साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो छोरो मास्टर बन्दैन !

'हैन, मास्टरीबाहेक अरू धरैजसो पेसामा यो चारै फलको प्राप्ति भएर पनि यौटा अर्को पाँचौं फल पनि प्राप्त हुन्छ । त्यो हो- सामाजिक धाक र रबाफ । सरकारी कर्मचारी भएपछि कालले पनि छुने आँट गर्दैन बाबै ।'

Nepal Telecom ad

मुकुन्द आचार्य :

एक दिन आफ्नो परिवारमा मित्रता र स्नेहको ठूलो खडेरी परेको देखेर म लागें एक जना मित्रकहाँ, सके खाजा, नभए उपखाजा (चियासिया) सम्म त कसो नपाइएला, भन्ठानें ! मित्रको खाजा र चिया खर्च हुने, आफ्नो चाहिँ मित्रता र स‌द्भावनाको गाँठो निःशुल्क बलियो हुने ।

मित्रवरको घर पुग्दा त मित्र तथा मित्राणी (मित्रकी पत्नी) दुवै घाइते भएर लडेको देखें । पच्चीस प्रतिशत आश्चर्य र पचहत्तर प्रतिशत शोक मिसाएर शोकाकुल स्वरमा हालखबर सोध्न थालें । हृदय शुष्क भए पनि आँखा रसिलो पारें ।

मित्राणी दोजिया थिइन् । उनलाई भित्र पीडा भएजस्तो बुझियो । सोधे– ‘कुनचाहिँ छिमेकीसँग झगडा पर्यो ? तिमीहरू पठित दम्पती हौ, तिम्रा छिमेकीहरू सबै मूर्ख र अशिक्षित छन् । यस्तो ठाउँमा बस्नै नहुने । गुहुलाई चलाएर गन्ध ।’

मित्रले भने- ‘छिमेकीहरू त सबै मिजासिला र सहयोगी छन् । उनीहरूसँग किन झगडा हुन्थ्यो ।’

मैले लख काटें- ‘ए । त्यसो भए छुट्टिएका तिम्रा आफ्नै आन्द्रा छिनेका दाजुभाइसँग त परेन ? ज्यादै मापाका छन् है, तिम्रा दाजुभाइ । तिमीलाई निर्धा र सोझो देखेर हेप्छन् । कुन दिन मसँग पर्छ । तिनीहरूको ।’

मित्राणीको बेथा बढेजस्तो लाग्यो । ठसठसी कन्दै भनिन्- ‘दाजुभाइहरू त देउता छन् हजुर देउता । राम, लछुमन, भरतजस्ता छन् ! कहाँ पाउनु त्यस्ता मनकारी दाजुभाइ ।’

मेरो लखले आलु खायो । मनमनै लजाएर मैले फेरि विचार गरें । मेरो मनले कोही नपाएर मैलाई प्रश्न गर्यो- ‘आजको युगमा छरछिमेकी र दाजुभाइबाहेक अर्को ठूलो शत्रु को हुन सक्ला र ?’

फेरि अँध्यारोमा छामछामछुमछुम गरें- ‘कतै दुर्घटना त भएन ?’ मित्रले मेरो शङ्का समाधान गरे- ‘हामी थोत्रो साइकलमा चुइँचुइँ गरेर गुडनेको के दुर्घटना हुन्थ्यो र गो. प. मा नाउँ छापिन्थ्यो । त्यस्तो भाग्य कहाँ पाउनु । पछिल्तिर प्रेमिका अथवा पत्नीलाई राखेर वेजोडसित हुइँकिने मोटरसाइकलको पो दुर्घटना हुन्छ । छेउमा बसेकी कुनै सुन्दरीका अङ्गसँग खेल्ने राम्रो ढङ्ग नपुगेका कारचालकको पो दुर्घटना हुन्छ । अथवा ठूलठूला तस्करहरूको पो पुष्पक विमानमा दुर्घटना हुन्छ ! हामीलाई मर्ने ढङ्ग पनि छैन ।’

मेरो मनको झर्कोले मेरो स्वरलाई चर्को पायो- ‘अनि कसरी जिउँदो वीरगति पायौ त ? यसो पनि हैन भन्छौ उसो पनि हैन भन्छौ ।’

मित्राणीले असाध्यै लाज मान्दै फुकाइन्- रहस्यको गाँठो- ‘दस दिनदेखि कसैसँग डैझगडा पर्दै परेन, ज्यादै खल्लो र नरमाइलो लागेर दिन बिताउन गाह्राे पर्यो । त्यसैले हामी पतिपत्नीले आआफै मिलेर झगडा गर्याैं । झगडा र कुटपिट गरिसकेपछि बल्लबल्ल जीउ हलुको भयो ।’

यसरी आफ्नो हातखुट्टा भाँचेर भए पनि आआफैं झगडा गरेर भए पनि नेपालका अशान्त नागरिकहरूले नेपाली संस्कृतिलाई जगेर्ना गरेको देख्दा त्यस मित्रदम्पतीको आरती गरेर चरणामृत पान गर्ने मलाई सदिच्छा भयो ।

सोधें – ‘झगडाको श्रीगणेश कसरी भयो त ?’ मित्रले सम्झाए- ‘हेर न ? त्यो भन्छे छोरालाई मास्टर बनाउने रे । पैसा खेलाउन कहिल्यै नपाइने, समाजले पनि ‘माडसाहेब’ भनेर गिल्ला गर्ने । फेरि प्रधानमन्त्री र शिक्षामन्त्री जतिसुकै फेरिए पनि कुरो उही हो । घुमीफिरी रुम्जाटार । शिक्षक सधैं सौतेनी आमाको सन्तानकै प्रशासनको आँखी भइरहने । यो लाटी भन्छे छोरालाई मास्टर बनाउँछु ।’

मित्राणी कोल्टे फर्केर कराउन थालिन्- ‘हेर्नुस् त, रामबहादुरका छोरा घामबहादुरले ट्युसन पढाएरै तीनतले घर बनाए । जामसिंह खड्‌काका ज्वाइँ ठामसिंहले ट्युसनकै बलमा नाम र दाम निकै बटुले । धनी भएपछि समाजले त्यसै पनि आदर गर्छ ।’

‘योग्यता नभए पनि सामाजिक संस्थाहरूमा अध्यक्ष हुन पाइन्छ । धन भयो भने सबको मन जित्न सकिन्छ ।’

म त बिहानीपखको लाटोकोसेरो कुनै बेला मित्र (दिन) र कुनै बेला मित्राणी (रात) लाई हेर्न थालें । दुवै मभन्दा निकै जान्ने बुझिए ।

मेरा मित्र मेरा सामु पत्नीसँग हार मान्न तयार थिएनन्- ‘डाक्टर, इन्जिनियर, डी. एफ्. ओ., भन्सार अथवा करको हाकिम पो बनाउनुपर्छ छोरालाई । बुझ्नुसुझ्नु छैन, छोराका सन्तान दरसन्तानलाई हरिकङ्गाल बनाउन मोस्टर बनाउँछु पो भन्छे, गोजेङ्ग्री !’

मित्राणीको अहम फेरि बिउँज्यो- ‘भ्रष्टाचारको डर हुन्छ नि, अरू काममा ।’

पत्नीको मुख्र्याइँमा मित्रले उन्मुक्त हाँसो हाँसे- ‘के भनेर भ्रष्टाचारको डर हुन्छ । आफूभन्दा माथिल्लो भ्रष्ट नभए पो तल्लोलाई डर । मह काढ्नेले हात चाट्छ भन्दैमा सबै आफैंले कुम्ल्याउने हो त, लाटी । अचेल त मह काढ्नुपर्छ, महजति आफूलाई राखेर हातचाहिँ अरूलाई चाट्न दिनुपर्छ ! नत्र हातमा वि. प्र. रूपी झिंगा बस्छन् । त्यो पनि मह काढेको अरूले थाहा पायो भने मात्रै नि । हैन भने, मह र हात दुवै आफ्नै ।’

मैले मित्रधर्मको पालना गर्दै मित्रकै पक्षमा तर्क तेर्स्याएँ- ‘मास्टरीमा विषय राम्रो पर्यो भने, हेडमास्टर र सञ्चालक समितिका छट्टु स्यालहरूलाई बेलाबेलामा पिण्डदान गर्यो भने मात्र, दुई-चार पैसा आउला रे । तर अन्य विभागमा त दामको दाम नामको नाम । जागिरे छउन्जेल हाकिम, भ्रष्टाचारमा परिहालियो भने जागिरे छँदा कमाएको पुँजीले सहरको नामी साहूजी । बेलामा माल कमाए पो पछि कमाल गर्न पाइन्छ ।’

मित्रले मलाई भने- ‘आखिर तिमीले सच्चा मित्रको कर्तव्य पालना गर्यै । यस्तो सङ्कटको घडीमा (पत्नीसँग कुरामा हार्नुलाई मेरा मित्र ठूलो सङ्कट मान्दछन्) सङ्कटमोचन हनुमान्‌ झैं मलाई बचायौ ।’

मित्रले मुखमै प्रशंसा गरेकाले मेरो मुख लाजले रातो भयो । लाज पचाउँदै भनें- ‘आजको युगमा मित्रले मित्रलाई दिने कुरो सल्लाहै त हो नि, अर्थोक त त्यस्तै हो ।’

मित्राणी बहस गर्ने मुडमा थिइन्- शिक्षक भएपछि विद्यादान गरेर धर्म हुने, ट्युसनबाट अर्थ हुने, अर्थ भएपछि सबै काम सजिलैसित चल्ने, अनि सांसारिक झन्झटबाट मुक्ति पाइने । धर्म, अर्थ, काम, मोक्ष पुरुषार्थ-चतुष्टयको सहज प्राप्ति ।’ उनले विद्वतापूर्ण हाँसो हाँसिन् ।

मित्रको पालो आयो- ‘हैन, मास्टरीबाहेक अरू धरैजसो पेसामा यो चारै फलको प्राप्ति भएर पनि यौटा अर्को पाँचौं फल पनि प्राप्त हुन्छ । त्यो हो- सामाजिक धाक र रबाफ । सरकारी कर्मचारी भएपछि कालले पनि छुने आँट गर्दैन बाबै ।’

मैले पनि त्यसै मुन्टो हल्लाइदिएँ, अचेलका चम्चाझैं । चियासियाको कतै कुनै चियोचर्चा नसुनेर ‘अब अबेर भो, फेरि भेटौला नि ।’ भन्दै त्यहाँबाट उम्कें ।

दुई महिनापछि थाहा पाइयो- ती मित्रवर र मित्राणीको संयुक्त योजनाले छोरी मोरी पो जन्मिछ । आखिर नेपाली योजना न ठहरियो ।

०००
पट्ठाे बन्ने रहरमा (२०४६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
प्रश्न सोझा ! उत्तर बाउँठा !! (२)

प्रश्न सोझा ! उत्तर...

मुकुन्द आचार्य
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x