साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहिदको सपना

Nepal Telecom ad

यो सहिद भन्ने शब्द नै शक्तिशाली रहेछ । त्यसैले सहिद शब्दकै सेरोफेरामा मेरो दिमागले घेरो हाल्यो । पूरै भाषाकै कुरा गरौँ भने म पढाइलेखाइमा उहिल्यै कलमी काटिएको पोथ्रो परेँ । तपाईंले भाषाको आशा गर्नुभयो भने खासा पछुताउनै पर्छ । भाषाको बोट भनाँै कि लगौँटी माथिको कोट भनौँ, कुरो सहिद नामको शक्तिशाली शब्दको हो । कुनै जमानामा त्यो एक शब्दले मान्छेको जिउ जोसले जिरिङ्ग हुन्थ्यो । तन, मन र आत्मा एकैचोटि छुन्थ्यो । छरिएकालाई एकै सूत्रमा उन्थ्यो र एकताको ताना बुन्थ्यो । सहिद शब्दको शक्तिले साँखेजुङको उकालोमा लखतरान परेका ढाक्रे बाका शारीरमा समेत परान थप्थ्यो । स्याबु्र बेँसीका घाँसी दाइका तालुमा शीतलता थप्थ्यो । हुरी हुर्हुराउँथ्यो, झर्ना झर्रझराउँथ्यो र जोसजाँगरले तन फर्फराउँथ्यो ।

तर आजकल शब्दको अर्थ उल्ट्या हो कि, समय कोल्टो पल्ट्या हो । यो ‘बोन्साई’ भएका दिमागले लाख कोसिस गर्दा पनि ठोस कुरा निस्किएन । यदि मान्छेको उचाइ नाप्ने कसी ‘बुद्धि’ हुँदो हो त आफू ग्याँचेमा दरिने शतप्रतिशत सत्य हो । आज एकाबिहानै मित्र मनरथ भन्दै थिए– “हिजो त गाडी नचलेर कस्तो सहिद भइयो बा ।” अस्ति असारमा बेँसी झर्या साइँला साहुको हली होमे भन्दै थियो– “आज त दार्मे गोरु दिनभर सुत्या सुत्यै गरेर सहिदै बनायो । “धनवीर साहुकाँबाट ब्याजमा धन लिएर धन कमाउन धाइफल ठोक्ने युवाजमात जाग्दै थियो– “मेनपावरले पैसा पोक्याएर न विदेश पठायो न पैसा फर्कायो, हामीलाई त सहिदै बनायो ।” यो सहिद शब्द जताततै अनेकादि लक्षित अर्थ लाग्ने गरी प्रयोग भएको पाइन्छ ।

उता सहराँ, नेताजी भोट जितेको खुसियालीमा मग्न छन् । गमक्क गम्कँदै, रङ्ग न ढङ्गसँग बम्कँदै अभिनन्दन गोष्ठी र भेटघाटमा व्यस्त छन् । जहाँ जान्छन् त्यहीँ भावविह्वल भएर बर्बराउँछन्– “सहिदको सपना साकार पार्नुछ ।” हुन त हो, तैपनि सोध्न मन लाग्छ । ए नेताजी लौ न बताइदिनोस् के सहिदले सपना मात्रै देखे ? यति औधि सपना देख्न त सहिदहरू सँधै कुम्भकर्णजस्तै सुत्नुपर्छ । के साँच्चै उनीहरू त्यसै गरी सधैँसधैँ सुतिरहे त ?

मलाई अझै याद छ, तिलबारीको तुम्बाले पाली छाउन आउँदा भन्या कुरो– “आम्मै कान्छी ! काँको हुनु नि, राति आउँथ्यो त्यो माइली र कुप्पी देउन बोजु भन्थ्यो । अनि खै केकेजाती पढेर लेख्तै पो गथ्र्यो । ब्यानै भाले बास्नु पाको छैन ऊ त लौलौ बाजेबोजु बस है भन्दै पो हिँडिहाल्थ्यो । बिचरा असल थ्यो, पछि त किन पो हो पापीहरूले त मारिपो हालेछन् ।”

ती, तुम्बाका कुरा सम्झेर म आँसु झारौँ कि ? उता नेताका सभाको सपना साकार पार्ने सारगर्भित भाषण सुनेर म मख्ख परौँँ ? हुन पनि सहराँ त सहिदलाई साँच्चिकै सहिद बनाएकै छन् । बाटाबाटामा माटाकै भए पनि मूर्ति ठिङ्गाइदिएकै छन् । आँधीहुरी, घामपानी, धुँवाधुलो, फोहोरमैला केहीको प्रवाह नगरी अहोरात्र सपना मात्र देखिरहन्छन् है सहिदहरू भनेर प्रमाणित गरेकै छन् । बर्सैपिच्छे सपना मात्र देख्ने सहिदको सम्मान गर्दै शालिकमा समावेशी हातहरूले फूलमालाका खात पहिर्याई सहिदको सपना सदासदाका निम्ति साकार पारिरहेकै छन् । त्यसैले त सहिद शब्द नै शक्तिशाली छ हैन त ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x