विश्व विनोदबौलाहा काजी
जिन्दगीमा कहिलेकाहीँ अनेकका रंग र तरंग उठ्छन्, ती सोच्दा मानकाजीको मनै भरङ्ग हुन्छ त कहिलेकाहीँ सरङ्ग हुन्छ । उस्को नाममै काजि झुण्डिएकोले ऊ स्वतस्फूर्त काजिको ओहोदामा परेको थियो नै तर पाजी भएर त बाँचेको हविगत भने लामै छ । पढाईमा ध्यान दिन भन्दा पनि केटीमा ज्यान दिँदा पढाईले उस्लाई धेरै पल्ट लडाई दिएको थियो मानकाजीको । बाजीमा धेरै पल्ट हारेपनि ऊ काजी नै थियो नामैले गर्दा ।
अभागीको स्वास्नी बर्षौटे, भाग्यमानीको भैंसी बर्षौटे भन्ने उखान उसको जिन्दगीमा अलिक रिमिक्स गरेर पढ्नु बुद्दिमता हुन सक्दछ कारण उसलाई अभागीको बार्षिक जाँचमा फेलको बर्षौटे, भाग्यमानीको गर्लफ्रेण्ड बर्षौटे । हुन पनि उस्ले बाह्र कक्षा पढेको ५ बर्ष हुन लागि सक्यो उस्ले बर्षेनि जाँच दिई रहेछ । अझ त्यो भन्दा पनि बर्षेनि उस्का गर्लफ्रेण्ड फेरिई रहेका छन् । वर्ष भरी कपडा फेर्नु भन्दा बढी गर्लफ्रेण्ड फेरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाउने रे उसले । तर उसका लागि पढाई बाधक बनेकाले ऊ आजकल जाँचको बेलामा चिटको साधक बनेको छ ।
हुन त उस्ले एस एल सी परीक्षा दिँदा पनि उस्लाई चिट चोर्न निकै समस्या परेको थियो । एक दिन सामाजिक बिषयको परीक्षा दिँदा उसले कुट पेपरमा नेपालको नक्सा बनाएर कैंचीले काटेर भुँडीमा लुकाएर परीक्षा केन्द्रमा लगेको थियो तर जाँचमा उस्ले लुकाएर नेपालको नक्सा उत्तर पुस्तिकामा छाप्न खोजेको थियो, उस्को भुँडीबाट पटक्कै नेपालको नक्सा निस्केनछ पछि परीक्षा सकिएपछि घर आएर हेर्दा थाहा लाग्यो उस्को जनैमा नेपालको नक्साको कर्णाली अन्चलको चुच्चो भाग मज्जाले अड्किएर निस्केको रहेनछ ।
यसपाला पनि उस्ले दश जोड दुईको परीक्षा जोड तोडले दिने सपना साँचेको थियो । पहिलो दिनको नेपालीको परीक्षाको लागि उ निकै तयारी गरेको थियो चिट बनाएर । भोली नेपालीको जाँच दिनुछ भनेर उस्ले आँत सित्याउन कोदोरोल वाटरको दुई क्वाटरले अघिल्लो दिन टिल्ल परेको थियो । जब जाँचको दिन आयो, उ बिहानै बाट चिटका मालसामान जम्मा गर्न थाल्यो । जब परीक्षा हलमा पुगेको मात्र के थियो, उस्लाई अघिल्लो दिनको कोदोरोल वाटरले समस्या पारेर हो कि कुन्नी पेट काटेर उस्लाई चर्पिमा जानुपर्ने भयो । जब ऊ दिसा बसिसकेको थियो, चर्पीमा पानी नभएर ऊ समस्यामा पर्यो, अनि उस्ले गोजीमा भएको बौलाहा काजी भन्ने पाठको चिट निकालेर आचि पुछ्यो अनि सरासर परीक्षा दिने कोठामा गयो । जब परीक्षा दिँदै थियो, ऊ झसङ्ग भयो किन कि उसले परीक्षाका प्रश्नमै सोधिएको बौलाहा काजी भन्ने पाठलाई आचि पुछेर मिल्काई दिइसकेको रहेछ ।
साँच्चै मानकाजीको हविगत बौलाहा जस्तै भयो अनि उस्ले बौलाहा काजी भन्ने पाठको कारण उस्ले जाँचमा बौलाहा झै जाँच दियो अनि उस्ले सोच्यो— जाँचले पनि बर्षेनि बौलाहा बनाउँछ यार, आज म पनि बौलाहा काजी नै बने । चिटले आची नपुछेको भए चिट चोर्न पनि पाइन्थ्यो कि तर फेरि परीक्षाको पन्च बर्षिय योजनालाई पुनः केही बर्ष लम्ब्याउनै पर्ने भयो । जदौ
बेशीसहर– ७, लमजुङ
Subscribe
Login
0 Comments
Oldest









































