साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यमराजको निम्तो बहिष्कार

Nepal Telecom ad

विश्वमा जनसङ्ख्याको अत्यधिक वृद्धिले यमराजलाई पनि मनुष्यहरूको कालरेखाको लेखा दुरुस्त राख्न धौधौ पर्न थालेको छ । उनी अचेल ध्यानविचारै नगरी मत्र्यलोकतिर अन्धाधुन्ध निम्तापत्र हुर्याउन थालेका छन् । यमराज आफ्नो मुठीभरि सुपारी, ल्वाङ र मरीच लिन्छन् र ‘लौ आ !’ भन्दै पृथ्वीतिर ह्वार्र फालिदिन्छन् । जसलाई लाग्छ लाग्छ । निम्ताले ठाउँमा ठ्याक्कै लाग्ने ठहरै हुन्छन्, गई पनि हाल्छन् । छर्राले लाग्नेहरू वा ल्वाङ र मरीचले छ्यास्सछुस्स निम्ता पाउनेहरू घाइते मात्रै हुन्छन् । उपचार गरेर अर्को निम्ता नआउन्जेललाई तङ्ग्रिन्छन् ।
यमराजले आफ्नो जागिर पकाउन लापरबाहीपूर्वक फालेको सुपारीको टुक्राले लागेर परार साल मेरो एउटा दाँत यमलोकको यात्रामा गयो । उनले हानेको ल्वाङको झटारोले लागेर पोहोर साल दुईटै आँखा अपे्रसन गर्नुपर्यो । ओरालो लागेको बाच्छोलाई कुखुरोले पनि ठुङ्छ भनेजस्तो मरीचको धुलोेले फेरि यसपालि मेरो देबे्र आँखो खुत्रुक्कै भयो । यमदूतहरूले आँखामा कालो झन्डा फरफराए । ‘ए पख पख !’ भन्दाभन्दै बज्जेहरूले आँखाको नानीमै कालो झन्डा ओडाएर संसार अन्धकार बनाइदिए ।
यमराजका यस्ता आक्रमणहरूसँग अभ्यस्त भएकाले खासै डर लागेन । लागियो तीलगङ्गा आँखा अस्पतालतिर । यो अस्पताल दक्षिण एसियामै नाम चलेको अस्पताल अरे भन्ने नपत्याउँदो कुरा सुनेको छु मैले । नपत्याउँदो किनभने यो अस्पतालमा आजसम्म कहिल्यै डाक्टर र नर्सहरूले हडताल गरेर बिरामीहरूको बिचल्ली बनाएको सुनिएको छैन । भ्रष्टाचारमा डुबेको समाचार पनि पढिएको छैन । डाइरेक्टरहरूको नियुक्तिका हानथाप र राजीनामाका कथा पनि जोडिएका छैनन् । बिरामीका आफन्तहरूले ढुंगामूढा वा आगजनी गरेको पनि देख्न पाइएको छैन । यस्तो कुनै किसिमको ग्ल्यामर नै नभएको अस्पताल कसरी आकर्षणको केन्द्र भयो भन्ने कुरा नबुझे पनि उहिल्यैदेखि यमराजले पुर्याएको खतीको ओखती गर्न जाने ठाउँ त्यहीँ हो मेरो ।
कालो झन्डाले ढाकिएको आँखो लिएर बडो चिन्तित मुद्रामा अस्पताल पुगेपछि भने मन प्रफुल्ल भयो । किनभने, त्यहाँ यमराजका भिक्टिमहरूको छिचोली नसक्नुको जुलुस थियो । कोही सेतो कपडाले आँखा ढाकेका, कोही बिर्कोले आँखा छोपेका, कोही आँखा चिमचिम पार्दै, कोही झिमझिम पार्दै, कोही आँसु पुछ्दै, कोही छामछुम गर्दै, कोही अर्कैको सहारामा पाइला सार्दै गरेका अनेक रूपका आफन्तहरूको ताँती देखेपछि आफूलाई पनि ढुक्क लाग्यो । आधा रोग त त्यो भीडसँग ठोक्किँदा ठोक्किँदै निको भयो ।
यही भीडको सहयोग र समर्थनमा यमराजविरुद्ध वर्षौंदेखि डाक्टर सन्दुक रुइतहरू बन्दुक पड्काएर बसेका छन् त्यहाँ । भीडलाई घुर्चिंदै म पसेँ डा गोविन्द पौडेलको गणमा । डा पौडेलले मेरो आँखामा यमराजले गतिलै आक्रमण गर्न खोजेको बताए र अप्रेसन कक्षमा आमन्त्रण गरे । पौडेल गणका एक सिपाहीले यमराजको पनि सातो खाने खालको सुइरोले आँखामा घोचेर सुताएपछि डा. पौडेलले कुन्नि के ग्यास आँखामा छिराइदिए र भने, ‘यमराजले पठाएका असामयिक निम्ता कार्डका छर्राहरू हाललाई निस्क्रिय बनाइदिएको छु । उस्तै परे अलि ठूलै कारबाही गर्नुपर्ने हुन सक्छ। आइन्दा यमराजजीका यस्ता निम्ताहरूबाट जोगिएर हिँड्नुहोला ।’
नभन्दै यमदूतहरूले ओढाइदिएको कालो झन्डा बिस्तारै आँखाकोे नानीबाट उत्रिँदै छ । आँखामा फेरि उही चारतारे र हँसिया हथौडे झन्डाहरू सलबलाउन थालेका छन्। यमराजको निम्तालाई बहिष्कार गर्दै फेरि यिनै झालेमाले झन्डाका पछि लाग्नु त छँदै छ ।
सिनामङ्गल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x