साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खानोस्

Nepal Telecom ad

बाँच्नको निम्ति खानुपर्छ, खानको निम्ति सङ्घर्ष गर्नुपर्छ, नत्र त अस्तित्वमा पूर्णविराम लाइहाल्छ, सुटुक्क यमराज आइहाल्छ ! दुनियाँमा जहिले पनि चिप्ले चाप्लेहरूले शक्तिको वरिपरी भक्ति खडा गरेर खाने भए, सोझा साधाहरू त मर्ने भए भनेर तर्क गर्ने मान्छेहरूको पनि ओइरो छ । खान पाउने र खान नपाउनेहरूको पनि सधै सङ्घर्षको धोइरो छ । आखिरमा जन्मेपछि थरीथरीका परीकार खानैपर्छ । त्यो मुखले मात्र खानु पर्छ भन्ने छैन ।

ससारको रीत पनि गजबकै छ । सानो बच्चा हुँदा हिलो पनि खाइयो, धुलो पनि खाइयो, आची पनि खाइयो, साजी पनि खाइयो, बासी पनि खाइयो, त्यासी पनि खाइयो, कीरा पनि खाइयो, काँटी पनि खाइयो, खन्चुवा मुखले जे भेटायो, त्यही हसुर्यो, कोच्यो, निल्यो । अलि ठूलो भइयो, कति पटक बा,आमाको झापट खाइयो, भोकले कुहेको पापड पनि खाइयो, माडसाबको बात खाइयो, लात खाइयो, कतिपटक सराप खाइयो, जब छिप्पिन थालियो यसो उसो गर्छु भनेर शपथ खाइयो, कतिको जफत गरेर खाइयो, कतिको साथ खाइयो, कहिलेकाँही जोश जाँगरले रात खाइयो, बेला न कुबेला जात पनि खाइयो, अझ मात चढ्न थाल्यो, काशीको यात्रा कुतीको बाटो ताक्न थालेपछि कति पटक पुल्टुङबाजीको घात खाइयो । यो मुखलाई थरीथरीका परीकारले सत्कार गरे पनि मान्छेले लल्कार्न कहिले छोडेन । अहिलेसम्म हजारौँ हजार कुइन्टल खाँदा खेरी पनि चाउरिएको गाला र दाउरिएको शरीरले दिनहँु दनादन दनक खाएकै छ । हरेक दिन रोगीले जस्तो चार चोटी खाइरहन्छु भन्नु पनि बडो लाजमर्दो छ ।

अहिलेसम्म खाको हिसाव गर्ने हो भने गाला यम्मानको भलिवल जत्रो पुक्क र भुक्कको हुनु पर्ने हो, नाक हात्तिको सुँड जत्रो बटारिनु पर्ने हो, शरीर पनि वृक्ष जस्तो हलक्क र जुरुक्क बढनु पर्ने हो, सतिसाल जस्तो अटल र अचल हुनुपर्ने हो, बाँसको बुटालाई निमोठ्दै र उखेल्दै फाल्दै तागत हुनुपर्ने, इजिप्टको पीरामिड जस्तै बनाउन सक्ने शक्ति हुनुपर्ने, तर यहाँ त काउलीको बुटा उखेल्दा पनि हात मर्याक र ढाड कर्याक हुन थाल्छ । घिऊ न तेल कुराका सेल भने जस्तो घरी, घरी बाह्र थरीका पाका न काँचा खानै नचाहने चीज पनि खानैपर्छ । तर कसले कति खेर के खान्छ, त्यो पत्तै हुँदैन । जस्तो कि आज मजाले हीङ खानेले भोलि त कुहिएको सीङ खाइरा हुन्छ, हिजो सत्ता खानेहरूले आज लात्ता खाइरा हुन्छन्, हिजो लात्ता खानेहरूले आज सत्ता खाइरा हुन्छन्, हिजो लोक्ताा खानेहरूले आज भत्ता खाइरा हुन्छन् । हिजो मस्तले धक्कू लगाएर चौरासी ब्यन्जन खानेहरूले आज भक्कू चुटाई खाइरा हुन्छन् । खानाको परिकार हेर्नोस् न, कहाँको चौरासी ब्यन्जन, कहाँको चुटाइ ! आखिर खान त दुबैले खाएकै हो नि, होइन र ? अझै हेर्नोस् न, एउटाले मसलादार ल्वाङ, सुकमेल, टिमुर खान्छ त अर्कोले अकालमा डिम्मुर खान्छ, कस्तो ख्वाई ? त्यस्तै एउटाले गरिखान्छ, अर्कोले मरी खान्छ, एउटाले कर्म गरिखान्छ, अर्कोले धर्म बेची खान्छ । एउटाले अण्डा खान्छ, अर्कोले डण्डा खान्छ । एउटाले जागिर खान्छ, अर्कोले धिक्कार खान्छ, एउटाले कुरा खान्छ, अर्कोले छुरा खान्छ, नेपाली भिन्न परिकार !

हेदै जानुस् एउटाले घाम खान्छ, अर्कोले माम् खान्छ । एउटाले मरिमेटी कमाई खान्छ, अर्कोले पुच्छर समाइ, समाई खान्छ, एउटाले अपुताली खान्छ, अर्कोले मज्जाले गाली खान्छ, एउटाले ससार खान्छ, अर्कोले हार खान्छ, एउटाले शपथ खान्छ, अर्कोले धोका खान्छ, एउटाले सून खान्छ, अर्कोले नुन खान्छ, एउटाले जात खान्छ, अर्कोले घात खान्छ, एउटाले माटो खान्छ, अर्काको सातो खान्छ, एउटाले मन खान्छ, अर्कोले मासु खान्छ, एउटाले काम खान्छ, अर्कोले दाम खान्छ, एउटाले अँगुरको झुप्पा खान्छ, अर्काले दुई हातको लोप्पा खान्छ ।

त्यस्तै गरेर एउटाले पानी खान्छ,अर्कोले जवानी खान्छ, एउटाले नासो खान्छ, अर्कोले पासो खान्छ, एउटाले बोसो खान्छ, अर्कोले चोसो खान्छ, एउटाले गुदी खान्छ, अर्कोले बुद्धि खान्छ, एउटाले कुटुकुटु खान्छ, अर्काेले मुटु खान्छ, एउटाले जीवन रमाइ रमाई खान्छ, अर्कोले कमण्डलु समाई, समाई खान्छ, एउटाले हलो जोतेर खान्छ, अर्कोले अनुहार पोतेर खान्छ, एउटाले घर खान्छ, अर्कोले जहर खान्छ, एउटाले तर खान्छ, अर्कोले अत्तर खान्छ, एउटाले दर खान्छ, अर्कोले कर खान्छ, एउटाले बोट खान्छ, अर्कोले चोट खान्छ । एउटाले नोट खान्छ, अर्कोले भोट खान्छ, एउटाले रोट खान्छ, अर्कोले चुरोट खान्छ । त्यस्तै एउटाले झोलपानी खान्छ, अर्कोले गाँठ गनी खान्छ, एउटाले चरेश खान्छ, अर्कोले हरेश खान्छ । एउटाले बीऊ खान्छ, अर्कोले जीऊ खान्छ, एउटाले देश खान्छ, अर्कोले अवशेष खान्छ । एउटाल्े मान खान्छ, अर्काको कान खान्छ । कुन चाहिँ खाने, कुन चाहिँ नखाने भन्दा पनि, कसले कतिखेर के खान्छ ? त्यो ठ्याक्कै त कहाँ भन्न सकिन्छ र ? त्यसो भए त उसको भविष्यको बारेमा पहिल्यै नै उधार्न सकिन्थ्यो नि ! शब्द परिकारका चौरासी ब्यन्जन नै कहाँ बन्थे र ? अरु हेरौ त, एउटाले घुस खाइरा; बेला अर्कोले भुस खाइरा हुन्छ, एउटाले कावा खाइरा बेला अर्कोले हावा खाइरा हुन्छ, एउटाले.म्वाँई खाइरा बेला, अर्कोको चप्पलको च्याँइ खाइरा हुन्छ ।

खानेको इतिहासलाई उधिनी हेरौँ त । त्रेता युगका रामले चौध वर्षको बनवासले नअघाएर, फेरि सारा लङ्का खाए । कृष्णले सयौँ सुन्दरीको चुम्बनले नअघाएर सारा ब्रम्हाण्ड नै खाए, अलेक्जेन्डरले झण्डै संसार खाँदा पनि एक लोटा पानी खान नपाउँदा बिचरा हावा खाए, त्यस्तै हिटलर र मुसोलोनीले लाखौलाख मान्छे खाएर पनि नअघाएर आफ्नै पिस्तोलको गोली खाए, अमेरिकाले निर्बल र कम्जोरहरूलाई बम ख्वाउँदै ससार खाइरहेछ, दुर्गमका मान्छेहरू नून, चिनी, र पानी खान नपाएर, भतुभुतु सिल्टीमुर खाइरहेछन् ! कस्तो ख्वाई ? कहाँको संसार ?, कहाँको सिल्टीमुर ! यसरी कामदेवले दुनियाँको बिहे गराइ दिएर जसलाई जे ख्वाए पनि, रामदेवले पतन्जलीलाई जगाएर बचाउन नखोजेका कहाँ हुन् र ? तर यमदेवले सबैलाई माटोकै आटो खुवाउने हुन् भनेर चित्त बुझाउँदै जे भेटिन्छ त्यही मज्जाले खाए कसो होला ? अस्तु ।
लिवाङ, रोल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छानबिन आयोग

छानबिन आयोग

नारायण आचार्य
0
Would love your thoughts, please comment.x
()
x