साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वादे जिभ्रो अल्छे तिघ्रो

Nepal Telecom ad

“स्वादे जिभ्रो अल्छे तिघ्रो” जाँगरिलादेखि लिएर अल्छीसम्म र सत्तापक्षदेखि लिएर प्रतिपक्षसम्म हुन्छ । अन्तर्राष्ट्रिय भलादमीदेखि लिएर राष्ट्रिय आदमीसम्मको हुन्छ । यो नभए देशको अर्थतन्त्रदेखि लिएर प्रजातन्त्रमा पनि ठप्प बिर्को लाग्न सक्छ । सबैसँग भएको र सबैलाई थाहा भएको हुनाले सारसंक्षेपमा मन्थन गर्दैछु ।

कसैका शेषनागका झै“ हजार जिभ्रा र साँढेका झैं अल्छी तिघ्रा पनि हुनसक्छन् । कसैको विशेषता कसैसँग मिल्यो भन्दैमा एकले अर्कालाई हान्ने राँगाले झैं हेर्नैपर्छ पनि भन्ने छैन । जे भए पनि विशेषता त विशेषता नै हो । एक–अर्कामा मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ । पञ्चको पालाको राष्ट्रिय नेताको विशेषता र वर्तमानका राष्ट्रिय नेताको विशेषता पटक्कै नमिल्न पनि सक्छ । विमानस्थलको भन्सारको कर्मचारीको विशेषता र सीमाक्षेत्र बाहिरका भन्सारका कर्मचारीको विशेषता अब ¥याङ्को ठ्याङ मिल्छ । विचारै गर्नुस् न फुर्तीफार्ती, चालचलन, हाउ–भाउ, क¥याककुरुक उस्तै छ । जसरी वर्तमानका नेताको वार्ताबाट वार्ता मिल्छ । मिल्यो त मिल्यो, भाग्यले मिल्यो । अब रिसाएर के हुन्छ ? तर आफ्नो चाँहि भूतपूर्व जिभ्रो र तिघ्रो यथावतै छ ।

पक्ष र प्रतिपक्ष भए पनि स्वादे जिभ्रो र अल्छे तिघ्रोमा समानता छ, तर द्वन्द्वात्मक रूपमा । प्रतिपक्षले मरेर कर्तव्य पूरा गर्छ । सत्तापक्षले त्यसलाई सौताले सौतालाई झैं एकै गाँस बनाउँछ । मुख खाली भयो कि जिभ्रो बकबकाउन थालिहाल्छ । सत्तापक्ष हन्डर खाएर जोरजाम गर्छ, तर प्रतिपक्ष त्यसलाई स्वाहा पार्छ । प्रतिपक्ष केही गरेर नमूना बनेर नदेखाई भएन भनेर केही गरेर देखाउँछ । सत्तापक्ष त्यसलाई एकै गाँस बनाउँछ । जिभ्रोमा अलिकति नून तलमाथि हुनुहुँदैन, प्रतिपक्षको सारा गुण बिर्सिहाल्छ । जिभ्रोले ठिक्क मीठोबाहेक केही चाहँदैन, तर प्रतिपक्षले तीतो, नमीठो, टर्रो, हर्रो सब जिम्मा लगाइदिन्छ । “के खोज्छस् काना ? आँखो” भनेजस्तो जिभ्रो चौपट बटारिन थालिहाल्छ । भ्यागुते नेतादेखि लिएर साँढे नेता पनि डुक्रिने, टरटराउने, बरबराउने, कानै खाने गरी मार्नै लाने गरी चारै पाउ फ्याँकेर कुर्लिन्छन् ।

हुन त मेरो जिभ्रो र तिघ्रो पनि यही कोटिको हो । दुवै पक्ष र प्रतिपक्ष परे म निष्पक्ष । न घरको न घाटको, परेन फसाद अनि त याद आउँछ– समको कविताको “सहू सहू सहू बाबु, सहनै नसके पनि ।” कहिले तिघ्राले लछार्छ, कहिले जिभ्रोले पछार्छ । कहिले तिघ्रोले सपार्छ, त कहिले जिभ्रोले विगार्छ । कहिले जिभ्रोले स्वीकार्छ, तिघ्राले धिक्कार्छ । हैरान परेको छु । गालामा परेको खाल्डो कहिले नउक्सने भइसक्यो ।

रातदिनको झगडा, साँढेको जुधाई बाछाको मिचाई यस्तो हन्डर कसरी सहनु ? कति सहनु ? एक आपसमा मीत लगाएदेखि मीतको कुरा मीतले काट्ने प्रश्नै हुँदैनथ्यो । नत्रभने एउटाले गर्नु अर्काले हसुर्नु, अर्काले गर्नु भिन्नैले हसुर्नु । लुछालुछ, तानातान, एउटा छुसीले अर्काको खुट्टा समाएको छ, अर्काले एउटाको टुप्पी समाएको छ । राष्ट्रिय ताण्डव नृत्य । दुई–तीन दिन चक्काजाम हुन्छ तर तिघ्राजाम कहिल्यै हुँदैन । देश बन्द हुन्छ तर एक दिन पनि जिभ्रो बन्द हुँदैन । के जिभ्रो र तिघ्रो गर्भावस्थादेखि नै सक्रिय थिए ? यसको इतिहास कसले कोरलेर राखेको होला ?

समयको अविरल गतिसँगसँगै एक दिन जिउँदो इतिहास फेला प¥यो । जिउँदो इतिहास आफैं बोल्ने भएकाले कति वर्ष पहिलेको भन्न नपाउँदै इतिहास पड्क्यो– “छपन्न उसो, साठी यसोमा चल्दैछु ।” जिभ्रो र तिघ्राको बारेमा पक्कै केही जानेको हुनुपर्छ भन्ने ठानेर बुढियालाई प्रश्नको घोचो बजारियो– “जिभ्रो र तिघ्रोको बारेमा केही थाहा थियो कि “होइन के सोधेको ?”

जिउँदो इतिहास अगाडि बढ्यो– “हेर बाबु मैले उसबेलामा एक दर्जनभन्दा बढी भुराभुरी पैदा गरेको हुँ । त्यसमा कुनै सन्तान औपचारिक थिए त भलै कुनै सन्तान अनौपचारिक पनि छुट्याऊ । जेसुकै भयो, भयो ट¥यो । मेरा बा आमा त करोडभन्दा बढी छोराछोरी धर्तीमा ओराल्न सफल भए । तर एउटा अचम्मको कुरा, सन्तान दिनप्रतिदिन बढ्दैछन्, किन ? मेरा पुर्खाले जति जन्माए मैले त्यसको आधी जन्माएँ । मैले जति जन्माएँ मेरा छोराछोरीले त्यसको ठीक आधी जन्माए । अब हुने पुस्ताले पनि आधीको आधी जन्माउलान् अनि अन्तिममा जनसङ्या सङ्कटले जन्म लिने त होइन ? कही“ जनसङ्ख्या घटाउन राष्ट्रले राष्ट्रिय सङ्कटलाई अघि सारेको त होइन ?

इतिहासले भने– “पुर्खाको पालाको जिभ्रो र तिघ्रो आज–भोलिका जिभ्रो र तिघ्रोभन्दा भिन्न थिए । पहिलेका जिभ्रा त्यति मात्तिएका थिएनन् बरु तिघ्रा भने कम थिएनन् । हुन त, सासूको जिभ्राले बुहारीलाई सर्लक्कै खान्थे । राणाको पालामा जिभ्रालाई कारागारमा राखियो र तिघ्राकै फाँइफुट्टी चल्यो । एकसय चार वर्षसम्म यस्तो कुकार्य भयो । कुकार्य भनेको कुकुरले गर्नेजस्तो कार्य हो । पञ्चका पालामा आएर जिभ्रो एकदमै जाग्न थाल्यो । तर म त समयसापेक्ष भएर चल्नसक्थें । समयसापेक्ष भएर चल्न नसक्नेलाई “पर्नु पीर पर्यो, ज्यानलाई पर्नु पीर प¥यो” । साँच्चै भनू“भने मान्छे म जस्तो हुन सक्नुपर्छ रङ बदल्न सक्ने ।”

उसबेलाको हरियो परियोबाट बनेको गुन्द्रुकले अझै साँझ–बिहान धानेकै छ । तर आज–भोलि जिभ्रोस्फीति, तिघ्रोस्फीति, फेशनस्फीति, गुण्डागर्दीस्फीति, डाक्टरस्फीति, साहित्यकारस्फीति, नेतास्फीत, मुद्दास्फीति, जनतास्फीति, विदेशी आगमनमा स्फीति, शहीदस्फीति, गरीबस्फीति, सङ्कटस्फीति, गर्दा भन्दा मेरो बोली पनि स्फीति हुने हो कि ? इतिहासले सोधे अनि तिम्रो जागिर पनि छ ? लोग्नेमान्छेको जागिर र स्वास्नीमान्छेको उमेर नसोध्नु भन्ने कुरा जिउँदो इतिहासलाई थाहा थिएन क्यार ?
‘ऋषिमुनिका सन्तान सिसीमुनि’ सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x