा यसले मन्दिरमा चढाएका बहुमूल्य उपहार वा पर्सादीहरू जुठ्याउने तथा उछिट्याउने गरेबाट छर्लङ्ग हुन्छ । यसको डरले हो या सरकारको करले प्रायः मन्दिरका पर्सादीहरू पुजारीले खैनी च्यापेझैं तलमाथि दुबै ओठमा हर्दम च्यापिराखेका हुन्छन् । इतिहासको गर्भ बस्नुभन्दा अगाडि नै नेपाल खाल्डामा बलियाबाङ्गा, भोकानाङ्गा, विभिन्न प्रकृतिका मुसाले बल, बुद्धि र विवेक प्रयोग गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अनेकतामा एकता जाहेर गर्दै ठूलो लगानी गरेर साना, ठूला, मझौला, विभिन्न आकार प्रकारका प्वाल, भ्वाङ, सुरुङ मार्ग तथा कुमार्गको चयन गर्दै आएको बयान गरिराख्नु नपर्ला । मुसा हेर्दा केही लछारपाटो लगाउँदैन जस्तो देखिए पनि सानो डिकुरे मुसाले नै ठूला–ठूला योजनाहरूलाई चिस्याउने, तताउने, सताउने या भत्काउनेजस्ता कार्यका लागि सदा प्रार्थना गरिरहन्छ । डिकुरे मुसाको पछाडि ठूलो मुसाको हात हुने हुनाले यसको जात यस्तै रहेछ भनेर लख काट्न सक मानिराख्नु पर्दैन ।

क्षुद्र मुसाले कार्यालयमा देखाउने अवैधानिक बीलदेखि लिएर कानूनको धारा, उपधारा, प्रशासनिक लट्ठी काटेर छुट्टिछाट्टी गर्छ । प्रशासनलाई तहसनहस बनाउँदै कारबाहीका कडी तथा नेलहरू सबै निस्क्रिय हुनपुग्नु यसको ग्रहगोचरको राम्रो खेल भन्न सकिन्छ । यिनको कान नेताको जस्तै सधैं टाठा हुन्छन् । मुसाको सञ्चारको साधन भनेको कान हो । कान नभए प्रायः यी बेकाम हुन्छन् ।

मुसाको ज्यादै ठूलो शत्रु भनेको बिरालो हो, प्रजातन्त्रमा सरकारको ज्यादै ठूलो शत्रु भनेका जनता हुन् । जनता बिरालो प्रकृतिका हुन्छन् भने सरकार मुसो प्रकृतिको हुन्छ । मुसोले हसुर्नु परे पृथ्वी प्वाल पारेर भए पनि हसुर्छ । त्यसैले नै मुसा मसुर्छ, तर सोझो बिरालो मालिकको अगाडि गएर म्याउँ–म्याउँ नगरे भोकै सिलटिम्बुर खानुपर्ने के कसुर छ ?

दरबारदेखि लिएर सानातिना घरबार भएकाहरू पनि मुसाको बिगबिगीले पिरलोमा पिसिएका छन् । त्यसैले पनि “चोर पक्रन चोरै हुनुपर्छ” भनेझैं मुसो पक्रन एउटा मुसा नियन्त्रक तथा प्वालपुरक मन्त्रीको व्यवस्था गर्नपाए मुसाको प्वाल समापन गर्ने र प्वाल उद्घाटन गर्ने साथै मुसामा सद्बुद्धिको सञ्चार गराएर भन्सारको भ्वाङलाई पारदर्शी गराई मुसोद्वार कोषको स्थापना गर्नपाए जनाक्रोश साम्य हुने थियो कि ?

फुलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x