भूपिन खड्काट्रक ड्राइवर
खतरनाक हुन्छ
बाक्लो हुस्सु लागेको मनमा सवारी चलाउनु ।
दिलमाया, म ट्रक चलाइरहेछु ।
बैंसको भीर कोतरेर बनाएको
सपनाहरूको कच्ची बाटो,
जाडोका अल्पिनहरूले घोचिरहेका नाङ्गा औंला,
र यो बाटै नदेखिने गरी
हुस्सु लागेको मनको घुम्ती !
दिलमाया, म ट्रक चलाइरहेछु ।
थिच्दा थिच्दै
हर्नको घाँटी सुख्खा भैसक्यो
ट्रकको सिसा आँसुले भरियो र वाइपर बिग्रियो
ब्रेकलाई अल्जाइमर भयो
थाहा छैन
कति नजिकै पर्खेर बसिरहेछ दुर्घटना ।
दिलमाया, म ट्रक चलाइरहेछु ।
यो मेरो जिन्दगीको अहम् लडाँइ हो दिलमाया ।
जिन्दगीको झुपडीभित्र बसेर
मलाई कुरिरहेका छन्
सपनाका भोका बच्चाहरूले ।
उनीहरू निदाउनुअघि
कि त मैले ढुङ्गा उमालिरहनु पर्छ छातीको डेक्चिमा
कि रोटी कमाउनु पर्छ
कि कतै सडक छेउबाट
हाम फाल्नु पर्छ नदीमा ।
दिलमाया
नदीमा हाम फाल्न
बनेको होइन म ट्रक ड्राइवर ।
बाटै नदेखिने गरी
हुस्सु पालेर बसेकिछौ तिमी वर्षौंदेखि
दिलमाया ।
म त्यहीँ चलाइरहेछु
एउटा थोत्रो ट्रक ।
नवलपरासी
Subscribe
Login
0 Comments
Oldest








































