आर.सी. रिजालछानबिन आयोग
कस्तो चिउँडो थियो ? खोपिल्टे चिउँडो, भ्यात्त डबल चिउँडो वा चुच्चे चिउँडो निधार कस्तो थियो ? खुल्ला टुंडिखेल जस्तो तालुखुइले निधार वा रौंले पाता कसेर खुम्चेको ढुसी परेको निधार ?

नारायण आचार्य :
अचानक ठेस लागेर घाइते भएपछि फेरि हिजो पाँच सदस्यीय ठेस लाग्य छानबिन आयोग गठन गरिएको छ । यो आयोगले पाँच महिनाभित्रमा ठेस लाग्नुकाे कारण र ढुङ्गाका बारेमा अध्ययन-अनुसन्धान गरी यसलाई दिनुपर्ने सजायका बारेमा प्रतिवेदन पेश गर्नेछ । आयोगका पदाधिकारीहरूलाई सचिवस्तरीय सुविधा उपलब्ध गराउने छ । त्यो ढुङ्गामा कसरी ठेस लाग्यो ? त्यो कस्तो खालको ढुङ्गा थियो कसैले एम्बुसको रूपमा थापेकाे पो थियो कि ? त्यो ढुङ्गा कस्तो रङको थियो ? चिप्लाे कि खेस्रो ? लामो चेप्टो थियो कि ? त्यसको तिखाेपना कति थियो ? कति डिग्रीको कोणमा ढल्केको थियो ? त्यो ढुङ्गामा ठेस लाग्दा वरिपरि अरू ढुङ्गा पनि थिए कि ? त्यस समयमा बाटो कस्तो थियो ? हिलै-हिलो थियो वा गिलै-गिलो, कि धुलै-धुलाे या चाप-चापे ।
कुन मौसम थियो ? वादल लागिराखेको थियो या घाम ? हावा चलिरहेको थियो या तुफान ? ऋतु कुन थियो, समय कुन थियो ? बिहान, दिउँसो साँझ वा मध्यरात । ठ्याक्कै कति बजेर कति मिनेट गै सेकेन्ड सुई कहाँनेर तिटक्क गरेको थियो । ठेस कुन औंलामा लागेको थियो ? वेग प्रतिघण्टा कति किलोमिटरको थियो ? जुत्ता थियो या चप्पल, ह्ह्वाल-ह्वालले थियो वा कसिलो ? सेन्थेटिक थियो वा छालाको । न्यानो थियो वा चिसो मोजा लगाएको थियो वा खाली ।
ठेस लाग्ने मान्छेको उचाइ कति थियो, मोटाइ कति थियो, हेराइ कता थियो, लंवाइ कस्तो थियो वरपर ठिटा ठिटीहरूको रिमिक-झिमिक थियो वा सुनसान मशानघाट जस्तै ? बाघको चालमा थियो वा खरायोको हालमा यी सब कुरा छानबिन आयोगले पत्ता लगाउनेछ ।
त्यसैगरी ठेसलग्दा खेरी शरीरमा केही बोकेको थियो कि थिएन गोजीमा गाँठका मुठा थिए कि खाली औंठा मात्र । कए थियो वा खेरो भुत्ले भालुको जस्तो रंगाएको थियो या सादा ? कपालमा जुम्रा, लिखा वा चायाँ थियो कि थिएन कि जुम्रा मार्दै थियो, यदि जुम्रा मार्दै थियो भने पनि आयोगले अनुसन्धान गरी प्रतिवेदनमा उल्लेख गर्नेछ ।
त्यसैगरी त्यो मान्छे लम्बु थियो वा फ्यान्टे, ग्याँचे थियो वा च्यान्टे, चुम्बु थियो या लोसे, चिम्से थियो वा पितुर्के ? एक-एक गरि उल्लेख गरिनेछ । त्यसैगरी अनुहार कस्तो थियो ? बाटुलो, डल्लो वा च्याप्टाे, लामो, गालामा खोपिल्टो परेको, ओठ मोटा-मोटा अफ्रिकन ओठे थियो या पात्लो हनुमान् ओठे, त्यस्तै उछिट्टिएको बाँदरमुखे थियो वा भास्सिएको ओडार मुखे, बाङ्गिएको गिद्ध-नाके थियो वा बट्टारिएको ? सुगा-नाके कि चुच्चे तीखो नाके थियो या त थ्याच्चे नाके ? त्यस्तै रेखाङ्कित अर्धचन्द्राकार आँखीभौँ थियो वा झ्यापुल्ले आँखी भौँ थियो ? कस्तो चिउँडो थियो ? खोपिल्टे चिउँडो, भ्यात्त डबल चिउँडो वा चुच्चे चिउँडो निधार कस्तो थियो ? खुल्ला टुंडिखेल जस्तो तालुखुइले निधार वा रौंले पाता कसेर खुम्चेको ढुसी परेको निधार ? यस्तो किसिमको शरीरको अङ्गले ठेस लाग्नमा प्रभाव पार्यो कि पारेन सबे एक-एक गरी प्रतिवेदनमा उल्लेख गरिनेछ ।
छानबिन आयोगको रिपोर्टअनसार त्यो ढुङ्गा दोषी ठहरिएमा जरीवानासहित हदैसम्मको कारबाही गरिनेछ । पत्रे चट्टान रहेछ भने घन, गैँती र झप्पल प्रयोग गरी उखेलपाखेल पारी कालो मोसी लतारी सराप्दै र थुक्दे, उल्टो शंख फुक्दै र उल्टे दमाहा बजाउँदै जेलमा लगेर तेल निस्किने गरी चुटिने छ । आग्नेय चट्टान अर्थात् अग्नि फिलिङ्गा फ्याँक्ने खालको, जति पटक फलामका औजारले सलाम परे पनि ठोक्नेलाई ने उछिट्याउने रैछ भने फूल, अक्षता, धूप र अबीर लगाउँदै ईश्वरीय अवतार मान्दै मजासँग पूजा गरिनेछ । आयोगले आफ्नो काम आजैदेखि थाल्ने कुरा आयोगका संयोजक छायाँ देव छ्यापछ्यापले बताउनुभयो ।
ठेस लागिसके पछि त्यो मान्छेले गरेको तोडफोड र क्षतिका बारेमा फेरि अर्को आयोग गठन हुँदैछ । क्षति भएका चार पाङ्ग्रे र पसलेहरूलाई पक्कै पनि क्षतिपूर्तिस्वरूप तत्काललाई सय रुपैयाँ दिने निर्णय गरिएको छ । भविष्यमा क्षति हेरेर सय करोड पनि दिन सकिनेछ । त्यस्तै भयङ्कर भ्याले भैंसी भीरबाट छर्रिएको र अचानक ठूलो बिरालोको जुंगा झरेको, चरोमा विमान ठोक्किदा भएको क्षति बारेमा अरू थप नयाँ-नयाँ आयोगहरू गठन गर्नका निम्ति अवकाश वा बहालवाला कर्मचारीहरूलाई तैयारी हालतमा राखिएको छ । नारामा उर्लिएको जनमानसलई मत्थर पार्दै पत्थर जस्तो चीसो बनाउनलाई आयोगको अत्तर त खुवाउनु नै पर्याे, कि कसो ? अस्तु !
०००
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)
Subscribe
Login
0 Comments
Oldest






































