सुलसुलेपोषराज पौडेललाई प्रलेस प्रतिभा पुरस्कार
असोज २, काठमाडौं । कवि पोषराज पौडेललाई यस वर्षको प्रलेस प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । प्रगतिशील लेखक संघको शुक्रबार बसेको सचिवालयको बैठकले पुरस्कार चयन समितिको सिफारिसका आधारमा कवि पौडेललाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
हरेक वर्ष प्रगतिशील लेखक संघको स्थापना दिवसको अवसरमा प्रगतिशील साहित्य लेखनका क्षेत्रमा क्रियाशील व्यक्तिलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान गरिन्छ । असोज ५ गते काठमाडौंमा हुने ६३ औँ प्रलेस स्थापना दिवस समारोहमा पौडेललाई पुरस्कारबाट सम्मान गरिने संघका महासचिव मित्रलाल पंज्ञानीले मूल्याङ्कन अनलाइनलाई बताए ।
चितवन निवासी पौडेलका चार खण्डकाव्य– ‘माडी यात्रा’ २०३९), ‘आमा स् स्मृतिका छालमा’ (२०४९), ‘पागल प्रलाप’ (२०५५) र ‘आदर्श कोकिल’ (२०५९), एक महाकाव्य– ‘सहिद गाथा’ (२०५७) र एक कविता संग्रह ‘अग्निगर्भका आवाजहरू (२०७१) प्रकाशित छन् । पौडेलले म्याक्सिम गोर्कीको जीवनीलाई पनि कवितात्मक शैलीमा लेखेका छन् ।
२०१८ सालदेखि नै साहित्य लेखन सुरु गरेका कवि पौडेल तत्कालीन अखिल नेपाल जनसांस्कृतिक संघको केन्द्रीय समिति र जिल्ला शाखा चितवनको अध्यक्ष भएर लामो समय सांस्कृतिक संगठनमा पनि सक्रिय रहे । उनी गण्डकी साहित्य संगमले दुई–दुई वर्षमा प्रदान गर्ने गण्डकी वाङ्मय पुरस्कार (२०७२) बाट सम्मानित भइसकेका छन् ।
दश हजार रुपैँया राशि र सम्मानपत्रसहितको प्रलेस प्रतिभा पुरस्कारबाट यसअघि पूर्ण्विराम, चूडामणि रेग्मी, सत्य पहाडी, शार्दूल भट्टराई, प्रभात सापकोटा सम्मानित भइसकेका छन् । प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष तथा साहित्यकार आनन्ददेव भट्टले आफूले प्राप्त गरेको राष्ट्रिय प्रतिभा पुरस्कारको राशिबाट प्रलेस प्रतिभा पुरस्कार स्थापना गरेका थिए ।
यसैबीच प्रगतिशील लेखक संघले आफ्नो स्थापना दिवसकै अवसरमा असोज पाँच गते नै राजधानीमा ‘प्रगतिशील साहित्य लेखनका चुनौती’ विषयक विचार गोष्ठी गर्ने भएको छ । गोष्ठीमा समालोचक डा. रामप्रसाद ज्ञवालीको कार्यपत्रमाथि डा. जगदीशचन्द्र भण्डारी, आहुति र डा. हेमनाथ पौडेलले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष तथा समालोचक निनु चापागाईं पनि वक्ता रहेको संघका अध्यक्ष अमर गिरीले बताए ।
Subscribe
Login
0 Comments
Oldest












































