भानुभक्त
जब अत्याचार, अड्डामा देखे विद्रोह बिन्ती, पत्रमा लेखे चौतर्फी छ चर्चा, नगरौं भो कुरा हास्यव्यङ्ग्य लेख्ने, आँटिला र सुरा ।
हरिकला उप्रेती
श्रीकृष्ण बाजे, थिए अति जाती
बाजेका साथी, भानुभक्त नाति
तनहुँमा जन्मी, हुर्कि बढेका
देखे थे उनले, रामायण पढेका ।
वाल्मीकि विद्वान, दुनियाँ देख्ने
संस्कृत भाषामा, रामायण लेख्ने
न थ्यो पाठशाला, न थे गुरु चेला
संस्कृत जटिल, नेपाली थ्यो हेला ।
थियो यात्रा मात्र, पाठशाला त्यो बेला
घटना र पात्र, हुन्थे गुरु चेला
यात्रामै सज्जन, गुरु घाँसी भेटे
संवादमै मनका, जिज्ञासा मेटे ।
गरिब घाँसी, तर सोच धनी
जिउँदैमा सेवा, गरौं केही भनी
इच्छा गरेछन्, कुवा उन्ले खन्ने
कृति राखेर, अमर बन्ने ।
घाँसीले ज्ञान्को, भाका बोलिदिया
भानुको अन्धो, आँखा खोलिदिया
न त सेवाभाव, न त कृतिमानी
थुपार्दैमा धन, हुन्न कोही ज्ञानी ।
पहिलो गुरु बाजे, दोस्रो घाँसी दाजै
म नि बाँच्ने काम, केही गर्छु आजै
भनी रामायण, उन्ले उल्था गरे
अमर भानु नाम, इतिहासमा दरे ।
अनौठा र नौला, घटना जो देख्थे
यात्रा वृतान्त, कवितामै लेख्थे
कतै भेट्थे इष्ट, कतै दुष्ट दुर्जन
शव्दबाण छाड्दै, अघि बढ्थे झन्झन् ।
कतै घरबुढी त, कतै बहु दुष्ट
अपमान गर्थे, हुन्थे भानु रुष्ट
न थ्यो मानवता, न त शिक्षा दीक्षा
आक्रोशमै भानुले, लेखे बधुशिक्षा ।
जब अत्याचार, अड्डामा देखे
विद्रोह बिन्ती, पत्रमा लेखे
चौतर्फी छ चर्चा, नगरौं भो कुरा
हास्यव्यङ्ग्य लेख्ने, आँटिला र सुरा ।
थियो दूरदृष्टि, भविष्य त्यो देख्ने
भानु आदिकवि, रामायण लेख्ने
कवितामै गाए, कवितामै नाचे
राखे अमर कृति, युगौं युग बाँचे ।
०००
तेह्रथुम, हाल- भक्तपुर