साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इमान्दार टेबुल कुर्सी

Nepal Telecom ad

‘ए स्वाँठ ! तँलाईं उँघ्नका लागि बनाइदिएको हो यो कुर्सी ?’ कसैको टर्रो आवाजले म झसङ्ग हुनपुगें । ‘दिमागको फ्यूज नै उड्नेगरि सातो लिन खोज्ने को हो हँ त्यो ?’– मैले कोठाको कुनाकानीतिर आँखा घुमाउँदै सोधें । ‘म तेरै अगाडि छु । चोरको जस्तो कहाँ कहाँ आँखा बटार्दैछस् ए ?’– टेबलमुनिबाट अनौठो आवाज आयो ।

मैले आफू बसेको कुर्सी हटाएँ, ढाड बङ्ग्याएँ, आँखा तन्काएँ र टेबुल मुनी नियालेँ । अहँ, कोही पनि छैन बा ! ‘विनाकाम तेरो त्यो ३ मनको शरीर थेचार्न बनाइदिएको हो यो कुर्सी ?’ पनः आवाज आयो । ‘मेरो मेहेनतले किनेको मेरै कुर्सीमा बस्दाखेरी मलाई नै हप्काउने को रहेछ हँ ?’– मेरो रीसको पोको एक्कासी फुलेर आयो । म भुईंमा ढलेँ ।

एक छिनपछि फेरि उभिएर झ्यालछेउ पुगेँ र आँखाका किनारा दुख्ने गरी च्यातेर हेरेँ– सबै सुनसान छ । कोठाको कुनाकानीतिर पुनः आँखाद्वारा छापा मारेँ । त्यहाँ पनि कुनै प्राणीको नामोनिशान छैन । लखतरान भएर शरीरलाई भुईंमा लडाइदिएँ । ‘ओ मान्छे, हामीहरू तेरै अगाडि र पछाडि छौँ । टेबुल र कुर्सीहरू हौं हामी ।’ आँखाका दुवै छेउहरू जोड्न नपाउँदै पुनः आवाज आयो ।

त्यसो त भूतप्रेतप्रति मेरो विश्वास पटक्कै थिएन र छैन पनि । तर काँतर शरीरका अगाडि कत्रा–कत्रा विश्वास र आर्दशहरू त्यसै बिलाएर गएका हुन्छन्, त्यस्तै भयो मलाई पनि । मनको पेच कस्दाकस्दै शरीरको कब्जा ‘लुज’ भएर थरथर काँप्न थाल्यो । मुटुको एक्सिलेटर बढ्यो, धड्कनको स्पिड ५० कि.मी.को गतिले दौड्न शुरु ग¥यो ।

शरीरको क्रियाकलाप झन् भनीसाध्य छैन । नारीका रौंहरू ठडिएर प्रक्षेपण गर्न आँटेका रकेटजस्ता भए । गोडाका रौंहरूको गतिले आकाशका तारालाई घोचौंलाजस्तो भयो । खुट्टा लगलग काम्न थालेँ । टाउकोभित्रको संवेदनाको गतिविधी अन्तरिक्ष जस्तो शून्य हुन पुग्योे । टाउकोको बाहिरी भाग सुन्निएर पाँच नम्बरको बलजत्रो भएको भानले म थिचिएको अनुभव गर्न पुगेँ ।

‘चुप्, तेरिमा काँतर !’ मैले आफ्नै शरीरलाई हप्काएँ ।‘ कुरोको चुरो के हो भन्ने थाहा नै नपाईकन मरेको जस्तो हुन्छस् ?’ यति भनिसकेपछि मेरो दिमागले सोध्यो– ‘हे टबुल–कुर्सीको नामले मलाई सताउनु हुनेहरू, यहाँहरू को हुनुहुन्छ ?’

‘साँच्चि भनौं भने, हामी तपाईँकै कोठामा रहेका टेबुल र कुर्सीहरू नै हौं । हाम्रो पिंडा कसैले नबुझेपछि तपाइँसामु यो व्यवहार गर्न वाध्य भयौं, गजुरेलजी ।’ कोठाबाट मान्छेबिना नै आवाज आयो । मलाई अझै विश्वास लागेन – ‘यो नपत्याउने खोलाले बगाउने तिमीहरू नै हौ भन्ने कुरा मैले कसरी विश्वास गर्ने ?’ –दुवै हातका औंलाहरू पड्काउँदै मैले सोधें ।

मेरो अगाडिको कुर्सी लिखिर–लिखिर गर्दै थियो । उता, टेबुलले बुरुक्क उफ्रिएर दराजमाथि आक्रमण ग¥यो । सिसा झर्याम–झुरुम गर्दै भुईं भरि बजारियो । भरखर हल्लिदैं गरेको कुर्सीले हानिएर टि.भी. केसमा धावा बोल्यो, टि.भी.मा बोल्दै गरेका मानव तस्वीरहरू चूप हुनपुगे । म निरीह बनेर यो टेबुल–कुर्सी जात्रा हेर्दै रहेँ । हेर्दाहेर्दै कोठामा भएका सिसाका सामानहरू सत्यानाश भए । काँचका कचौरा र चम्चाहरू चकनाचुर हुनपुगे । अझ भनौं, मानव निर्मित सम्पूर्ण सर–सामानहरूको दोहोलो काढीसकेपछि कुर्सीले भन्यो– ‘त्यो बोल्ने हामी नै हौं भन्ने विश्वास दिलाउन हामीले यो छोटो प्रत्यक्ष प्रसारण ग¥यौं । अरु केही…?’

‘पर्दैन बाबा, पर्दैन । मैले यहाँहरूलाई नचिन्नु ठूलो गल्ती गरेछु । आज्ञा होस्, मैले के गर्नु प¥यो ?’ टेबुलको पाउ पक्रँदै म रुन थालें । ‘मान्छेले हामीलाई वेश्याजस्तो बनाए । हाम्रो कुनै इज्जत भएन’– आफ्नो खुट्टा तान्दै टेबुलले भन्यो म उछिट्टिएर कुनामा पछारिएँ । टाउकोमा एक पाउको आलु उम्रिएछ । ‘इज्जत नै गरेका छन् नि । हाकिम, कर्मचारी, मन्त्री प्रधानमन्त्रीजस्ता ठूल्ठूला मान्छेहरूको सेवा गर्न पाउनु सानोे इज्जत हो र ?’– टाउकाको आलु छाम्दै मैले भनें ।

‘नाम मात्रका हाकिम, मन्त्रीहरू बोक्नुपर्छ । घूस, कमिशन खाएर ठस्ठस्ती गन्हाएका गुहुगन्धेहरूलाई बोक्दा कहाँको इज्जत रहन्छ हँ ?’– कुनामा उभिएको कुर्सी जङ्गियो । ‘त्यो बाहेक कलाकार, लेखक, पनि एकमत छैनन् । त्यस्ता दोचारे लेखक–कलाकारलाई अब हामी कदापि सहयोग गर्दैनौं ।’– टेबुलले रीस पोख्यो । त्यसैबेला कुर्सी मेरो अगाडि आयो र घाँटी समाएर टेबुलमुनि हेर्न अह्रायो । मैले घाँटी दुख्नेगरी नियालेर हेरें– त्यहाँ एउटा सयको नोट अड्किएको रहेछ– ‘यो के हो ?’ मैले सोधें ।

‘त्यो तिमी मान्छेहरूले हामीलाई दुरुपयोग गरेर व्यवहार गर्दाको परिणाम हो ।’ –टेबुलले जवाफ फर्कायो । ‘कसरी ?’– मैले छक्क पर्दै सोधें । ‘टेबुलमाथिबाट लेनदेन हुँदैन, मुनिबाट हन्छन् सबै कामहरू । त्यसैबेला हतार–हतार लेनदेन गर्दा अड्किन पुगेको रकम हो यो ।’– टेबुलले रहस्य खोल्यो । ‘त्यति मात्र होइन, हाम्रा पिताजीहरू (रुखहरू) शाकाहारी हुनुहुन्थ्यो । तिमी मान्छेहरूले जबर्जस्ती हामीलाई मांशाहारी बनायौं । हाम्रो आस्था लुट्ने काम गर्यौं ।’ –टेबुलले राता–राता आँखा पार्दै मलाई भन्यो ।

‘त्यो चाहिँ कसरी त ?’ मेरो प्रश्नको जवाफमा कुर्सी अगाडि बढ्यो– ‘कसरी नि ! पढ्न, लेख्न, हिसाव–किताव गर्न बनाइदिएका स्कुल, कलेज र कार्यालयका टेबुलहरूमा पार्टी चल्छन् । सोमरसहरू ल्याइन्छन्, कुखुराका साँप्राहरू लडाईन्छन ।’ मैले भनें– ‘तिमी टेबुल–कुर्सीको काम अरु के नै हो र ?’ ‘चुप् !’ टेबुल गर्जियो– ‘सबै चीजको कार्य–विभाजन हुन्छ । स्कुल–कलेजका टेबुल–कुर्सीहरू पढ्नका लागि र पढाउनका लागि हुन् ।’

टेबुलका कुरा काट्दै म अगाडि सरें– ‘पढाइ त त्यहाँ भएको छ त ।’ मैले बोल्न बाँकी नै थियो, कुर्सीको खुट्टाले मेरो खुट्टाको कान्छी औंलो कुल्चियो । म कराएँ– ‘मा¥यो बाबा !’ कुर्सी हाँस्न थाल्यो– ‘हो, यसरी नै हाम्रो पनि चित्त दुख्छ– जब स्कुलका विद्यार्थीलाई पढ्न र लेख्न राखेका कुर्सीमा स्कुलेहरू जुत्ता बजार्छन् । आन्दोलनका नाममा आगो लगाउँछन् । हाम्रो पनि मन दुख्छ– जब कलेजका मास्टरहरू बसेर विद्यार्थीहरूलाई पढाउन भनेर बनाइदिएका मेचबाट गफ हाँक्छन् र तास खेलेर बस्छन् ।’

कुर्सीको कुरो सुनिसकेपछि म नरम भएँ– ‘तर तपाईँहरूमार्फत् राम्रा काम पनि त भएका छन् नि ! जस्तो ः वार्ताहरू हुनेगर्छन् । शान्ति सम्झौताहरू भएका छन् । यी सबै तपाईँंहरूकै सहयोगले भएका होइनन् र ?’– मैले सोधें । त्यसैबेला कुर्सीले मेरो हात तान्दै भन्यो– ‘यी यहाँ हेर, हामीमाथि बसेर गरिएका वार्ता र सम्झौताका परिणामहरू ।’ मैले यौटा ठूलो हड्डीको टुक्रो भेटें– ‘यो के हो ?’ टेबुलले मेरो ज्ञान देखेर फिस्स हाँस्दै भन्यो– ‘यो काठको घोचो होइन । वार्तामा प्रयोग गरिएका ‘राष्ट्रका एजेण्डाहरू’ हुन् ।’

त्यसबेला कुर्सीले टेबुलको दायाँ खुट्टातिरबाट एउटा सिसी निकालेर देखाउँदै भन्यो– ‘अनि यो चाँहि सम्झौताको कडी हो ।’ ‘अब मैले के गर्न सक्छु त ?’–मैले सोधें । टेबुलले कान राता–राता बनाउँदै भन्यो– ‘बाह्रवर्ष गीता पढायो, ज्ञान रुखमा फल्छ कि जमीनमा ? भनेको यही हो ।’ ‘यसले हाम्रो लागि केही गर्दैन मित्र ! हिड्नोस्, अझैं केही प्रमाण दिऊँ हाम्रा बारेमा ।’

कुर्सी तोडफोडका लागि अघि बढ्न खोज्यो । मैले हत्पत् अगाडि गएर हात जोड्दै विन्ति बिसाएँ– ‘कमसेकम मैले त टेबुल–कर्सीको दुरुपयोग गरेको छैन, किन मलाई सताउनुहुन्छ ?’ ‘अनि अघि कुर्सीमा उड्ग्दै टेबुलमाथि खुट्टा राखेर बस्ने चाँहि को हो नि ?’– मेरो कन्सिरी तान्दै कुर्सीले सोध्यो । ‘त्यो म हैन, मभित्र रहेको गैर–जिम्मेवारीपना हो, मभित्रको खराब बिचार हो, हजूर !’– मैले कन्सिरी जोगाउँदै भने ।

‘त्यसो भए सुन, आजसम्म मानिसले कुर्सीको दुरुपयोग गरेर जति नकाम गरेका छन्, जति भ्रष्टाचार र अत्याचार गरेका छन्, घूस र कमिशन खाएका छन्, गलत सन्धि र सम्झौता भएका छन्– ती सबै सच्याउन सक्छस् ?’– टेबुलले सोध्यो । ‘मैले गरेको त सच्याउँला, तर अरुको गल्ती म किन बेहोरुँ ?’ मेरो कुरा काट्दै टेबुल गर्जियो– ‘आखिर तँ पनि मान्छेको भाषा बुझ्दछस् । यो सबै कुरा ती दुरुपयोग गर्ने मान्छेलाई सुनाईदे– एउटा निर्जीव टेबुल कुर्सीभन्दा पनि तिमीहरू गैर–जिम्मेवार र पतित भयौ भनेर ।’

म सोच्न थालें– ‘छिः ! कति गिरेका रहेछौ हामी । यी निर्जिव वस्तुले समेत मान्छेको खिल्ली उडाउन थाले । नैतिकताको प्रश्न उठाउन शुरु गरे, थुइक्क मान्छेको जुनी !’ यसैबेला मेरो ढाडमा एउटा उडुसले किरक्क टोक्यो । म अब चाँहि साँच्चिकै ब्युुझिएँ ।
कति खेर कुर्सीमै बसेर भुुसुक्कै पो निदाएछु !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x