सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बहुवाद जिन्दावाद

बिचरो ! हिन्दूले बीचमा पुगेर विष्णु पुकारेछ । जताततै बिथितिको बिजारोपण गर्ने पुरुष देवताको के भरोसा भन्दै भुइँमा झर्ने बेलामा “काली- काली” भन्दै कराएको त बिचरो, ठहरै भएछ । देवताहरू नै अन्यौलमा परे होला कुन चाहिँ आएर बचाउन बरा... !

Nepal Telecom ad

हरिकला उप्रेती :

‘तेत्तीसकोटी देवताले रक्खे गरून्’ हजुरबा हरबखत यही भन्थे । ‘कोटीकोटी देवताले बास गरेको हाम्रो देश स्वर्गभन्दा सुन्दर छ ।’ गोवर्धन गुरुले धुले स्कुलमा खुरुखुरु देवताकै बारेमा दत्तचित्त पार्दैथे । त्यो दिन छिनमाया फुपुको छोरो छोटेले पाठ बुझाउँदा तेत्तीस भन्ने ठाउँमा बत्तीस मात्र के भनेको थियो, गोवर्धन गुरुको गर्जन सुनियो । सुकेनासले चुसेका औँलाको पञ्जाछाप छोटेका पोक्चे गालामा छर्लङ्ग देखियो । विचरो छोटे रुँदै घर गएर फुपूलाई पोल लाएछ । फुपुले उल्टै पुन्युले उसैको पुर्पुरो सेकी दिइछन् । हाम्रा देवीदेवता घटाउने कुलक्षिना भनेर जोड रिसाइछन् । त्यसदिनदेखि अरू जेसुकै बिर्से पनि हाम्रा देवता तेत्तीसकोटी हुन् भन्ने कुरा कहिल्यै बिर्सिनँ ।

देवता तेत्तीसकोटी त छन्, तर यो तेत्तीसकोटी भनेको चाहिँ कति हो ? मेरो मनमा जिज्ञासाको जरो झन जौडे भएर गाडियो । सोधौँ भने त्यति पनि नजान्ने भनेर गोवर्धन गुरुले भकुर्लान् । नसोधौँ भने नानाभाँतीका कुतर्कले भतभती खती हुने गरी पोल्ने भो । बाउ घरका माउ हुन्, माउलाई नै सोधौँ न त हाउ, भनौँ भने सुनेकै भरमा न भनेका हुन् । विचरालाई बिथ्थामा के बिच्क्याउनु । आमा परिन् ज्ञानीमाया विद्वान् बाजेकी छोरी । छोरीले पढे पोइल जान्छन् भन्ने आत्मज्ञानी हजुरबाले आमालाई स्कुलै पठाएनन् । यत्रो गणितको गन्जागोल हिसाब उनका हविगतले भ्याउँदैन । त्यतिकैमा अलिअली गर्दै अग्लिँदै गइयो । अग्ला मान्छेले होचा कुरामा खोचे थापेर उचाइ होच्याउने कुरै आएन । त्यसैले मेरो कोटीज्ञान जान्ने जिज्ञासा कुमालकोटीको गुँड जस्तै गुडुल्कियो मनभित्रका बन्द कोठामा ।

अहिले भरखरै, एक नव भगवान् भक्तसँग भेट भयो । उनले शान्तिका लागि कोटीहोम गर्ने कुरो कोट्याए । मैले झट्ट सम्झेँ कोटी जान्ने मौका यसै चोटि हो। अलि जोक्कड पाराले भक्तलाई भनिहालेँ “हैन । यो कोटीहोम भनेको चाहिँ, कति चोटी होम गर्नु हो ?” उनले ज्ञानगङ्गा बगाउने मौका चुकाएनन्- “कोटी भनेको करोड हो बाबु । अहिलेका मान्छेलाई पहिलेका कुरा के चाहा । कोटी चोटी चामल, घ्यू, पैसा सबै स्वाहा पारे पछि संसारमा शान्ति नै शान्ति हुन्छ ।” उनी कोटीहोमतिर केन्द्रित पार्न कथ्य कुरा कन्दै थिए ।

म भने डुबिसकेकी थिएँ कोटीकै हिसाबमा चुर्लुम्म । भारतको लक्ष्मणपुर बाँधले नेपालको तराई डुबे झैँ । एकचोटिमा करोड हुने भए, नेपालको जनसङ्ख्या झण्डै अढाई कोटी छ । मेरीबास्सै । देवता चाहिँ तेत्तीसकोटी । यो त अति भो, किन चाहिए यत्रा औधी देवता ? एकजना बुद्धले सबै बुद्धधर्मीहरूको रक्खे गर्छन् । एउटै क्राइस्टले सबै क्रिस्चियनहरूको लालनपालन गर्न भ्याउँछन् । एउटै मुहम्मदले सारा मुस्लिमहरूको रेखदेख गर्न सक्छन् । हाम्रो यति सानो देशका, यति थोरै जनताको रक्खे गर्न चाहि तेत्तीसकोटी चाहिए । थुइक्क ! हाम्रो देशका चाहिँ देवता पनि कत्ति हुतिहारा । शक्ति भए पनि सहाराको हात पसार्ने । यत्रा औधी देवतै देवता भएका मुलुकमा किन अनिष्ट हुन्छ ? किन बाढी पैरो जान्छ ? किन सरकार, राजा र माओवादी चाहिन्छ ? किन मान्छे मान्छे मारामार गर्छन् ? एकजना मनुस्यलाई सोह्रैआना देवताले रक्खे गर्नु पर्ने हो । किन, देवतामा पनि एकता छैन ? कि सरकारी कर्मचारी जस्तो- “राजाको काम कैले जाला घाम” भनेझैँ आलटाल गरेर दिन बिताउँछन् । कि एक अर्को बीच ‘हानथाप’ गर्दा गर्दै प्रलय भएको पत्तै पाउँदैनन् ?

ओहो ! सोच्दा सोच्दै म त अर्कै दुनियाँमा पुगिसकेछु । त्यतिकैमा एकजना मित्र आएर के भो भन्दै झकझकाए । वृतान्त बताएपछि बन्द भएको बुद्धिको बिर्को खोलिदिए यसरी “एकचोटि विभिन्न धर्मभिरु बीचमा कसका देवता ठूला भन्ने होड चलेछ । आफ्नै देवता ठूला भन्ने प्रमाणित गर्न पालैपालो सबै चढेछन् धरहराको टुप्पो । “अल्ला ओ अकबर” भन्दै हामफालेको मुसलमानलाई उसका देवताले सहज अवतरण गराएछन् । त्यस्तै क्रिस्चियनलाई पनि एक मात्र क्राइस्टको कृपा परेछ । त्यसैगरी “जय भोले” भन्दै हामफालेको हिन्दूलाई भाङ खाएर भाँडभैलो गर्ने भोलेमाथि शङ्का लागेछ । बिचरो ! हिन्दूले बीचमा पुगेर विष्णु पुकारेछ । जताततै बिथितिको बिजारोपण गर्ने पुरुष देवताको के भरोसा भन्दै भुइँमा झर्ने बेलामा “काली- काली” भन्दै कराएको त बिचरो, ठहरै भएछ । देवताहरू नै अन्यौलमा परे होला कुन चाहिँ आएर बचाउन बरा… !

उनको कथाको अन्त्य त भयो तर मेरो मनमा भने कौतुहलको जन्म । कस्तो मोटो बुद्धि मित्रको, उनले किन बहुसङ्ख्यक भगवान् मात्र देखे । हामी बहुप्रेमी, व्यवस्था बहुदलीय, बहुजाति, बहुधर्मी, बहुभाषी, बहुभेषी, बहुनेता, बहुविचार आदि इत्यादि सबै बहु । अनि किन नहुन् त बहुदेवता ? हुँदाहुँदै सबैले फलाक्ने शान्ति र वार्ताको पनि बहु परिभाषा । जयहोस् बहुवादको ।

०००
गोर्खेलौरी (२०६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
हेल्मेट जात्रा

हेल्मेट जात्रा

हरिकला उप्रेती
ट्रम्पकाे टरटर

ट्रम्पकाे टरटर

शेषराज भट्टराई
कुर्सीरसायन

कुर्सीरसायन

इन्दिरा चापागाईं
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
आधा सत्य आधा भ्रम- १५

आधा सत्य आधा भ्रम-...

अर्जुन दाहाल (क)
वीभत्स भाष्य

वीभत्स भाष्य

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x