सुलसुलेभानु–सम्झना र सिर्जना वाचन
असार १९, काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा राजधानीको कलंकीस्थित विज्डम एकेडेमी तथा अनुपम सिर्जना प्रतिष्ठान नेपालको संयुक्त आयोजनमा शनिबार पश्चिम भेगीय मावि स्तरीय कविता प्रतियोगिता सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो इतिहासकार प्राज्ञ दिनेशराज पन्त । दुई सत्रमा विभाजित कार्यक्रमको प्रथम सत्रमा राजधानीका विभिन्न विद्यालयबाट प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए । तीन दर्जन विद्यार्थीहरूकोे सहभागिता रहेको प्रतियोगितामा विज्डम एकेडेमी कलङ्कीकी छात्रा प्रकृति खत्री पहिलो, हिमशिखर बोर्डिङ स्कुल, खड्कागाउँका सार्थक गौतम दोस्रो, विज्डम एकेडेमीका विवेक बूढा तेस्रो र सोही स्कुलकै छात्रा प्राञ्जु कोइराला एवं हिमशिखर बोर्डिङ स्कुलकी प्रकृति बरालले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
अनुपम सिर्जना प्रतिष्ठानले विगत चार वर्षदेखि हरेक महिनाको तेस्रो शनिबार आयोजना गर्दै आएको सिर्जना वाचन कार्यक्रमलाई दोस्रो सत्रमा जोडिएको थियो । आयोेजक संस्थाका साहित्य विभाग प्रमुख जगदीश्वर पोखरेलले मन्तव्यद्वारा स्वागत गरेपछि औपचारिक रूपमा कार्यक्रमको आरम्भ भएको थियो ।
स्रष्टाहरूले सिर्जना मार्फत मानवीय संवेदना र भावानुभूतिलाई कविता, गीत, गजल, मुक्तक, हाइकु लगायतका बहुविध विधाहरूमा पोखेका थिए । कार्यक्रममा भाग्यशाली अधिकारी, विजयराज न्यौपाने, सूर्यवदना पण्डित, दुर्गा रिमाल अधिकारी, खगेन्द्र खोल्साघरे, सूर्यकुमार पण्डित, भुवनहरि सिग्देल, श्रीधर पौडेल, जगदीश्वर पोखरेल, सोमपीडित गर्तौला, गाउँले बलदेवलगायतका स्रष्टाले छन्द्धोबद्ध कविताद्वारा कार्यक्रमलाई लयात्मक बनाएका थिए ।
त्यसैगरी रमेशप्रसाद गौतम, प्रदीपरत्न शाक्य, असीम सागर, लालबहादुर भुजेल, डा. बमबहादुर जिताली, रामशरण खड्का, रविन भुर्तेल, अश्मि कुँवर, रोशनी भण्डारी, भगवती रोका भूमिका, शशी थापा पण्डितसहितका स्रष्टाहरूले गद्य लयका आÏना रचना प्रस्तुत गरेका थिए । नरनाथ लुइँटेल र हरि खनालजस्ता सर्जकले आफ्नो सिर्जना मार्फत् समसामयिक वस्तुस्थितिप्रति चोटिलो व्यङ्ग्य गरेका थिए । कार्यक्रममा कालीकोटे अनिश, सुशीला खड्का ‘हसिना’ मञ्जुल काले, सुजन प्रदीप्त, उदास कार्की, प्रदीप अधिकारीजस्ता स्रष्टाहरूले गजल तथा मुक्तक सुनाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए ।
प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्तले आफ्नो मन्तव्यका क्रममा तीन घण्टाभन्दा बढी एकै ठाउँमा बसेर सिर्जना सुनिरहँदा पनि कुनै पट्यार नलागेको सन्दर्भ उठाउनुभयो । उहाँले वाचित सबैका रचनामा पाठकको मन छुन सक्ने शक्ति निहित रहेको कुरा पनि व्यक्त गर्नुभयो ।
संस्थाका सचिव जितु खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा नयाँ पुराना गरी चार दर्जन साहित्यिक स्रष्टाहरूको सहभागिता रहेको थियो । रचना वाचन कार्यक्रमका अध्यक्ष पुरुषोत्तमप्रसाद अधिकारीले अनुपम यस्ता साहित्यिक कार्यक्रमका माध्यमबाट भाषा—साहित्यको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–जितु गौतम
Subscribe
Login
0 Comments
Oldest












































