प्रेम ओली ढकलपुरेकालीलाई लड्डु
काली तिमीलाई
फुल पनि चढाएँ
बोको पनि लडाएँ
दुईचार दाम दिएर
बाजेलाई चन्डी पढाएँ
तर पनि
समस्या उस्तै छ
अवस्था दुरुस्तै छ
माता अब हजुर
भेजिटेरियन पो होइसिन्छ कि
नत्र लड्डुु चढाउँथे
नरिवल चढाउँथे
आजभोलि
म पनि मासु खाँदिन
बेकार किन बोको लडाउँथे
फेरि सुगर लागेको छ कि
कि फलफूल नै चढाउँथे
उता पनि महँगी होला
हजुरले पाउने भए
बरु भेटी नै बढाउँथे ।
पूजारीको त के विश्वास
हजुरको बारे सोधे भन्दै नभन्ने
फेरि कति कुरो त जान्दै नजान्ने
आफ्नो घर बनाउँछन्
हजुरको घर त
भत्के पनि बनाउदैनन्
अरुकै आश गर्छन्
आफ्नो त सुको खनाउदैन
देबीको नाममा मागेर
घरकी देवीलाई चढाका छन्
हेर्नुस पूजारीले त कसरी
गणेशजीको जस्तो भुँडी बढाका छन्
बरु सिधा सम्पर्क हुने भए
हजुर के मन पर्थ्यो लान्थे
कहाँ हुनुहुन्छ हजुर
बरु दुई चार महिना
हिंडेर भए पनि जान्थे ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































