सुलसुलेचौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
टोकियो, २० सेप्टेम्बर । चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको शनिवार टोकियोमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दीपप्रज्वलन गरी उदघाटन गर्नुभयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको सम्मेलनमा सहभागी बिभिन्न मुलुकका दर्जनौ साहित्यकारहरूलाई अनेसासका एसिया क्षेत्रका उपाध्यक्ष एवं सम्मेलन संयोजक प्रकाश पौडेल ’माइला’ ले स्वागत गर्नुभएको थियो भने अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले सम्मेलनको पृष्ठभूमि, उदेश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो । सो अवसरमा नेपालका राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, राष्ट्रकवि कविवर माधव घिमिरे र अनेसास बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्कीले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
सम्मेलनमा वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेललाई अनेसास विशिष्ट सम्मान प्रदान गरिएको थियो भने नेपाली साहित्यको श्रीबृद्धिमा आआफ्नो ठाउँबाट योगदान पुर्याएको भन्दै विभिन्न क्षेत्रका सात व्यक्तिहरूलाई अनेसास हिरोको सम्मान प्रदान गरियो । अनेसास हिरोले सम्मानित हुनेहरूमा मोहन सिटौला, भवन भट्ट, माइकल हट, डा. कुमार बस्नेत, डा. रुपक श्रेष्ठ, भीमसेन सापकोटा र डा. कविता लामा रहनुभएको छ । यसैगरी उत्कृष्ट च्याप्टरको सम्मान नेपाल च्याप्टरलाई प्रदान गरियो भने उत्कृष्ट सल्लाहकारको सम्मान प्रा. डा. खगेन्द्रप्रसाद लुइटेललाई प्रदान गरिएको थियो ।
यसैगरी नेपाली साहित्यको श्रीबृद्धिका लागि विभिन्न ढंगले योगदान पुर्याएको भन्दै अनेसास जापान च्याप्टरले अनेसासका पूर्व अध्यक्षहरू बेदप्रसाद पौडेल, बेलु थापा, दिनेशराज ज्ञवाली, प्रकाश पौडेल ‘माइला’, पत्रकारद्वय तिलक मल्ल र भूषण घिमिरेका साथै समाजसेवी सुष्मा ओमाता र शरदकुमार गौचनलाई सम्मान गरेको थियो ।
बाल कलाकारहरूको राष्ट्रियगानबाट सुरु भएको सम्मेलनमा प्रमुख अतिथिको आसनबाट बोल्दै कुलपति उप्रेतीले हरेक ब्यक्तिको पहिचान भाषा, साहित्य, संस्कृतिसँग जोडिएको हुने हुँदा पहिचानकै लागि लडाई हुने बिचार व्यक्त गर्नुभयो । उहाँले नेपाली भाषालाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने बिचार ब्यक्त गर्दै यस कार्यमा अनेसासले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले निकट भबिष्यमै डायस्पोरिक साहित्यका विषयमा एनआरएन र प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा बृहत् साहित्यिक सम्मेलन हुन लागेको जानकारी दिनुभयो ।
यसैगरी प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल, अनेसास संस्थापक अध्यक्ष होमनाथ सुबेदी, जापानी नागरिक हारुहितो नोजु, डा. बिन्द्या सुब्बा, दूतावासका उपनियोग प्रमुख तापस अधिकारी, अनेसासका केन्द्रिय उपाध्यक्ष सुमलकुमार गुरुङ, एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा लगायतले सम्मेलन सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
सम्मेलनमा सुगन्धित साकुरा, साकुरा फुल्दा र आत्मभाव गरी तीन कृतिको विमोचन पनि गरिएको थियो ।
कार्यक्रमको अन्तमा समारोहका सभापति तथा अनेसासका केन्द्रिय अध्यक्ष पदम विश्वकर्माले नेपाली साहित्यलाई बिश्वब्यापी रुपमा बिस्तार गर्न अझ धेरै काम गर्न बाँकी रहेको बिचार ब्यक्त गर्नुभयो । उहाँले आगामी वर्ष अनेसासको २५ औं बर्ष गाँठ बिश्वव्यापी रुपमा धुमधामसँग मनाइने योजना तय गरिएको जानकारी गराउनुभयो । उहाँले एनआरएन र अनेसासले सँगसँगै मिलेर काम गर्नुपर्ने बिचार पनि व्यक्त गर्नुभयो ।
यसअघि अनेसास जापान च्याप्टरका अध्यक्ष आलोक चालिसेले सम्मेलन सफल पार्न सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । सम्मेलनमा विभिन्न स्रष्टाहरूले आआफ्ना सिर्जना वाचन गरेका थिए । सिर्जना वाचन गर्नेहरूमा दिनेशराज ज्ञवाली गजल, रमाकान्त शर्मा कविता, भीमसेन सापकोटा गजल, कविता, लक्ष्मीकान्त पौडेल, जीवन अर्याल कविता, अनुज थापा कविता, राजेश बुढाथोकी कविता, सबिता गौतम दाहाल (बिराटनगर) कविता, दिपेन्द्र पाठक कविता, साधुराम खड़का कविता, छत्रपति फुएल (भुटान) कविता, गायिका शोभा त्रिपाठी गीत, मानकाजी श्रेष्ठ (क्यानडा) कविता, दिल्लीमाया सिटौला गीत रहेका थिए ।
डायस्पोरामा नेपाली साहित्यको विश्वव्यापीकरण विषयमा प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा उहाँले डायस्पोरिक नेपाली साहित्यका बारेमा प्रकाश पार्दै यसका विविध आयामहरूका सन्दर्भमा प्रष्ट्याउनुभएको थियो । प्रस्तुत कार्यपत्रमाथि पत्रकार भूषण घिमिरेले टिप्पणी गर्नुभएको थियो ।
सम्मेलनको औपचारिक चरणमा अनेसास जापानका महासचिव विष्णु घिमिरेको सञ्चालन रहेको थियो भने दोस्रो चरणमा दिपेन्द्र पाठकको रहेको थियो । दुई दिवसीय सम्मेलनको दोस्रो दिन आईतवार ओमोरीमा आजीवन सदस्यता वितरण, कवि गोष्ठी, साहित्यिक अन्तक्रिया, ‘जापानमा नेपाली साहित्यको विकासक्रम’ बिषयक कार्यपत्र प्रस्तुत गरिनुका साथै संक्षिप्त साङ्गीतिक कार्यक्रम हुने बताइएको छ ।
टोकियोबाट साधुराम खड्का
Subscribe
Login
0 Comments
Oldest












































