साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धि-बङ्गारा

बङ्गाराहरूको सरकार बन्यो बुद्धि बङ्गारा आएकै वर्ष उसले पड्कायो मुख्यमन्त्री त्यसपछि चपाउन थाल्यो उसले जहाजका पङ्खा नदीका गिट्टी र बालुवा र जङ्गलका काठ लुछ्न थाल्यो उसले

Nepal Telecom ad

(चुनावमा होमिएका कथित बुद्धि बङ्गाराहरूमा समर्पित)

हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे
ऊ भन्थ्यो-
’दाँतहरू त केवल देखाउनका लागि हुन्
बुद्धि बङ्गारा पलाएपछि मात्र
बुद्धि आउँछ ।’

गिजाको कुना चिरेर
एक दिन साँच्चै पलायो उसको बुद्धि बङ्गारा
त्यसपछि चमत्कार भयो
उसले पार्टीको सदस्यता पायो
चुनावको लागि उम्मेदवारी पायो
ऊ त्यसपछि शहरबाट गाउँ आयो
पार्टी अध्यक्षले दिएको झोलाबाट झिकेर
गाउँलेहरूलाई चिया खर्च बाँड्यो
निकाल्यो झोलाबाट मतपत्रको नक्कल
र भन्यो,
‘यो मेरो चुनाउ चिन्न
भोट हाल्नू !’

बुद्धि बङ्गारा उसको चुनाव चिन्ह
बुद्धि बङ्गारा उसको चुनावी मुद्दा
बुद्धि बङ्गारा उसको चुनावी नारा
जो जो भेटिन्थे गाउँका धुलाम्य गोरेटाहरूमा
ऊ गर्वले आफ्नो बुद्धि बङ्गारा देखाउँथ्यो
र भन्थ्यो,
‘बुद्धि बङ्गारा
केवल हाम्रो पार्टीका नेताहरूको आ’छ
बुझ्नू है, बुद्धि बङ्गारा हुनेहरूसँग मात्रै
बुद्धि हुन्छ ।’

चुनावी सभाहरूमा गर्ज्यो ऊ-
‘बुद्धि बङ्गारा नआएकाहरू सत्तामा पुगेकैले
यो देश
ट्युटोनले चलाएको रोमजस्तो भयो
हिटलरले चलाएको जर्मनीजस्तो भयो
तालिवानले चलाएको अफगानिस्तानजस्तो भयो,
बुद्धि बङ्गारा नआएकाले चलाएर
यो देश अभर पर्यो
विकासको गाडी समयको भीरबाट खस्यो
भोकमरीले जादुटुना लायो
अनिकालको आँधीहुरी आयो
पुग्यो विभेद उत्कर्षमा
र जनताको जीवन नर्क भयो ।’

’यसपालि देखाउने दाँतलाई हराउनुस्
र चपाउने बङ्गारालाई जिताउनुस् !’

गाउँलेहरूले पत्याए उसका कुरा
देशका धेरै केन्द्रबाट
बङ्गाराले
दाँतहरूको जमानत समेत जफत गरिदिए ।
जित्यो उसले चुनाव
र छिर्यो ऊ संसद भवनभित्र ।

बङ्गाराहरूको सरकार बन्यो
बुद्धि बङ्गारा आएकै वर्ष
उसले पड्कायो मुख्यमन्त्री
त्यसपछि चपाउन थाल्यो उसले
जहाजका पङ्खा
नदीका गिट्टी र बालुवा
र जङ्गलका काठ
लुछ्न थाल्यो उसले
पीडितहरूका जस्तापाता
अस्पतालका बेड
र मानिसहरूका करङ ।

एक दिन सिंहदरबारमा भेट हुँदा
उसलाई मैले गाउँबाट ‘विकास’ बेपत्ता भएको खबर सुनाएँ
गाउँकी चेली ‘शान्ति’ अपहरणमा परेको कुरा सुनाएँ
गाउँकी ‘आशा’ बलात्कृत भएको जाहेरी गरेँ
ऊ मौन बस्यो
मैले भनेँ, ‘तपाईँसँग गाउँलेहरू आक्रोशित छन्’
ऊ हाँस्यो मुख च्यातेर अट्टहास
हेरेँ,
थेत्, ऊ कस्तो थोते देखिएको !
देशको हाडमासु र छाला चपाउँदा चपाउँदा
फुक्लिएछन् उसका बलिया दाँतहरू
तर उसलाई कुनै पश्चात्ताप थिएन ।

भन्दै थियो-
’ई हेर त भाइ
बुद्धि बङ्गारा अझै फुक्लिएको छैन ।’

०००
‘सुप्लाको हवाइजहाज’ कवितासङ्ग्रह

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x