मुकुन्द आचार्यसर्वदलीय बैठक
‘प्रशासनलाई राजनीतिकरणबाट कसरी जोगाउने ?’ भन्ने विषयमा प्रजिअको कार्यालयमा जिल्लाको सर्वदलीय बैठक बस्ने निधो भयो । सर्वदलीय बैठक भा’हुनाले सबै प्रमुख दलका नेता वा प्रतिनिधि पुग्नु पनि आवश्यक थियो । यसका लागि सबै समयमै सूचित भैसकेका थिए ।
बैठकका लागि समयमै पुग्नेहरू आफ्ना मूर्खतामा मनमनै पछुतो गर्दै थिए । बल्ल बल्ल पार्टी प्रतिनिधिहरू ढल्किदै आउन थाले । मुखमा पान कोचेर ओठमा सिन्का च्याप्दै जताततै रंंगीन थुकले आधुनिक चित्रकलाको निर्माण गर्दै विभिन्न दलका प्रतिनिधिहरू सर्वदलीय बैठकमा शोभायमान हुन आइपुगे । त्यतिञ्जेल भ्यागुताको जोखाइ चल्दै थियो– नेपालको सरकार झैँ यौटा आउँछ अर्को जान्छ ।
संयोगले हो या हेपेर हो सत्तारूढ दलका प्रतिनिधि आइपुगेनन् । प्रजिअले उपस्थित भएकाहरूलाई एकै छिन अझैँ कुरौं भने । कुर्नेहरूको कन्सिरीको रौँ रन्कन थालेको थियो ।
एकजना विपक्षी दलका नेताले भने किन पर्खिरहनु प¥यो ? सत्तारूढ दलको प्रतिनिधित्व त प्रमुख जिल्ला अधिकारीज्यूले गर्दा त भैहाल्छ नि ! जुन दलको गृहमन्त्री उसै दलका प्रजिअ र प्रहरी उपरीक्षक हुन्छन् भन्ने कुरो सबैलाई थाहै छ । कानुनको रक्षा गर्नुभन्दा आफ्नो कुर्सीको रक्षा गर्नु राम्रो !
प्रजिअ र प्रहरी उपरीक्षकले रुञ्चे र बाँकी सबैले उन्मुक्त हाँसो हाँसे । सर्वदलीय बैठक नभन्दै सत्तारुढ दलको प्रतिनिधित्व नभए पनि सकुशल सम्पन्न भयो ।
थानकोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































