सुलसुलेकाव्यशिविरको चौधौँ शृङ्खला
काठमाडौं, ६ पुस, आइतबार । नुवाकोट जिल्लाको ऐतिहासिक गाउँ झिल्टुङमा काव्यशिविरको चौधौँ शृङ्खला सम्पन्न भएको छ । काव्यशिविरको यो अभियान प्रत्येक महिनाको पहिलो शनिबार आयोजना गरिन्छ । साहित्यलाई केन्द्रमुखी नबनाई गाउँसँग पनि जोड्नुपर्छ भन्ने उद्देश्यले यो अभियान राजधानीबाहिरका जिल्ला र गाउँघरसम्म लैजाने गरिन्छ । अग्रगामी र जनमुखी कला साहित्यको सिर्जना यसको उद्देश्य हो । यस अभियानले मोफसललाई राजधानीसँग जोड्न र नयाँ र अग्रज पुस्ताको बिच सिर्जनात्मक संवादमा बढाउन जोड दिन्छ ।
यसपल्ट महाकवि देवकोटा साहित्य प्रतिष्ठानको आयोजनामा यो कार्यक्रम झिल्टुङको कामरुदेवी उच्च माविको हलमा सम्पन्न भएको हो । काव्यशिविरमा कविता वाचनको साथै ‘समकालीन नेपाली कवितामा मौलिकताको खोजी’ विषयमा अन्तरसंवाद पनि गरियो । अन्तर संवादमा साहित्यकार श्रीहरि फुयाँल, आर.एम. डंगोल, माधव घिमिरे ‘अटल’ र ज्वालामुखी सहभागी थिए भने सहजकर्ताको भूमिकामा कवि केशव सिलवाल थिए । अन्तरसंवादमा नेपाली कविताको मौलिकताको मापन के हो भन्नेबारे राम्रै बहस भएको थियो । साहित्यकार श्रीहरि फुयाँलले नेपालको समकालीन कवितामा मौलिकता प्रष्ट रूपमा देखिएको छैन भने । आर.एम. डंगोलले नेपाली कविता छन्दमा लेख्ने प्रचलन पूर्वीय परम्पराबाट भित्रिएको हो र यहाँको मौलिक शैली झ्याउरे वा लोक लय हो भने । त्यस्तै माधव घिमिरे र ज्वालामुखीले विषय, शैली र बिम्ब विधानले समाजसँग संवाद गरेभने मात्र मौलिकता झल्कने कुरा राखे ।
कार्यक्रम काव्यलहरबाट सुरु भएको थियो । काव्यलहरमा कवि केदार नेपाल, श्रीहरि फुयाँल, आर.एम. डंगोल, विष्णु भण्डारी, चेतनाथ धमला, केशव सिलवाल, प्रोल्लास सिन्धुलीय, कला अनुरागी, राजु स्याङतान, माधव घिमिरे ‘अटल’, केवल बिनाबी, प्रथा, केशव पुडासैनी, केशरी अम्गाई, संगीता पनेरु, नारायण नेपाल, ज्वालामुखी, प्रमिला दाहाल परी, जनक भट्टराई, कपिलदेव खनाल, हरिध्वज लामिछाने, तेजप्रसाद खतिवडा र राजकुमार पुत्लाले कविता वाचन गरे । काव्यलहरको सञ्चालन जनक भट्टराईले गरेका थिए भने संस्थाको परिचय र गतिविधि प्रोल्लास सिन्धुलीय र महाकवि देवकोटा साहित्य प्रतिष्ठानका अध्यक्ष केदार नेपालले राखेका थिए ।
Subscribe
Login
0 Comments
Oldest












































