साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेवारिसे झण्डा

Nepal Telecom ad

झण्डाको डण्डा केही वर्ष अघि देशको बीचमै थियो । झण्डालाई वरपर राखेर त्यही एकादेशका सैनिकहरू दैनिक परेड खेल्ने गर्थे । ज्यानलाई डिभ परेर मात्र हैन ज्ञानलाई डिभी परेपछि विदेश पलायन भएकाहरू त्यही एकादेशको तीनकुने झण्डा बोकेर विदेश लाग्थे । साँच्चै त्यो झण्डा कसैको सो केशमा सजिने सजावटको सामान बन्थ्यो । सात साल, सोह्र साल, छत्तिस साल, छयालिस साल, त्रिसठ्ठी साल जस्ता ऐतिहासिक सालमा वीरताको प्रतिकको रुपमा त्यो सतिसालझैं उभिएको थियो रे त्यो झण्डा तर आज सदियौं पछि बिगत भन्दा पनि यो झण्डालाई आगतको पीडाले सताउँछ ।

जब राष्ट्रियताले आची खाएर राँची जान थाल्यो, तब झण्डाको डण्डा अराष्ट्रियताले हल्लाउन थालेछ । त्यो झण्डामुनि बसेर भूमिसुधारका कर्मचारीले भूँडीसुधार गरेको मूकदर्शक बनेर त्यो झण्डा बसिरह्यो । जब यही झण्डाको डण्डा समाएर विदेश जाने रातो पासपोर्ट धारीले सुनको धन्दा चलाउन थाले तब राष्ट्रियतामा घुन लाग्नथाल्यो । अनि त्यही झण्डामुनि राष्ट्रिय व्यक्तित्वले विदेशी धुन बजाउन थाले । मोदीले आएर रोदी गाएपछि त झनै त्यो भूपरिवेष्ठित देश बिश्व भूमण्डलीकरणमा जानुको सट्टा खुम्चिएर रह्यो । विदेशीले अर्काको देशमा कति सैनिक अखडा झन् भनेर स्याटेलाईट मार्फत बखेडा झिकेर गनेको बेला त्यो एकादेशको देश चाहिँ आफ्ना जनतालाई चर्पीमा दिसानिर्देश गराउन र खुल्ला दिसामुक्त देश बनाउन विदेशीलाई गुहार मागि रह्यो । साच्चै विदेशीले अर्काको सैनिक क्याम्प गनेको बेला त्यो देशले भने कति जनताले चर्पी बनाए बनाएन् भन्ने कुरामा ध्यान दिइनै रह्यो तर फगत् त्यो झण्डा नजानिँदो पाराले विदेशीको अदृष्य परेड स्वदेशमा देखेर चकित र थकित थियो ।

बिस्तारै त्यही झण्डाकोमुनि केही नेताले विदेशी डलरमा कक्टेलको कलर मिलाए, त्यसपछि देशको राजनीतिको बलरलाई छक्का, चौकाको मौका भन्दा पनि डलरका सपनाहरूमा आफूलाई सजाएर विदेशी भजन भजाएर त्यही झण्डाको टेबलपोस बनाएर मात्तिन थालेपछि त्यो झण्डा निकै आत्तिएको थियो तर के गर्नु एक अमुक झण्डाले त्यो बाहेक अरु के नै गर्न सक्थ्यो र ? त्यही कक्टेल पार्टीपछि बिस्तारै त्यो झण्डाको देशको दशगजा मिचिन थाल्यो, झण्डा दक्षिणी हावा लागेपछि रिसले हुँकार गरेर फट्पटाउँथ्यो, तर अहँ, आजसम्म झण्डाको भाषा कसैले बुझ्न सकेन, साँच्चै हो नि ! न तपाईंले झण्डाको भाषा बुझ्नु भएको छ न मैले नै । त्यही दिन झण्डाको देशमा सङ्घीयताको खेती गरियो अनि भङ्गीयता सुरु हुनखोज्यो । त्यो झण्डाको देशमा केही जनता नामका केही करोड किरालाई देशका बुज्रुकले के गरेका हुन् थाहा नै दिएनन् । आखिर देश चिरा चिरामा बर्थ डे केक काटेझैं काटियो । अनि शुरु भयो त्यो झण्डाको देशको विलय ।

भङ्गीयता सुरु भएको केही समय त्यो झण्डा राज्यका प्रत्येक अङ्गअङ्गमा सजाइयो । तर बिस्तारै एक राज्यको दशगजा विदेशी राज्यको दशगजामा समाहित हुन लाग्यो, झण्डाको सगरमाथा जत्रो सान घट्यो । भङ्गीयतामा विश्वास गर्नेहरू स्वर्गेबास भएपछि उनका छोरा नातिले दशगजा बिर्से, स्वदेश बिर्से, बिदेश सम्झे । उनीहरूले देश बिर्से, भेष बिर्से, सिमाना बिर्से, लोकगाना बिर्से, लोकखाना बिर्से, कुल बिर्से, मूल बिर्से । अर्को देशको साम्राज्यमा आफूलाई बिर्से अनि झण्डा बिर्से । यसरी यौटा विराङ्गनाको झण्डा कालान्तरमा विदेशीभूमिको यौटा जमिनमा प¥यो न कि त्यो जमिन सदियौं अघि त्यही झण्डाको देशमा थियो । अनि झण्डाले आफू बेबारिसे भएको ठान्यो । उसलाई मुुठ्ठी कसेर सलाम गर्नेहरू भङ्गीयताको कुरामा मलाम गएको थाहा पायो उसले । अनि झण्डाले सोच्यो– राजनीतिमा थिति बिग्रेर राष्ट्रियता पोइला भाग्यो भने देशको झण्डा बेबारिसे हुने रैछ ।
(सोच  बाइसौं शताब्दिको)
बेसीशहर नगरपालिका ७, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
कुर्ने कि घुर्ने ?

कुर्ने कि घुर्ने ?

विश्व विनोद
खादा, माला र अबिर टोलाएको बेला

खादा, माला र अबिर...

विश्व विनोद
देश कहाँ छ त ?

देश कहाँ छ त...

विश्व विनोद
0
Would love your thoughts, please comment.x
()
x