मुकुन्द आचार्यपट्ठो बन्ने रहरमा
यसो अलिकति फेसन गरेर पट्ठो बनूँ भनेको पनि भगवान्ले देखिसहेनन् । मजस्तो पट्ठासँग त्यस्तो ठट्टा गर्ने हो त भगवान्ले ? अब कसरी उमेर घटाउनु ? यौटा प्यारोडी बनाएँ- 'काठमाडौं सहर, पट्ठो बन्ने रहर; झन्डै बेइज्जत भा'को हजुर ।'

मुकुन्द आचार्य :
मीठो खाने, राम्रो लाउने रहर कुन अभागीलाई नहोला ? म मात्र यस नियममा नअटाएर अर्घेलो किन हुनु ? अर्थात् गाँठी कुराको घाँटी समाएर भन्ने हो भने लाटी पनि फोरेनको साडी लाएर टाठीबाठी देखिन खोज्छे ।
म परें अधबेस्रो । तपाईं पाखे या काँठे हुनुहुन्छ भने मलाई हलबेर्नो पनि भन्न सक्नुहुन्छ । हैन भने अलिकति पढेर आफूलाई सुसंस्कृत ठान्नुहुन्छ भने मलाई त्रिशङ्कु भने पनि कतै उजुरबाजुर गर्नेछैन । तपाई नै भन्नुस्, म यो अधबैंसे उमेरमा फेसन गरेर लुगामा चार्ली छरेर हिँडूँ त ? लाज मर्नु गाँठ ।
मेरो शान्त जीवनमा फेसनको कोलम्बियन ज्वालामुखी फुटाउने कुनै पतरको कालो परेको भए कठालोमा समाउन हुन्थ्यो, पर्यो आफ्नै सालो । भाइटीकामा दिदीको पेबाको दुसी छुटाउन आएको थियो त्यो छुसी । मलाई भन्छ-‘क्यान हो, हाम्रो भेना त चालीसमा टेक्दा साठी वर्षको देखिएको ? आ…… अलि दामीदामी लुगा नामीनामी दर्जीसँग सिउन लाए पो पाँच-दस वर्ष उमेर घट्छ; जीउबाट बुढ्यौलीको छाया हट्छ ।’
एक मन त लाग्यो सालाको गालामा दनक दिऊँ, तर उमेरदार भइसकेको सालोलाई चड्काएर श्रीमतीको उसै त कालो अनुहार, फन् किन ध्वाँसो पार्नु ।
तर मेरो मनमा भने पट्ठो बन्ने रहर बहुतै नराम्ररी पलायो । यसो घोसेमुन्टो लाएर घनघोरसँग घोरिएँ। फेसनको हुरी एक सय असी माइल प्रतिघण्टाको हिसाबले चलेको यस नौलो युगमा फुत्रेझाम्रे भएर किन ज्याउरे देखिनु, भन्ठानें । दुई-तीन दिनको आन्तरिक समुद्रमन्थनबाट यो निष्कर्षरूपी मदिरा निस्क्यो ।
फेसन गरेर आफ्नो डाँडामाथिको जूनजस्तो उमेरलाई पुर्नेको जूनजस्तो फिलीमिली पार्नु भनेको उपत्यकाबाहिरको कुनै साहित्यकारले कुनै साहित्यिक राष्ट्रिय पुरस्कार पाउनुजत्तिकै गाह्रो कुरा हो ।
पहिले यौटा परिचित सेठजीको व्यापारिक खोर (पसल) मा पसें । नेपाली मुद्रा ओरालो लागेको हुनाले सेठजी त उकालो लागेका थिए- लखपतिबाट आन्तरिक बढुवा भएर करोडपति भएका रैछन् । अर्थानन्द (धनको आनन्द, जो ब्रह्मानन्दको सहोदर भाइ हो) ले गर्दा सेठजी आफ्नै भुँडीलाई तबला बनाई ‘मन डोले तेरा तन डोले’ को धुन सुसेल्दै थिए ।
सधैं साधारण र सस्तो लुगा माग्ने मान्छेले राम्रो खालको लुगा माग्दा त सेठजीको अनुहारमा हजार वाटको चिम बल्यो । कुनै गरिब छात्रले सोर्सफोर्स नभिडाएरै कोलम्बो प्लान पाएजस्तै भयो, हाम्रो सेठजीलाई ! सेठजीका आँखामा व्यापारिक हिंस्रक चमक देख्दा मेरो शरीर र गोजी दुवै सिरिङ्ग भए ।
हातमा लुगाको पोको लिएर, मनमा पट्ठो बन्ने धोको लिएर पसलबाट बाहिरिँदा त महिनादिन अस्पताल बसेर निस्केको रोगीऊँ मलाई चिटचिट पसिना चल्यो । खुट्टाहरूले त ‘हामी तपाईंलाई थाम्न सक्दैनौं’ भनी टोकन स्ट्राइक (Token Strike) गरे । महिनाभरिको बजेट पट्ठो बन्ने रहरमा एकैछिनमा ज्वाम्म हुँदा त मेरो मन च्याउरिएर मरीचजस्तै भयो । गृहमन्त्रालयको बजेट हिनामिना गरेबापत
श्रीमतीको चण्डी रूपको सम्झनाले त्यस ठन्डीमा, कपडाको मन्डीमा, मलाई शिष्टा लागेर चारैतिर रातो, पहेलो फन्डी पो देखिन थाल्यो । पसलकै फलामे डन्डी समाएर एकछिन उभिएँ ।
बल्लबल्ल मुटु दह्राे पारेर दर्जीको शरणमा पुगें । टाइट फिटिङको लागि उसलाई टाइट गरें । अङ्गप्रत्यङ्ग नपाएँ । उसले पनि पट्ठाे हुने मेरो मनसाय बुझेर भन्याे- “ढन्डा मान्नु पर्दैन । मेरो सिलाइ यटि राम्रो हुन्छ…. ढरोढर्म । अब टपाईंसँग के लुकाउनु। कटि थिताथिती मैकहाँको लुगा लाएर हिरो-हिरोइन बन्न बम्बईटिर भागे”, उसको आत्मप्रशंसाले मलाई लाज लाग्यो । तैपनि आफूलाई त पट्ठाे बन्नु थियो, उसको लाज मैले पचाएँ ।
चार दिनपछि फैसनेबुल ड्रेस लगाउँदा त म पनि दुरुस्त फिल्मी गुन्डोजस्तो पो देखिएँ। लुगा त जीउमा छालाझैं टाँसियो । लुगा खोल्दा र हुल्दा त मेरो राम्रो कसरत हुन्थ्यो । उमेरको डिमोसन भएर चालीसबाट स्वाट्टै पच्चीसमा झरेजस्तै भ्रम पनि मलाई भयो
बर्मै गए पनि कर्मले छाड्दैन भन्छन् । जतिसुकै फेसन गरे पनि पेटले मान्दो रहेनछ । एक दिन म पनि झाेला झुन्ड्याएर बजारको घुइँचोमा घच्चा खाँदै घुम्न थालें । घरको नोकर पर्वबिदा लिएर आफ्नी मायालुलाई भेट्न गाको थियो ।
एक ठाउँमा काउलीको डङ्गुर थियो । क्रेता र विक्रेता दुवै थरी आआफ्नो डम्फु बजाउँदै थिए । महँगीले सिद्ध योगीझैं सगरमाथामै कुटी बनाएर बसेको बेलामा पनि नेपालीको क्रयशक्ति देखेर, देशको निकै आर्थिक विकास भएछ भन्ठानेर म भित्रभित्रै मस्त थिएँ । कति साग मात्र खाएर गरिबीको रेखामुनि बाँच्नु भन्ठानेर बुर्लुक्क उफ्रेर गरिबीको रेखामाथि पुगें र काउलीको यौटा राम्रो थुँगा नियालेर हेर्न घुँडा धसें । पेन्टको पछिल्तिरको ढोका चर्र आवाज गर्दै जासुसी फिलिमको ढोकाजस्तै खुल्यो । घुस लिंदालिंदै विशेष प्रहरीद्वारा समातिएको कर्मचारीझैं म त कालोनीलो भएँ । तुरुन्तै तरकारीको झोलाले इज्जतको ढोका थुनें । अर्को हातले पेट थिचेर पेट दुखेजस्तो निहुँ गरें । मेरो दुःखी मुद्रा देखेर पसलेले आफ्नो उम्कन लागेको मुद्रा सम्झेछ, सोध्यो- ‘हैन, बाज्यालाई आज्या के भो ? तरकारी नकिनी जान्छया नि !’
मैले रुन्चे स्वरमा उसलाई झपारें- ‘अँ… तँ… बजियालाई यो सात दिनको बासी तरकारी टुकुचामा धोएर ताजा पारेर बेच्नु छ । तेरै तरकारी खाएर मेरो पेट दुखेको हो क्यारे । पेट दुखेर मर्न आटियो अँ ।’ यति भनेर म लुसुक्क लस्कें । खोइ के सम्झेर हो, पसलेलगायत सबै गल्ल हाँसे !
हान्निदै ‘ट’ लाई ‘त’ र ‘त’ लाई ‘ट’ भनेर नेपाली वर्णमालासँग बलात्कार गर्ने उही दर्जीको पसलमा पसें । दर्जीलाई आफ्नो मजीअनुसार हकारें-‘क्या हो यस्तो चाला ! मैले सिएको लुगा लगाएर हिरो-हिरोइन हुन बम्बई भाग्छन् रे। यी… पेन्ट उध्रेर कस्तो लाज मर्नु पार्यो आफूलाई । यै हो तिम्रो फिल्मी सिलाइ ?’
दर्जीले महाकाव्यको धीरोदात्त नायकझैं अथवा नेपाली तस्करझैं रौं मात्र पनि नडराई नहडबडाई भन्यो- ‘बाजे, यो ट आधुनिक फेसनको पेन्त हो, यो भिरेपछि भरियाजस्तो उठबस गर्नु हुन्न । भिदिओ हेर्न सुकुलाँ बसेझैं पल्ठी मारेर बस्नु हुन्न, बुझ्नुभो ? खै, खै, ल्याउनोस् ट, अैल्यै सिडिन्छु !’
आधुनिक लुगा लाउन नजानेको भन्ठानेर म लाजले भुतुक्क भएँ । लज्जामिश्रित रुन्चे हाँसोसहित मैले पेन्ट फुकाएर दर्जीलाई दिँदै भनें- ‘यसो… क्यै बेर्नुपर्ने ।’ दर्जीले यौटा नयाँ साडी दिँदै भन्यो- ‘एकैछिन ट हो नि । यै बेरेर बस्नोस् न ।’ मैले पनि एकछिनमा के पो भइहाल्ला र । भन्ठानेर त्यै साडीले इज्जत जोगाएँ । दर्जी मेरै काममा मग्न भयो ।
यत्तिकैमा एउटी भद्र महिला तरकारीको झोला झुन्डयाउँदै त्यहाँ टुप्लुक्क देखा परिन् । दर्जीलाई कडा स्वरमा सोध्दी भइन् – ‘मेरो साडीमा फल्स हालियो कि हालिएन ?’ मचाहिँ स्थितिको गम्भीरता बुझेर चोरझैं दर्जीको बडेमानको टेवुललाई ढाल बनाएर बसें ।
दर्जीले ती महिलालाई टार्ने र स्थितिलाई सामान्य पार्ने सक्दो प्रयास गर्यो- ‘बजारसजार गरेर पाल्नोस् न, म हजुरको साडी तक्य्राउँछु ।’ मैले मनमनै महाभारतकी द्रौपदीलाई सम्झें । ती बिचरीलाई कत्रो बित्याँस पऱ्याथ्यो होला, सभामा साडी तानिँदा । अरू बेला नास्तिक भए पनि हाललाई आस्तिक भएर थालें सम्झेजति देवीदेउतालाई गुहार्न- ‘मलाई पनि यो चीरहरणबाट बचाऊ प्रभो ।’
भगवान् पनि कहिलेकाहीँ ठट्टा गर्ने मुडमा हुन्छन् जस्तो लाग्छ । ती भद्र महिला त एकछिनमै अभद्र भएर फर्कंदै र फतफताउँदै साडी खोज्न मै भएतिर आइन् । आफ्नो जेजति भएको मगजले भेटेसम्म दर्जीले मलाई चीरहरणबाट जोगाउने निकै प्रयास गर्यो । तर ‘ओरालो लागेको सिंहलाई मिर्गले पनि खेद्छ’ भनेको ठीकै रे’ छ ।
आफ्नो साडी कहाँकहाँको लठुवाले अनधिकार प्रयोग गरेको देख्दा ती महिला महाकाली भइन् । भएभरिका लाज काजमा खटिएर मेरै शरीरमा आए । पृथ्वी चरक्क चर्केर, पाताल प्रवेश गर्न पाए पनि हुन्थ्यो, भन्ठानें । तर पक्षपातिनी बूढी पृथ्वी पनि त अचेलका हाकिमजस्तै हुन् नि । आफ्नी छोरी सीतालाई विपद पर्दा चाहिँ आफैं प्रकट भइन्, अरू भर्सेलै परून् ।
ती महिला सप्तम स्वरमा चिच्च्याउन थालिन्- ‘कस्तो लबस्तरो बूढो ए…। अर्काको साडी भिरेर कसरी बस्न सकेको, बीचबजारमा लाज नभएको नकच्चरो । हाम्रो श्रीमान्ले फोरेनबाट आउँदा भन्सार छलेर कत्रो जुक्तिले ल्याइसिया थियो, अठ्ठाइस सयको साडी ।’
यति भनेर उनी त साडी पो थुत्न थालिन् । मैले कति सम्झाएँ- ‘ए … ।
मैले भित्र अन्डरवेयर लाएको छैन । साडी नतान्नुस् ।’ तर उनी किन मान्थिन् र । अठ्ठाइस सयको साडी बिग्रन लाग्यो भनेर होला उनले बेसरी तानिन् । हामी दुवैको ‘टक अफ वार’ सुरु भयो, मलाई इज्जत जोगाउनु थियो, उनलाई साडी । लुछाचुँडीमा साडी त धर्र… चर्र… गर्दै च्यातियो । ‘तैं मोराले मेरो अठ्ठाइस सयको साडी तिर्नुपर्छ ।’ भनेर फतफताउँदै ती रणचण्डी हुरीझैं हुरिंदै हावामा हराइन् ।
त्यस दिनपछि मैले र दर्जीले कैयौं पटक औपचारिक र अनौपचारिक बैठक गर्याैं । तर ती महिलाले कसलाई मोरो भनेको र कसले साडीको पैसा तिर्नुपर्ने हो, हामीले निर्णय गर्न सकेनौं । यसो अलिकति फेसन गरेर पट्ठो बनूँ भनेको पनि भगवान्ले देखिसहेनन् । मजस्तो पट्ठासँग त्यस्तो ठट्टा गर्ने हो त भगवान्ले ? अब कसरी उमेर घटाउनु ? यौटा प्यारोडी बनाएँ- ‘काठमाडौं सहर, पट्ठो बन्ने रहर;
झन्डै बेइज्जत भा’को हजुर ।’
०००
पट्ठो बन्ने रहरमा (२०४६)
Subscribe
Login
0 Comments
Oldest







































