साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय एकता दिवसमा कवि गोष्ठी

Nepal Telecom ad

काठमाडौँ, २५ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९३ औँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटा साहित्य प्रतिष्ठानले आज यहाँ विशेष कवि गोष्ठीको आयोजना गर्यो ।
गोष्ठीमा ४० भन्दा बढी कविले नेपाली र अङ्ग्रेजी भाषामा मुलुकमा बढ्दै गएको राजनीतिक अनिश्चितता, संविधान निर्माणमा प्रमुख राजनीतिक दलले देखाएको उदासीनता, सामाजिक तथा आर्थिक क्षेत्रमा त्यसले पारेको प्रभाव, कला र साहित्यको क्षेत्रमा भित्रिएका विकृति तथा विसङ्गतिमाथि सिर्जनाका माध्यमबाट व्यङ्ग्य वाण प्रहार गर्नुभएको थियो ।

पृथ्वीनारायण शाहले विभिन्न टुक्रामा विभक्त मुलुकलाई एकसूत्रमा बाँधेको भए पनि पछिल्लो दिनमा भित्रन लागेको जातीय विद्वेष तथा अराजनीतिक व्यवहारले नकारात्मक वातावरण बनाएको भन्दै राष्ट्रिय सद्भाव कायम गर्न सबैले मिलेर जानुपर्नेमा कविहरुले जोड दिनुभएको थियो ।
सीमा लुटिँदा, जङ्गे स्तम्भ हराउँदासमेत राजनीतिक नेतृत्वले ध्यान नदिएको र संविधान निर्माणमा केन्द्रित हुनुपर्ने सभासद् सत्ताको खिंचातानीमा लागेकोमा आक्रोश व्यक्त गर्दै उहाँहरूले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।

कवि गोष्ठीमा भाग्यशाली अधिकारीले ‘मेची काली हिमाल तराई एउटा हो आँगन’ शीर्षकको कविता सुनाउनुभएको थियो भने शशी थापा पण्डितले नेपाललाई आमासँग तुलना गर्दै राष्ट्रिय एकताको आह्वान गर्नुभएको थियो । कवि रामबहादुर पहाडीले ‘संविधान बनाउन किन ढिला’ भन्दै सभासद्सँग प्रश्न गर्नुभयो, युयुत्सु आरडी शर्माले अमेरिकाको न्युयोर्कको चर्चा आफनो अंग्रेजी कवितामा गर्नुभएको थियो ।

‘रामलखन, खै तेरो ढोका’ भन्दै सिमाना मिचिँदासमेत चुप बसेका शीर्ष नेताप्रति व्यङ्ग्य गर्दै कवि जे पापीले राष्ट्रियताको जर्गेनाका लागि सबै मिलेर लड्न आग्रह गर्नुभएको थियो । उपन्यासकार तथा गीतकार राजेन्द्र थापाले ‘पृथ्वीनारायण शाह र बिसे नगर्र्ची’को संवाद प्रस्तुत गर्दै मुलुक निर्माणमा दत्तचित्त भएर लाग्न राजनीतिक नेतृत्वलाई खबरदारी गर्नुभएको थियो ।
सो अवसरमा कविहरू अविकेशर ओली, उर्मिला पन्त पाण्डेय, श्याम रिमाल, रमेश लम्साल, तीर्थ भट्टराई (अङ्ग्रेजी कविता), पुण्य विश्वास, वैरागी जेठा, नवराज श्रेष्ठ, शम्पा उपाध्याय, हरिप्रसाद पाण्डेय, प्रमोद स्नेही, सुनिल पुरी, श्यामराज पाठक, प्रभाती किरण, अनुराधा थापा, सविना सिन्धु, भैरवी ढुङ्गाना, तिलस्मी प्रभाष, बेटी वज्राचार्य र गोविन्द वेदमणिले मुलुकको समसामयिक राजनीतिक अवस्था र शाहको योगदानका बारेमा आ–आफ्ना रचनाका माध्यमबाट चर्चा गर्नुभएको थियो । लक्ष्मी ऐडीले देउडा भाकामा सुदूरपश्चिम नेपालको आवाजलाई प्रस्तुत गर्नुभएको थियो ।

वरिष्ठ साहित्यकार रमेश खकुरेल तथा शैलेन्द्र साकारले राष्ट्रिय एकता दिवसको सन्दर्भमा आ–आफ्ना सिर्जनामार्फत राजनीतिक नेतृत्वलाई सचेत गराउनुभयो । नुवाकोटबाट गई हाल ताइवानमा रहेका कपिल अधिकारीले पठाएको ‘मेरो परिचय’शीर्षक कवितामा नेपालको परिचय दिलाउने शाहको स्मरण गरिएको थियो ।
कवि हरिमाया भेटवाल, विजय योञ्जन, मदन कार्की, मनोज न्यौपाने, थरेन्द्र बराल, भरत शर्मा, ओमवीर सिंह बस्न्यातले सिर्जनामार्फत राष्ट्रिय एकताका लागि प्रतिबद्ध भएर लाग्न सबैलाई आग्रह गर्नुभयो । अनन्या रिमाल, अनिश घिमिरेले मुलुकलाई साझा फूलबारीका रूपमा चित्रण गर्दै बाल कविता प्रस्तुत गर्नुभएको थियो ।

पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानका अध्यक्ष भरत बस्नेतले पूर्वजको सम्मान गर्नु भनेको आफ्नै सम्मान गर्नु हो भन्ने धारणा राख्नुभएको कार्यक्रममा प्रतिष्ठानका संयोजक रत्ननिधि शुक्राचार्यले कलात्मक लयमा राष्ट्रनिर्माताको स्मरण गर्नुभएको थियो ।

राष्ट्रनिर्माता शाहकै प्रतिकात्मक सभापतित्वमा सम्पन्न कार्यक्रममा गीत, गजल मात्रै होइन भm्याउरे भाकामा सर्जकले आफूलाई प्रस्तुत गरी रोमाञ्चक माहोल बनाउनुभएको थियो । यही पुस २७ गते पृथ्वीनारायण शाहको २९३औँ जन्मजयन्ती मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
राष्ट्रकविको सन्देश
कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेको शुभकामना सन्देश पनि वाचन गरेर सुनाइएको थियो । उहाँको सन्देशमा राष्ट्रनिर्माता पृथ्वीबाट नेपालीलाई एकसूत्रमा बाँध्ने र अखण्ड नेपाल सिर्जना गर्ने काम जो भयो, त्यसलाई पनि सयपत्री फूलकै उपमा दिन सकिने उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ ‘‘नेपालको अस्तित्व नै समाप्त हुन्छ कि भन्ने बेलामा पृथ्वीले अगाडि सरेर निर्माण गरेको नेपालको एकतालाई हामीले कहिल्यै बिर्सन हुन्न र अहिलेको नेपाललाई सङ्घात्मकतातिर लैजान लागेका अवस्थामा पनि नेपालको अखण्डतामा कुनै खतरा आउन नदिने किसिमले काम हुनुपर्छ ।’’

राष्ट्रकवि घिमिरेले ‘सयपत्री फूल कल्ले जमायो, आज मेरो हृदय रमायो’ भन्ने लोकगीतका दुई पङ्क्ति स्मरण गर्दै प्रतिष्ठानले विशेष कविगोष्ठी गर्न लागेकामा आफूलाई खुसी लागेको उल्लेख गर्नुभएको छ । रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x